कोरोनाको हटस्पट विराटनगर: १७ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि



सरोज यादव, विराटनगर

प्रदेश १ को राजधानी विराटनगरका छवटा ठूला अस्पतालका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो समय विराटनगर कोरोना भाइरसको ‘हटस्पट’ बनेको छ ।

आइतबार दिउँसोसम्म विराटनगर महानगरपालिकामा २ सय ८२ जनालाई संक्रमण पुष्टि भएको छ, जसमध्ये ४ जनाको मृत्यु भइसकेको छ भने ४३ जना कोरोनालाई पराजित गर्दै निको भएका छन । प्रदेश १ का दुई पीसीआर ल्याबमा फरक रिपोर्ट आएपछि परिवारले नै अन्तिम संस्कार गरेका विराटनगरका एक व्यक्तिको कोरोनाबाटै मृत्यु भएको प्रदेश सरकारले पुष्टि गरेको छ ।

मृगौला रोगी रहेका विराटनगर–१० का ६३ वर्षीय रमेश अग्रवालको शनिबार सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार कोसी अस्पतालमा लगिएका उनको स्वाब संकलन गरिएको थियो । शुक्रबार दिउँसोसम्म कोरोना रिपोर्ट नआएकोमा स्वास्थ्य अवस्था बिग्रिएपछि आफन्तले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लागेकोमा उपचारका क्रममा निधन भएको थियो ।

अग्रवालको प्रतिष्ठानले पनि कोरोना जाँच गर्न स्वाब संकलन गरेकोमा नेगेटिभ रिपोर्ट आयो । यता कोसीको पनि रिपोर्ट शुक्रबार नै आएकोमा पोजेटिभ देखियो । तर, प्रतिष्ठानले आफूले संकलन गरेको स्वाबमा नेगेटिभ रिपोर्ट आएको भन्दै शव आफन्तको जिम्मा लगाएपछि शनिबार उनको विराटनगरमा अन्तेष्टि गरिएकोमा प्रदेश सरकारले उनको मृत्यु कोरोनाबाटै भएको पुष्टि गरेको छ ।

समुदायस्तरमा संक्रमण फैलिएको विराटनगरका प्रादेशिक अस्पताल कोसी अस्पताल, नोबेल मेडिकल कलेज, न्युरो अस्पताल, मोरङ सहकारी अस्पताल, गोल्डेन अस्पताल र विराट नर्सिङहोम (विराटनगर अस्पताल) का कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालका संक्रमितमध्ये अधिकांश स्वास्थ्यकर्मी रहेको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मी तथा कर्मचारीमा संक्रमण देखिएपछि विराटनगरका चार अस्पताल सिल भएका थिए । तीमध्ये दुईले सेवा सुचारु गरेका छन् । संक्रमण देखिएपछि सिल भएको विराटनगरको न्युरो अस्पताल, गोल्डेन अस्पताल, विराट नर्सिङ होम र मोरङ सहकारी अस्पतालमध्ये न्युरो र विराटले आकस्मिक सेवा सुचारु गरेका हुन् । विराटनगरको कोसी अस्पतालमा कार्यरत १७ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार संक्रमितमध्ये अधिकांश स्वास्थ्यकर्मी हुन् ।

अस्पतालका संक्रमितमध्ये एक डाक्टर, सात नर्स, तीन सफाइ कर्मचारी, दुई प्राविधिक र अन्य प्रशासनका कर्मचारी रहेका छन् । स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि अस्पतालले सेवा प्रवाहमा सतर्कता अपनाएको मेडिकल सुपरिटेन्डेन्ट डा. दासले बताउनुभयो । विराट नर्सिङहोमका सञ्चालकसहित १३ जनालाई कोरोना संक्रमण देखिएको थियो । जसमध्ये एक सेवाग्राही हुन् । तीन डाक्टर र पाँच स्टाफ नर्स छन् । अन्य प्रशासनका कर्मचारी रहेको अस्पताल प्रशासनले जनाएको छ ।

न्युरो अस्पताल विराटनगरमा एक सेवाग्राहीसहित आठलाई संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एक डाक्टर, पाँच स्टाफ नर्स, एक सफाइ कर्मचारी हुन् । एक बिरामी कुरुवा हुन् । अस्पतालका अपरेसनल डाइरेक्टर राजेश भट्टराईका अनुसार संक्रमित स्वास्थ्यकर्मीलाई अस्पतालले आफ्नै आइसोलेसनमा राखेको छ ।

गोल्डेन अस्पतालमा तीन र मोरङ सहकारीमा पाँच जनालाई संक्रमण देखिएको छ । गोल्डेन अस्पतालका प्रशासन प्रमुख सन्तोष मेहताका अनुसार संक्रमितमध्ये एक इमरजेन्सी वार्डमा कार्यरत स्वास्थ्यकर्मी हुन् । एक डाइलासिस विभाग र एक प्रशासनमा काम गर्ने कर्मचारी हुन् । मोरङ सहकारी अस्पतालका सञ्चालक विकास अधिकारीका अनुसार अस्पतालमा कार्यरत प्राविधिक र स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ ।

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार दुई डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण भेटिएपछि विराटनगरका निजी अस्पतालले ओपीडी सेवा बन्द गरेका छन् । दुई डाक्टरलाई कोरोना देखिएपछि नोबेल मेडिकल कलेजले आइतबारबाट ओपीडी सेवा बन्द गरेको हो ।

विराटनगरको म्याक्स अस्पतालका दुई सेवाग्राहीलाई कोरोना देखिएपछि अस्पतालले ओपीडी सेवा बन्द गरेको थियो । मोरङ सहकारी अस्पताल र गोल्डेन अस्पतालले आकस्मिक र ओपीडी सेवा बन्द गरेका छन् । न्युरो अस्पताल र विराट नर्सिङहोम, विराट मेडिकल कलेजसहित ठूला निजी अस्पतालले ओपीडी सेवा बन्द गरी इमरजेन्सी सेवा सञ्चालन गरिरहेका छन् ।

यस्तै प्रदेश १ मा कोरोना संक्रमित राख्न प्रबन्ध गरिएका अस्पतालका आइसोलेसन शैय्या पूर्ण अभाव भएको छ । अस्पतालमा ठाउँ नभएपछि संक्रमितहरु घरघरमै बसिरहेका छन् । यद्यपि कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि भने केही स्थानीय तहले आइसोलेसन कक्षको व्यवस्थापन गर्न थालेका छन् ।

मोरङको रंगेली नगरपालिकाले आफ्ना नागरिकको व्यवस्थापनका लागि क्याम्पसलाई नै आईसोलेसन अस्पतालमा रुपान्तरण गरेको छ । संक्रमण पुष्टि भएका तर लक्षण नदेखिएका नागरिकलाई समाजबाट आइसोलेट गर्न स्थानीय जनता क्याम्पसलाई सय बेडको आइसोलेसन अस्पतालमा रुपान्तरण गरिएको हो ।

प्रदेश १ मा संक्रमितहरुको उपचार तथा स्वास्थ्य परामर्श प्रदान गर्न तोकिएका अस्पतालहरु भरिदैं गएपछि रंगेली नगरपालिकाले क्याम्पसलाई नै सय शैय्याको आइसोलेसन अस्पताल घोषणा गरेको छ । प्रदेश सरकारले सञ्चालनमा ल्याएको कोसी, बीपी र पीयू गोठगाउँको उपचार केन्द्र तथा आइसोलेसन अस्पतालमा संक्रमण पुष्टि भएकाहरुलाई राख्ने अवस्था छैन ।

झापाको मेची अस्पताल, मेची नगरपालिकामा निर्माण गरिएको आइसोलेसन अस्पताल र उदयपुरको चौदण्डीगढीको ५० शैय्याको आइसोलेसन अस्पताल भरिएका छन् । अहिले रंगेली क्याम्पसमा सञ्चालित आइसोलेसनमा अहिले ६ महिलासहित २८ नागरिकलाई राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्