बेसारको उपयोगिता



प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बैठकमै बेसारको कुरा गरेपछि यो खूबै चर्चित बन्यो । सामाजिक सञ्जालमा बेसारमय तस्वीरहरु देखिए । कतिपय कलाकारले त यसको गीत बनाउनसमेत भ्याए । खास बेसार के हो त ? यहाँ थोरै चर्चा गर्ने प्रयास गरिएको छ ।
बेसार जिन्जिबेरसी परिवारको एक कन्दमूल हो । यसको वानस्पतिक नाम करक्यूमा लोगा हो । नेपालमा सदियौंखि ऋषिमुनिहरूले यसको प्रयोग एक औषधिका रूपमा गर्दै आएको र आयुर्वेदमा यसको गुणहरूको पर्याप्त बयान गरेको पाइन्छ । विशेष गरी बेसार दक्षिणी तथा दक्षिण–पूर्वी एसियाको कन्दमूल हो तर आज विश्वका सम्पूर्ण देशहरूमा यसको प्रयोग हुने गर्दछ ।
बेसारमा हुने कुरकुमिन नामक जैविक रसायनका कारण नै बेसार पहेँलो देखिएको हो । यस रसायनमा विभिन्न औषधीय तत्व पाइन्छ । पौष्टिक तत्वहरूको रूपमा यस बेसारमा भिटामिन ए १७ प्रतिशत प्रतिसय ग्राममा, केही मात्रामा भिटामिन बी, बी–२, सी र ३९० क्यालोरी प्रति एक सयग्राममा पाइन्छ भनिएको छ । खनिजमा क्याल्सियम, फस्फोरस, फलाम आदि प्रचूर मात्रामा पाइन्छ ।
मसलाको समूहमध्ये अग्रपंक्तिमा आउने बेसार, लसुन र प्याजका अतिरिक्त हाम्रो भान्छामा सधैँ भइरहने उपयोगी सामग्री हो । बेसारले हाम्रो भोजनलाई आकर्षक त अवश्य बनाउँछ तर यसको अलावा केही विशेष तत्वहरू पनि प्रदान गर्छ । बेसारमा कीटाणुहरूलाई मार्ने शक्ति हुन्छ भन्ने तथ्य विभिन्न वैज्ञानिक अनुसन्धानहरूले सिद्ध गरिसकेका छन् ।
सुपरिचित मसला बाली बेसारको बहुउपयोगी गानो जमिनमुनि हुन्छ । नेपालमा यसको खेती प्राचीन कालदेखि नै भएको पाइन्छ । आजकल बेसारलाई चिकित्सा विज्ञानले भिटामिन तथा खनिज लवणहरूको उत्तम स्रोतको रूपमा लिने गरेको पाइन्छ । चिनियाँ चिकित्सा पद्धतिमा बेसारलाई पर्याप्त मात्रामा प्रयोग गर्ने गरिन्छ । बेसारमा रहेको संक्रमण हटाउने र घाउको जलन कम गर्ने विशेष तत्वले यसलाई औषधिको रूप दिएको हो ।
विशेष गरी यो बेसार पिँडालु, भण्टा, मूला आदि अन्य तरकारी बालीहरूसँग मिश्रित वा अन्तरखेती गर्ने चलन छ । आचार्य चरकले बेसारलाई कुष्ठ र लुतो हटाउने, विष नष्ट गर्ने गुणयुक्त मानेका छन् । यस्तै आचार्य सुश्रुतले श्वास रोग, खोकी, रक्तपित्त, आँखा रोग, कुष्ठ र प्रमेहलगायत निर्मूल गर्न यसलाई प्रभावकारी मानेका छन् । अमेरिकास्थित पेन्सिलभेनिया विश्वविद्यालय, मेडिकल सेन्टरका डा. अमोन ए नान्जीले के प्रमाणित गरेका छन् भने, बेसार नियमित खाँदा रक्सीले कलेजोलाई पु¥याउने क्षतिसमेत कम हुन्छ । क्यानाडाको टोरन्टो जनरल अस्पतालका अनुसन्धानकर्ताहरूले जनरल अफ क्लिनिकल इन्भेस्टिगेसनमा प्रकाशन गरेको प्रतिवेदनअनुसार बेसारले हार्ट फेल हुनबाट बचाउँछ, क्षतिग्रस्त मुटुलाई थप नोक्सान हुनबाट रोक्छ । उक्त अनुसन्धानअन्तर्गत बेसार मुटु रोगले प्रभावित मुसालाई सेवन गराइएको थियो ।
बेसारको औषधीय गुणलाई बुझेर नै सौन्दर्य प्रसाधनमा र औषधिको रूपमा पनि यसको प्रयोग प्रशस्त मात्रामा भएको पाइन्छ । बेसारलाई हल्दी पनि भनिन्छ । बेसार मसलाको रूपमा प्रयोग हुने वस्तु हो । यसको जरा खास गरी परिकारको रंग बदल्नको लागि प्रयोग गरिन्छ । यसको रंग पहेँलो हुन्छ । त्यसैले यसले परिकारको रंग पनि पहेँलो बनाउँछ । यसको बिरुवा अलैंचीको बिरुवाजत्रै हुन्छ । यसको पात पनि ठूलो अलैंचीको पातजस्तै हुन्छ । जरा अदुवाको जराजस्तै हुन्छ । यो एक प्रकारको नगदे बाली पनि हो । यसको जरा आयुर्वेदिक ओखती बनाउनमा पनि प्रयोग गरिन्छ । नेपालको अधिकांश भूभागमा यसको खेती गरेको पाइन्छ ।
कौस्तुप सापकोटा, अछाम ।

 

प्रतिक्रिया दिनुहोस्