अमेरिकी राष्ट्रपतिको विमान हाइपरसोनिक बन्ने तयारीमा



वासिंगटन (एजेन्सी) ।

अमेरिकी राष्ट्रपतिको आधिकारिक विमान एयरफोर्स वनलाई अपग्रेडका लागि अमेरिकी वायुसेनाले जर्जिया स्थित एक एभिएसन स्टार्टअप कम्पनी हर्मियससँग अनुबन्ध गरेको छ ।

उक्त कम्पनीले अमेरिकी राष्ट्रपतिको विमानका लागि हाइपरसोनिक एयरक्र्याफ्ट इन्जिनको विकसित गर्ने छ । यस परियोजनाका लागि अमेरिकी वायुसेनाको प्रसिडेन्सियल एन्ड एक्जिक्युटिव डाइरेक्टोरेटले लगानी गरेको छ । यही विभागले राष्ट्रपतिको विमानको रेखदेख पनि गर्दै आइरहेको छ ।

यो हाइपरसोनिक इन्जिन एक कम्बाइन टर्बोफ्यान डिजाइनमा आधारित छ । यसले एक सामान्य टर्बोफ्यान र रेमजेट दुबैलाई एउटै इन्जिनमा फ्युज गर्छ । एक सामान्य टर्बोफ्यान इन्जिन अगाडीको हावा तानेर पछाडी अत्यधिक दबावमा फ्याँक्छ । यो इन्जिनबाट प्राप्त शक्तिका कारण प्लेन सब सोनिक स्पिडमा उड्न सक्षम हुन्छ । रेमजेट इन्जिनको उपयोग क्षेप्यास्त्रमा बढी गरिन्छ ।

न्युयोर्कबाट लन्डन पुग्न मात्र ९० मिनेट

यदी एयरफोर्स वन हाइपरसोनिक इन्जिनले लेस भएमा अमेरिकी राष्ट्रपति माक ५को गतिमा न्युयोर्कदेखि लन्डन मात्र ९० मिनेटमा पुग्न सक्नेछ । यो दुरी तय गर्न अहिले ७ घन्टा लाग्छ । स्टार्टअप कम्पनीले एयरफोर्स समक्ष माक ५ एयरक्रफ्ट इन्जिन प्रदर्शन गरेको थियो । त्यसपछि त्यसका लागि सरकारी फन्ड दिइएको थियो ।

अमेरिकी राष्ट्रपति विमान एयरफोर्स वन दुई विशेष तरिकाले बनाइएको बोइंग ७४७–२००बी सेरिजको विमान मध्यको एक हो । यो विमान केही मिनेटको सुचनामा उडान भर्न सँधै तयार रहन्छ । विमानमा बसिसकेपछि पनि अमेरिकी राष्ट्रपति जो कोहीसँग सम्पर्कमा रहन सक्छ र अमेरिकामा हमला भएको स्थितिमा यो विमानलाई मोबाइल कमान्ड सेन्टरका रुपमा प्रयोग गर्न सक्छ ।

ट्रम्पको यो एयरफोर्स वन विमान कहिल्यै एक्लै उडान भर्दैन । केही कार्गो विमान सँधै यसको अगाडी पछाडी उडान भरिरहेको हुन्छ । त्यसैले अत्यन्तै दुर्गम इलाकामा पनि ट्रम्पलाई कुनै चिजको कमी महसुस हुँदैन । यी कार्गो विमान अमेरिकी राष्ट्रपति एयरफोर्स वनलाई सुरक्षा दिन पनि काम गर्छ ।

एयरफोर्स वनको क्षमता

एयरफोर्स वन ३५ हजार फिट उचाइमा १ हजार १३ किलोमिटर प्रतिघन्टाको गतिमा उडान भर्न सक्छ । एक पटकमा यो विमानले ६ हजार ८ सय माइल दुरी तय गर्न सक्छ । विमानले अधिकतम ४५ हजार १ सय फिट उचाइ सम्म उडान भर्न सक्छ । सय विमानको उडानमा प्रतिघन्टा १ लाख ८१ हजार डलर खर्च लाग्छ ।

प्रतिक्रिया दिनुहोस्