बाढीले बेलिब्रिजसहित दर्जनाैं घर बगायो, एक महिला बेपत्ता



दयाराम पण्डित, बाजुरा

आइतबार रातिदेखि आएको अविरल वर्षासँगै आएको बूढीगंगा नदीले बडीमालिका नगरपालिका–२ की ऐसनी महत बेपत्ता भएकी छन् । उनी राति घरमा वाढी पसेपछि ओत लाग्न जाने क्रममा बेपत्ता भएकी वडा नं २ का वडाअध्यक्ष डम्मर महतले जानकारी दिनु भएको छ ।

आमा बेपत्ता भएसँगै आफ्ना दुईवटा घरलगायत घगरको १९ परिवारका घर तथा मिल र चप्पल फ्याक्ट्रीसहित बगाएर करोडौं रुपियाँ बराबरको क्षति भएको वडा अध्यक्ष महतले वताउनुभयो । घर खेतबारी बगाएपछि अहिले उनीहरुको त्रिपालमा बास भएको छ ।

त्यसै गरी बाढीले बडीमालिका नगरपालिकाको वडा नं ६ जडाङ्गाका दलबहादुर खड्कालगायतको पाँच परिवारको घर बगाएको छ । गौमूल गाउँपालिकाको सिममा आठ घर बगेका छन् । बूढीगंगा नगरपालिकाको ताप्रीसेरामा तीनवटा पसलसहित खेतबारी वगाएको छ ।

खोलाले साँफे–मार्तडी सडक पर्ने जडाङ्गाको बेलीब्रिज बगाएको छ । बेलीब्रिजसँगै. चारवटा झुलुंगें पुल बगाएको छ भने तीनवटा पुल उच्चजोखिममा छन् । साँफे मार्तडी सडक धुजाधुजा भएका छन् ।

साँफे–मार्तडी सडकअन्तर्गत बूढीगंगा नदीमा बनाएको बेलिबिज्र आइतबार रातीको वर्षाले बगाएको प्रहरीले जनाएको छ ।

त्यसै गरी बडीमालिका नगरपालिका–२ घागर र वडा नं ८ को राप्काका एक दर्जनभन्दा बढी घर तथा झोलुङ्गे पुलसमेत बगाएको प्रहरीले जनाएको छ । भौनुराको कुटानी पिसानी मिल पनि बूढीगंगाले बगाएको स्थानीयले बताएका छन् । आफ्नो घरसहित आठ घर बूढीगंगा नदीले बगाएको बडीमालिका नगरपालिका–२ का वडाध्यक्ष डम्मर महतले बताउनुभयो ।

त्यस्तै, बूढीगंगामा आएको बाढीले घागर, भौनेरा, रापकलगायत तटीय क्षेत्रका बस्तीमा ठूलो क्षति पुगेको स्थानीय गोपाल कार्कीले बताउनुभयो ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली राति नै सदरमुकामबाट गएको भए पनि सदरमुकाम सेलाघाट थुवाकाँधमा गएको पहिरोका कारण सोमबार बिहान मात्र पहिरो पन्छाएर टोली राप्का पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्