बक्सिङलाई राखेपको ७ दिने अल्टिमेटम



न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवालेलाई संघमा भएका सम्पूर्ण कामकारवाहीको विवरण पेश गर्न सात दिने अल्टिमेटम दिएको छ ।

राखेपको संघसंस्था समन्वय शाखा प्रमुख ज्ञानेन्द्र श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा संघका सम्पूर्ण कामकारवाही र आर्थिक विवरण एक साताभित्र उपलब्ध गराउन भनिएको छ । साउन २५ गते आइतबार प्रेषित पत्रमा संघमा भएको आर्थिक अनियमितता र विधान विपरीतका कामकारवाहीका बारेमा स्पष्ट खुलाउन भनिएको छ ।

बक्सिङ्ग संघ अराजकताको केन्द्र बनेको र अध्यक्ष राम अवालेले विधान विपरीत मनपरी रुपमा काम गर्दै आएको भन्दै कारवाहीको माग गर्दै संघका महासचिव सविन भट्टाचार्य र कोषाध्यक्ष गौतम सुजखुले २०७७ असार १४ गते राष्ट्रिय खेलकुद परिषदमा निवेदन दर्ता गराएका थिए ।

महासचिव भट्टाचार्य र कोषाध्यक्ष सुजखुले निर्वाचित कोषाध्यक्षलाई काम गर्नबाट बञ्चित गर्दै कार्यबाहक कोषाध्यक्ष नियुक्ति गरेर आर्थिक अनियमितता गरेको, चार वर्षको अवधिमा एउटा पनि साधारणसभा नगरेको, कार्यसमितिका सदस्यले पटक पटक साधारणसभाको माग गर्दा पनि बेवास्ता गरेको, लेखा परीक्षण नगर्नुका साथै राष्ट्रिय खेलकुद परिषदबाट लिएका सहयोगको फछ्र्योट नगरेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायबाट प्राप्त आर्थिक सहयोगका बारेमा कसैलाई जानकारी नदिई आर्थिक अपचलन गरेको भन्दै कारवाहीको माग गरेका छन् ।

नेपाल बक्सिङ्ग संघको आन्तरिक विवाद अहिले उत्कर्षमा पुगेको छ । अध्यक्ष राम अवाले र महासचिव सविन भट्टाचार्य आन्तरिक विवादमा दुई फरक समूहको नेतृत्व गरिरहेका छन् । अध्यक्षको गुटमा कार्यसमितिको बहुमत छ भने महासचिवको समूहमा कोषाध्यक्षसहितका पदाधिकारी छन् । अध्यक्षले एकलौटी रुपमा संघ सञ्चालन गरेको आरोप महासचिव पक्षले लगाउँदै आएको छ । केही दिन अघि संघका महासचिव सविन भट्टाचार्यले संघको केन्द्रीय पूर्ण कार्यसमितिको बैठकमा आफूमाथि दुव्र्यवहार भएको आरोप समेत लगाएका थिए । यता नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवालेले भने महासचिव भट्टाचार्यको आरोपमा कुनै सत्यता नभएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्