लापरवाही गर्ने जनताको काम नगर्ने !



कोरोना भाइरसको संक्रमण कर्मचारी तन्त्रमा पनि सर्ने क्रम बढेपछि मुलुक झन् भयावह बन्दै गएको छ । सार्वजनिक निकायका कर्मचारीमा कोरोना भाइरस संक्रमण हुन थालेपछि जनताका दैनिक कार्यमा पनि अवरोध आएको छ । मन्त्रालयलगायतका सार्वजनिक निकायका कर्मचारीलाई कोरोना भाइरस देखिदै गएपछि केही दिनदेखि प्रशासनिकलगायतका कामकाज प्रभावित हुँदै गएको छ । संघ, प्रदेश तथा स्थानीय तहका कर्मचारीमा धमाधम कोरोना भाइरस देखिन थालेपछि सम्बन्धित निकायका कामकाज अवरुद्ध हुन थालेका हुन् । यसरी जनताका कामकाज अवरुद्ध भएपछि उनीहरुका समयमा नै सम्पन्न हुनुपर्ने कार्यमा समय लाग्ने भएको छ ।
गत चैत ११ गतेबाट लगाइएको लकडाउन (बन्दाबन्दी) यही साउन ७ गतेबाट हटाइएपछि अब कोरोना भाइरसको संक्रमण त्यति हुँदैन भन्ने विश्वास रहेको थियो, तर हालको अवस्था हेर्दा उक्त विश्वासमा ठेस लागेको छ । यसको प्रमुख कारण कर्मचारी र आम नागरिकको लापरवाही पनि हो । उपत्यकाका तीनै वटै प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट समेत जनताको नियमित हुने कार्यहरु अनिश्चित कालीन रुपमा स्थगित गरिएका छन् । नयाँ नागरिकता जारी गर्ने कार्य अत्यन्त महत्वपूर्ण कार्य हो । ती तीन निकायले यो कार्य हाललाई स्थगित गरेका छन् । नागरिकता प्रतिलिपि वितरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरणलगायतका कार्यहरु पनि अब स्थगित हुन पुगेका छन् । यस्ता कार्यहरु पनि सर्वसाधारण जनताका लागि अति नै महत्वपूर्ण छन् । यस्ता कार्य रोकिएपछि सर्वसाधारणले केही न केही दुःख पाउने नै भएका छन् । यसैगरी मालपोतलगायतका सधैं भीड हुने निकायका कार्य पनि अव अनिश्चित कालका लागि स्थगित भएका छन् । सरकारले ‘लकडाउन’ नै भनेर स्पष्ट रुपमा घोषणा नगरेको भएपनि हालको स्थितिलाई हेर्दा सरकारी निकायहरु अब यही साउन ७ गतेभन्दा अघिको अवस्थामा पुगेको स्थिति छ । त्यतिबेला पनि जनताको काम काज हुनसकेको थिएन भने हाल पनि त्यस्तै अवस्था भएको छ । संघ, प्रदेश र स्थानीय तहका अधिकांश कार्यालयहरु अब कामविहीन अवस्थामा पुगेका छन् ।
सामाजिक दूरी कायम गर्दा र मास्क लगाएर हिंड्दा कोरोना भाइरस सर्ने सम्भावना ज्यादै कम हुन्छ भन्ने बारेमा सर्वसाधारण जनतालाई पनि थाहा नभएको होइन । सरकारी निकायमा काम गर्ने कर्मचारीलाई यसबारेमा झन् बढी थाहा भएको कुरा हो । तर, यो सत्य जान्दाजान्दै पनि लापरवाहीबाट संक्रमण बढ्दै गएको हो भन्ने बारेमा बुझ्न अब ढिलाइ गर्न हुँदैन । सबैभन्दा ठूलो गल्ती कसरी कोरोना भाइरसको संक्रमण हुन्छ भनेर जान्दाजान्दै पनि त्यसमा होसियारी नभएर लापरवाहीबाट नै भयावहको स्थिति उत्पन्न भएको हो भन्नेमा आशंका छैन । सामाजिक दूरी कायम गरेर पनि काम सम्पन्न गर्न सकिन्छ भनेर सधैं सम्झन आवश्यक भइसेको छ । भीडभाडमा जाँदा नाकमुख छोपिने गरी माक्स लगाउने तर जनताको काम गर्न भने नरोक्ने नीति अख्तियार गर्नुपर्छ । हरेक निकायमा स्यानिटाइजर राखिएको छ । दश सेकेन्ड समय खर्चेर त्यसलाई प्रयोग गरौं । अनि भयावहको स्थिति हुँदैन कि !

प्रतिक्रिया दिनुहोस्