कीर्तिमानमाथि कीर्तिमान



गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायले कीर्तिमानमाथि कीर्तिमान कायम गरेका छन्। १२ अन्तर्राष्ट्रिय भाषामा १२ लाइनको गीत रेकर्ड गराएर गत महिना मात्र गिजिन बुक अफ वल्र्ड रेकर्ड कायम गरेका गीतकार डा. उपाध्यायले फेरि १७ फरक विधामा विश्व कीर्तिमानी कायम गरेका हुन्। आइतबार राजधानीमा अयोजित एक समारोहबीच डा. उपाध्यायलाई श्रम तथा रोजगार एवं सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले १७ विधाका वल्र्ड रेकर्डको सर्टिफिकेट प्रदान गरेका छन्।
उनले यसपटक १७ वटा विधामा एउटा मात्र हैन, १० वटा फरक–फरक विश्व रेकर्ड कम्पनीबाट वल्र्ड रेकर्ड कायम गरेका हुन्। उपाध्यायले अमेरिकन बुक अफ रेकर्ड, एसियन वल्र्ड रेकर्ड, च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड, द ब्रिटिस वल्र्ड रेकर्ड, वल्र्ड बुक अफ रेकर्ड युनाइटेड किङडम, युरोपियन रेकर्ड बुक, यूआरएफ वल्र्ड रेकर्ड, एक्युसिभ वल्र्ड रेकर्ड, एभरेस्ट वल्र्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम एसियन रेकर्डमा १७–१७ विधामा एकसाथ वल्र्ड रेकर्ड बनाएका छन्। यी १० कम्पनीबाट उनले १ सय ७० वल्र्ड रेकर्डको सर्टिफिकेट प्राप्त गरेका छन्। डा. उपाध्यायले नारी एवं पुरुषले दुवैप्रति कस्तो माया, सम्मान, ख्याल, सुरक्षा र व्यवहार गर्नुपर्छ भन्ने एक–एक लाइनको सामाजिक सन्देश प्रवाह गर्ने २ सय ८८ लाइनको गीत, एउटा शब्द पुरुष र एउटा शब्द महिलाले गाएको शब्द शब्दको गीत, सांकेतिक भाषाद्वारा गीतको शब्दले के भनेको र परिभाषित गरेको गीत, हुलाक टिकटमा प्रकाशित विशिष्ट नेपाली व्यक्तिको नाम र कामबारे बनाइएको गीत, एउटा अक्षर पुरुष र अर्को नारीको अक्षर–अक्षरको गीत, तीनवटा सप्तक बनेको गीत, सगरमाथा हिमाल आरोहण गर्नेकोे अत्यधिक नामबाट बनेको गीत, प्रकाशन भएका धेरै उपन्यासको नामबाट बनाइएको गीत, संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा हिमाल शब्द धेरैपटक प्रयोग गरेर बनेको गीत, एउटै गीतमा धेरै थरीका रुख बोट–विरुवाको नाम प्रयोग गरिएको गीत, एउटै गीतमा धेरैपटक मुटु शब्द प्रयोग गरेर बनाइएको गीत, संसारमा सबैभन्दा सानो आकार २ बाई २ इन्चको गीति पुस्तक, आठ उपन्यास समावेश गरी बनाइएको एउटै पुस्तक संग्रह, एकैदिन १९ वटा गीतिसंग्रहको विज्ञापन प्रकाशन, एकैदिन १९ सीडी एल्बम धेरै पोस्टबक्समा खसालेको, एउटै गीतको स्थायी र अन्तरा धेरै व्यक्तिले एकैपटक पढेको तथा आफ्नै शब्द रचनाको ३÷२ को सबैभन्दा धेरै प्रकारको फ्लेक्स पोस्टर प्रकाशन गरेर एकसाथ सार्वजनिक गरेको रेकर्ड कायम गरेका हुन्।
यसअघि गिनिज वल्र्डसहित १५ विधामा विश्व कीर्तिमानी कायम गरेका उपाध्यायले योसहित ३२ विधामा फरक–फरक विश्व कीर्तिमानी कायम गरेका छन्। ‘यसरी एकैदिन फरक–फरक १७ विधामा १० विश्व रेकर्ड संस्थाबाट रेकर्ड कायम गर्दै सर्टिफिकेट ग्रहण गर्ने डा. उपाध्याय पहिलो व्यक्ति हुन्। यो व्यक्ति नभएर समग्र नेपालकै लागि गौरवको कुरा हो।’ –मन्त्री यादवले कार्यक्रममा भने। गीतकार संघ नेपालका अध्यक्ष चूडामणि देवकोटाले नेपाली गीत–संगीतमा लागेकालाई यो खबर अत्यन्त सुखद पक्ष भएको चर्चा गरे। कीर्तिमानी गीतकार उपाध्यायले व्यक्तिभन्दा पनि नेपाली गीत–संगीतलाई विश्व बजारमा पु¥याउ“दै गिनिज, अमेरिकन वल्र्डबुकसहित सबै वल्र्ड रेकर्डमा नेपालको नाम लेखाउन आफूले सो कार्य गरेको बताए। कार्यक्रममा मन्त्री यादवले डा. उपाध्यायका चार गीतिसंग्रह कर्तव्य बोध, धरोहर, सपनाको महल र हृदयको झंकार, संसारकै सानो गीति पुस्तक अनूभूतिको मझेरी सार्वजनिक गरेका थिए।

प्रतिक्रिया दिनुहोस्