नेपालमा कोरोना संक्रमणको अवस्था : प्रदेश अनुसार कुन उमेर समूहमा कति ?



भगवती तिमल्सिना, काठमाडौं ।

विश्व व्यापी रुपमा मानव अस्तित्वमै चुनौतिका रुपमा देखा परेको कोरोना भाईरसको संक्रमण नवजात शिशु देखि १ सय ३ बर्ष सम्मका मानिसमा देखा परेको छ । नेपालमा पहिलोपटक जनकपुर निवासी चीनमा अध्ययनरत युवा विद्यार्थी हवाईमार्गबाट नेपाल प्रवेश गरेसंगै कोरोनाको लक्षण देखिई परिक्षण गर्दा २०७६ साल माघ ९ गते कोरोना संक्रमण भएको प्रमाणित भएको हो ।

त्यतिबेला सम्म नेपालमा कोरोना परिक्षणका लागि ल्याबमा आवश्यक उपकरण जडान भैनसकेको र तालिम प्राप्त जनशक्ति पनि नभएकाले विदेश लगेर परिक्षण गरिएको थियो । उनलाई कोरोना प्रमाणित भएको २ सातापछि निको भएर डिस्चार्ज गरिएको थियो । पहिलो संक्रमित व्यक्ति संक्रमण भएको १ महिना पछि नियमित काममा फर्किसकेका थिए ।

अहिले नेपालमा पहिलो ल्याब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूका साथै ३७ वटा ल्याब बिस्तार भैसकेका छन् । २०७७ श्रावण २५ गते सम्म नेपालमा ४ लाख ४३ हजार ८ सय ४ पिसिआर परिक्षण भैसक्यो । जस्मा २२ हजार ९ सय ७२ जना संक्रमित भएका छन् भने ७५ जनाको मृत्यु भैसक्यो । जसमा एक जना चीनका नागरिक पनि रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
परिक्षणको संख्या व्यक्ति नभएर पटक मात्र हो ।

एउटा संक्रमित व्यक्तिलाई कम्तिमा ३ देखि ५ पटक सम्म परिक्षण गरिदै आएको जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको छ । यसका साथै दैनिक जोखिममा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, उच्चपदस्त व्यक्तित्वहरुको पटक पटक परिक्षण भैरहेको स्रोतले जनाएकोछ ।
उच्च पदस्त व्यक्तित्वहरुमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, सांसद, नेताहरु पर्दछन् ।

त्यसैगरी ठूला घरानिया व्यक्ति, उद्योगी, व्यवसायी, स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, कर्मचारी, सेना, प्रहरी, स्थानिय निकायका पदाधिकारीहरु लगायतलाई पहिलो प्राथमिकतामा राखी निःशुल्क परिक्षण गर्दै आएको जनस्वास्थ्य प्रयोगशाल टेकू स्रोतले जनाएको छ ।

यसपछि मात्र लक्षण देखिएका सर्वसाधारणको पालो आउने भएकाले परिक्षण गर्न र रिपोर्ट आउन ढिला हुने गरेको समेत स्रोतले जनाएको छ । विश्वमानै कोरोना संक्रमणमा पर्ने महिला भन्दा पुरुष बढी रहेका छन् । नेपालमा संक्रमित मध्ये पुरुष ८४ प्रतिशत अर्थात १९ हजार ३ सय ३१ रहेका छन भने महिला१६ प्रतिशत अर्थात ३ हजार ६ सय ४१ रहेका छन् । संक्रमित हुनेको उमेर समूहका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको श्रावण २२ गते सम्मको तथ्यांक यस प्रकार रहेको छ

उमेर समूह संख्या

नवजात शिशु देखि १० बर्ष सम्म-  ८७१
१० बर्ष देखि २० बर्ष सम्म –  ४००८
२१बर्ष देखि ३० बर्ष सम्म-  ८११३
३१ बर्ष देखि ४० बर्ष सम्म-  ५१९०
४१ बर्ष देखि ५० बर्ष सम्म-  २२६४
५१ बर्ष देखि ६० बर्ष सम्म-  ८९७
६१ बर्ष देखि ७० बर्ष सम्म – ३००
७१ बर्ष देखि ८० बर्ष सम्म-  ८५
८० देखि माथी – २२

कोरोना संक्रमणको जोखिम पाको उमेर समूह र बालबालिकामा बढी खतरा भनिए पनि नेपालमा कोरोना संक्रमितको संख्या १० बर्ष देखि ४० बर्ष उमेर समूहमा बढी रहेको छ । यसो हुनुको प्रमुख कारण नेपालीहरु सानै उमेरदेखि घर बाहिरको काममा खट्ने र बैदेशिक रोजगारी तथा स्वदेशमै पनि अध्ययन, अध्ययापन, रोजगारीमा खट्नुपर्ने भएकाले यो समूह बढी संक्रमित भएको स्वास्थ्य विज्ञहरुको ठम्याई छ

। विज्ञहरुका अनुसार पाको उमेर र बालबालिकालाई लाग्छ भन्ने सूचनाले पनि युवा पुस्ताले आफ्नो सुरक्षामा ध्यान नदिई बलिया र युवालाई लाग्दैन भन्ने भ्रममा परी सुरक्षा नअपनाएका कारण पनि बढी संक्रमित भएका हुनसक्छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार साउन २५ गते सम्म सातवटा प्रदेशमा रहेका संक्रमित र मृत्यु यसप्रकार रहेको छ

प्रदेश                                संक्रमित                  मृत्यु
प्रदेश नं १                          ५११                         ५
प्रदेश नं २                         ३०७५                       ३२
बागमती प्रदेश ३                ११३२                       ११
गण्डकी प्रदेश ४                  २३७                         ६
प्रदेश नं ५                         ४४६                         १०
कर्णाली प्रदेश ६                 १६९                          ४
सुदुर पश्चिम प्रदेश ७          ९७४                          ७

यी संक्तमित मध्ये प्रदेश नं १ मा ३ जना र कर्णाली प्रदेशमा ४ जना गरि जम्मा ७ जना कोरोना संक्रमण पुष्टि भएकाहरु होम आईसुलेसनमा बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये साउन २५ गते दिउसो २ बजे सम्मको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार ७४ जना आईसियू र भेन्टिलेटरमा रहेका छन् । आईसियु र भेन्टिलेटरमा बागमती प्रदेशमा सबै भन्दा बढी ३५ जना त्यपछि प्रदेश नं २ मा ३२ जना र प्रदेश नं १ र ५ मा दुई दुई जना रहेका छन् ।

संक्रमित संख्या भने प्रदेश नं २ मा बढी ३ हजार ७५ र मृत्यु ३२ रहेको छ भने प्रदेश नं ६ मा सबै भन्दा कम १ सय ६९ संक्रमित र मृत ४ भएको तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ ।

मृतकको संख्या यकिन नहुन पनि सक्छ । नेपालमा मृतकको तथ्यांक कहि कतै अध्यावधिक गरेर राख्ने व्यवस्था नभएको र मृत्यु पछि मात्र धेरैमा कोरोना संक्रमण प्रमाणित भएकाले कतिपय केसहरु मृत्युपछि परिक्षण नगरि परम्परागत रुपमा अन्तिम संस्कार गरिएको पनि हुन सक्ने स्वास्थ्य विज्ञहरुको ठम्याई छ ।

प्रतिक्रिया दिनुहोस्