बूढीगण्डकीको बाँकी मुआब्जा दिन माग



काठमाडौं, (नेस)
बाँकी रहेको मुआब्जा तत्काल दिन बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले माग गरेको छ । समितिले विज्ञप्ति जारी गर्दै मूल मोटरबाटोले छोएको जग्गा, घरबस्ती भएको जग्गा, सहायक मोटरबाटोले छोएको जग्गाको मुआब्जा जिल्ला मुआब्जा समितिले निर्धारण गरेकै दरअनुसार दिनुपर्ने माग गरेको हो ।

समितिले ऐलानी जग्गामा बसोबास गरेका व्यक्तिलाई निश्चित मापदण्ड बनाएर मुआब्जा दिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्नुपर्ने, डुबान क्षेत्रका जग्गामा रहेका घर, गोठ, संरचना, बोटबिरुवाको मुआब्जाको दर तय गरी तत्काल वितरण गर्नुपर्ने, घर, संरचनामा लाग्ने ह्रासकट्टी मिनाहा गर्नुपर्ने, बूढीगण्डकी आयोजना वातावरण, मुआब्जा, पुनर्वास तथा पुनस्र्थापना एकाइले कर्मचारी नियुक्त गर्दा सार्वजनिक सूचना जारी गर्नुपर्ने र उपलब्ध भएसम्मका जनशक्ति बूढीगण्डकी डुबान क्षेत्रका बासिन्दामध्येबाट नियुक्त गर्नुपर्नेमा पनि माग गरेको छ ।

त्यस्तै मुआब्जामा लिइएको एकमुष्ट पुँजीगत लाभकर फिर्ता गर्नुपर्ने, मुआब्जा निर्धारण गर्दा जिल्ला मुआब्जा समिति गोरखा र जिल्ला मुआब्जा समिति धादिङले मन्त्रिपरिषद्लाई गरेका सबै सिफारिस कार्यान्वयन गर्नुपर्ने बूढीगण्डकी रिङरोडको काम तत्काल अघि बढाउनुपर्ने पनि समितिले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्