भागवण्डाले ध्वस्त परीक्षा नियन्त्रण कार्यालय

सबैको नियुक्ति सकियो, केही शक्तिकेन्द्र धाउँदै



ईश्वरराज ढकाल, काठमाडौं

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय भागवण्डाले ध्वस्त भएको छ । आर्थिक लेनदेन गरी नम्बर थपेर गोल्ड मेडलिस्ट बनाउन सहयोग गर्ने त कहिले नक्कली परीक्षक खडा गरी उत्तरपुस्तिका परीक्षण गरेबापत २० लाख रुपियाँ भुक्तानी लिने घटनाले बदनाम भएको पनिकामा १० सहनियन्त्रक कार्यरत छन् ।

विभिन्न पद माग्दै झगडा, तोडफोड र तालाबन्दी गर्न आउने पार्टीगत प्राध्यापकका संघ–संगठनलाई मिलाउन यति धेरै सह–नियन्त्रक नियुक्ति गरिएको पाइएको छ ।

डीन कार्यालयले सबै संकायको परीक्षा सेमेस्टर प्रणालीबाट सञ्चालन गर्न शुरु गरिरहेको अवस्थामा जम्बो सहनियन्त्रकको आवश्यकता नभएको त्रिविकै भनाइ छ ।

वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन, लब्धाङ्कपत्र र ट्रान्सकिफ्ट वितरणलगायत सीमित काम मात्र गर्ने पनिकामा यति धेरै सहनियन्त्रक राख्नु औचित्यहीन देखिएको छ । हाल कार्यरत सबै सहनियन्त्रकको म्याद सकिएको छ । सबैलाई अर्को व्यवस्था नभएसम्मका लागि भन्दै थमौती दिने गरिएको छ ।

पनिकामा पशुपति अधिकारी, भूपालकुमार श्रेष्ठ, सञ्जयकुमार मिश्र, अखिलेश कुमार, विष्णुप्रसाद वाग्ले, धनश्याम ठाकुर, अर्जुनविक्रम खड्का, तीर्थराज न्यौपाने, अर्जुनबहादुर भण्डारी र ईश्वरी शर्मा ढकाल कार्यरत छन् ।

–भागवण्डामा १० सहनियन्त्रक
–अधिकांश सहनियन्त्रक कामविहीन
–त्रिवि रजिस्ट्रार भन्नुहुन्छ: जम्बोटोली काम छैन, संख्या घटाउँछौं

तीमध्ये सञ्यजकुमार मिश्रले आफ्नो नियुक्तिको समय सकिएको जनाउँदै सहनियन्त्रक पद छाड्नुभएको छ । त्रिवि कार्यकारी परिषद्ले अर्को व्यवस्था नभएसम्मका लागि भन्दै दुई कार्यकाल म्याद थप्ने गरेको छ । ‘तत्काल नियुक्ति गर्ने वातावरण नभएपछि म्याद थमौती गर्दै पत्र दिँदै टिकाउने गरेको छ’ –स्रोतले भन्यो ।

नियुक्ति भएकामध्ये नियन्त्रक पुष्पराज जोशी नेपाली कांग्रेसको कोटाबाट नियुक्ति हुनुभएको हो । स्रोतका अनुसार सहनियन्त्रक पशुपति अधिकारी, धनश्याम ठाकुर, अर्जुनविक्रम खड्का पूर्वएमाले कोटाबाट नियुक्ति पाएका हुन् ।

अर्जुन भण्डारी, भूपालकुमार श्रेष्ठ पूर्वमाओवादी कोटाबाट, अखिलेश कुमार मधेसवादी, विष्णुप्रसाद वाग्ले नेपाली कांग्रेस र ईश्वरी शर्मा ढकाल वैद्य माओवादी कोटाबाट नियुक्ति भएका हुन् ।

यसअघि शर्माकी श्रीमान् विष्णुहरि शर्माकी श्रीमती भएको स्रोतको भनाइ छ । श्रीमान्को नियक्तिको समय सकिएपछि भागवण्डा मिलाउन ईश्वरी शर्मा ढकाललाई नियुक्ति गरिएको स्रोतको भनाइ छ ।

सहनियन्त्रकमध्ये पशुपति अधिकारी र भूपाल श्रेष्ठ २०७३ भदौ २४ गतेदेखि निरन्तर कार्यरत छन् । बाँकी ७ जना २०७४ भदौ १५ गते नियुक्ति भएका हुन् । महिला सह–नियन्त्रक शर्मा २०७४ कातिक १ गते नियुक्ति भएका हुन् ।

दुई कार्यकाल पूरा गर्दा पनि शक्ति केन्द्र धाएर पुनः सहनियन्त्रको पद हत्याउने तयारीमा छन् । स्रोतका अनुसार २०७३ सालमा नियुक्ति हुनुभएका अधिकारी र श्रेष्ठ पुनः सहनियन्त्रक हुन धाइरहनुभएको छ ।

उहाँहरुले त्रिविका पदाधिकरीसमक्ष आग्रह गरिरहेको स्रोतको भनाइ छ । अधिकारी र श्रेष्ठ नेकपाका प्राध्यापक भए पनि पूर्वएमाले र माओवादी खेमाका हुन् ।

रजिस्ट्रार प्राडा दाहालले आफ्नो कार्यकालमा नियुक्ति नभएका कारण संख्या घटाउन समस्या परेको जानकारी गराउँदै भन्नुभयो– ‘अब जम्मो सहनियन्त्रकको टोली हँुदैन । चुस्त टोलीले काम गर्ने वातावरण बनाउँदै छौं ।’

अघिल्ला उपकुलपति प्राडा हीराबहादुर महर्जन र निवर्तमान उपकुलपति प्राडा तीर्थ खनियाको कार्यकालमा पार्टीका प्राध्यापकलाई व्यवस्थापन गर्न सहनियन्त्रक नियुक्ति गर्नुभएको त्रिविको उच्च अधिकारीको भनाइ छ ।

तत्कालीन उपकुलपति प्राडा माधव शर्माको कार्यकालपछि नियुक्ति हुनुभएका महर्जन र अघिल्ला उपकुलपति प्राडा खनियाले आफ्ना र अन्य दलका प्राध्यापक मिलाउन मनपरी सहनियन्त्रक राख्नुभएको हो । महर्जन एमाले र प्राडा खनिया नेपाली कांग्रेस निकट हुन् ।

अहिले प्राडा खनियाको कार्यकालमा नियुक्ति भएका सबै सहनियन्त्रक कामविहीन अवस्थामा छन् । त्रिविका रजिस्ट्रार प्राडा पेशल दाहालले सहनियन्त्रकहरुको संख्या अधिक रहेको स्वीकार्दै अब केही दिनमै कम गर्ने योजना रहेको बताउनुभयो ।

‘हामीले बढीमा ६ जना सहनियन्त्रकको व्यवस्था गर्ने तयारी गरेका हौं । ४ जना ४ वटा क्षेत्र र बढीमा २ जना केन्द्रमा रहने गरी कटौती गर्न लागेका हौं’ –रजिस्ट्रार प्राडा दाहालले भन्नुभयो । त्रिविमा परीक्षा प्रमुखको जिम्मा रजिस्ट्रारको हुन्छ ।

पनिकामा पोखरा, विराटनगर, नेपालगन्ज र धनगढीको अत्तरियामा प्रदेश परीक्षा नियन्त्रण कार्यालय छ । ती कार्यालयमा सहनियन्त्रक प्रमुख हुने व्यवस्था छ ।

व्यवस्थापन र सञ्चालन पनिकामा रहने गरी पनिकामा कार्यरत १० मध्ये एक जनाले नियुक्तिको म्याद सकिएको जनाउँदै सहनियन्त्रकबाट बिदा लिनुभएको छ । बाँकी ९ जना फेरि सहनियन्त्रक हुन शक्तिकेन्द्र धाउन शुरु गरेका छन् ।

‘नेविसंघले तोडफोड गरेको छैन, गर्दैन पनि’
नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेको छ । आफ्ना मागहरु बेवास्ता गरेको जनाउँदै नेविसंघले उपकुलपतिको कार्यकक्ष तोडफोड गरेको हो ।

विश्वविद्यालयले साउनको पहिलो साता इन्जिनियरिङमा प्राडा शशीधरराज जोशी, शिक्षामा प्राडा चिबबहादुर बुढाथोकी र मानविकीमा प्राडा कुशुम शाक्यलाई डीन नियुक्ति गरेपछि विवाद चर्किएको थियो । लगत्तै प्रजातन्त्रवादी प्राध्यापक संघले ताला लगाएको थियो । त्यसपछि नेविसंघले थपेको थियो ।

उच्च अदालत पाटनले ताला खोल्न अन्तरिम आदेश दिएपछि करिब एक साताअघि ताला खुलेको थियो । मंगलबार बिहान करिब साढे १० बजे नेविसंघ त्रिविका विद्यार्थी समूहले उपकुलपतिको कार्यकक्षमा ढुंगा प्रहार गरेका थिए । संघले करिब एक महिनाअघि विश्वविद्यालयको मार्गचित्र बनाउनुपर्ने, नियुक्ति जेष्ठता र वरिष्ठताका आधारमा पारदर्शी हुनुपर्नेलगायतका २० बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको थियो ।

त्रिवि उपकुलपतिको कार्यालय तोडफोड गरेको आरोपमा प्रहरीले ८ जनलाई पक्राउ गरेको थियो । उता नेविसंघका अध्यक्ष राजीव ढुंगानाले त्रिवि उपकुलपति कार्यालयमा नेविसंघले तोडफोड नगरेको जिकिर गर्नुभएको छ ।
उहाँले सेमेस्टर प्रणालीको पठनपाठन, परीक्षा सञ्चालनलगायत समसामयिक विषयमा वार्ता गर्न जाँदा प्रहरी प्रशासन लगाएर विद्यार्थीमाथि हातपात गरेको आरोप लगाउनुभएको छ ।

उहाँले भन्नुभयो– ‘नेविसंघलाई बदनाम गर्न तोडफोड गरेको आरोप लगाइएको छ । नेविसंघले तोडफोड गरेको छैन गर्दैन पनि ।’ उहाँले तत्काल वार्ता गरी समस्या समाधान गर्न आग्रह गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्