शकुन्तला र भैरवलाई पुरस्कार अर्पण



वन चैत्य बसुन्धरा फाउन्डेसनले हेरे वर्ष अर्पण गर्दै आएको यस वर्षको हरीश भुवन चन्द पुरस्कार र चेतनारायण बसुन्धरा भुसाल पुरस्कार आइतबार दुई भिन्न कार्यक्रमका बीच प्रदान गरेको छ। कोरोना संक्रमणको जोखिमका कारण दुई कलाकर्मीलाई भिन्न–भिन्न कार्यक्रमका बीच पुरस्कार अर्पण गरिएको फाउन्डेसनले जनाएको छ।
५ दशकदेखि फिल्म र रंगमञ्चमा अनवरतरूपमा सेवारत विशिष्ट रंगकर्मी तथा चरित्र अभिनेत्री शकुन्तला शर्मालाई चेतनारायण बसुन्धरा भुसाल पुरस्कार र ६ दशकभन्दा लामो समयदेखि नेपाली रंगमञ्च तथा नृत्य निर्देशनको क्षेत्रमा सक्रिय भैरवबहादुर थापालाई हरीश भुवन चन्द पुरस्कार अर्पण गरिएको छ। दुवै पुरस्कारको राशी जनही ५१ हजार रुपिया“ रहेको छ।
कोभिड–१९ कोरोनाको संक्रमण बढिरहेको अवस्था भएकाले पुरस्कार अर्पणको कार्यक्रम जमघट नगरी फाउन्डेसनका पदाधिकारी र थोरै सहभागीका बीच सम्पन गरिएको थियो। विशिष्ट नृत्य निर्देशक भैरवबहादुर थापालाई पुरस्कार र सम्मान अर्पण कार्यक्रममा कामनपा–५ का वडाध्यक्ष रमेश डंगोललगायत सहभागी थिए भने विशिष्ट रंगकर्मी तथा चरित्र अभिनेत्री शकुन्तला शर्मालाई पुरस्कार र सम्मान अर्पण गर्ने कार्यक्रममा विशिष्ट फिल्मकर्मी एवं नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका उपकुलपति हरिहर शर्माको सहभागिता रहेको थियो।
स्थापना वर्षको पुरस्कार गत वर्ष चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याण कोषलाई १ लाख ५३ हजार रुपिया“ अर्पण गरिएको फाउन्डेसनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्