टाइसन र जोन्सको फाइट सर्‍यो



एजेन्सी ।

प्रोफेसनल बक्सिङका पूर्व हेभिवेट च्याम्पियन माइक टाइसन र रोय जोन्स जुनियरबीच आगामी सेप्टेम्बरमा हुने भनिएको फाइटको मिति सरेको छ ।

अमेरिकाको सञ्चारमाध्यम रिङ म्यागाजिनले टाइसन र जोन्सबीचको भिडन्त सरेको जनाएको हो । ५४ वर्षीय टाइसन र ५१ वर्षीय जोन्सबीचको ८ राउन्डको एक्जिबिसन फाइट क्यालिफोर्नियाको डिग्निटी हेल्थ स्पोर्ट्स पार्कमा सेप्टम्बर १२ मा हुने भनिएको थियो । तर, उक्त फाइट अब नोभेम्बर २८ मा सरेको जनाएको छ ।

टाइसन र जोन्स एक प्रदर्शनी फाइटका लागि भिड्न लागेका हुन् । यो खेललाई टेलिभिजनमा हेर्न पे पर भ्यू को ब्यवस्था गरिएको छ । पछिल्लो पटक टाइसनले निरन्तर प्रशिक्षण गरिरहेको भिडियो पनि सोसियल मिडियामा चर्चित भइरहेको छ । टाइसनले व्यवसायिक रुपमा सन् २००५ मा अन्तिम पटक प्रतिस्पर्धा गरेका थिए । त्यस खेलमा उनी आयरल्याण्डका केभिन म्याकब्राइडसँग पराजित भएका थिए । जुन उनको करियरको छैटौं हार थियो । टाइसनले करियरको ४४ वटा फाइट नक आउटको आधारमा जितेका छन् ।

त्यस्तै, ५१ वर्षका जोन्सले पछिल्लो पटक सन् २०१८ को फेब्रुअरीमा प्रतिस्पर्धा गरेका थिए । उक्त भिडन्तमा उनले स्कट सिगमोनलाई पराजित गरेका थिए । उनले करियरको ७५ फाइट मध्ये ६६ मा जित दर्ता गरेका छन् । जसमध्ये ४७ फाइट नकआउटको आधारमा जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्