काठमाडौँको ‘कोटाल टोल’ सिल : प्रहरीमा कोरोना संक्रमण



काठमाडौँ । काठमाडौँ महानगरपालिका–५ स्थित कोटाल टोलमा कोरोना सङ्क्रमण बढेपछि त्यस क्षेत्रलाई आज सिल गरिएको छ । महानगरपालिका वडा नं ५ का अध्यक्ष रमेश डङ्गोलका अनुसार प्रहरीसहित स्थानीयवासीमा कोरोना सङ्क्रमण देखिएपछि टोललाई नै सिल गरिएको जानकारी दिनुभयो । प्रहरी टोली नै तैनाथ गरी अहिले सो क्षेत्रमा आवागमनसमेत बन्द गरिएको छ ।

केही दिनअघिको परीक्षणमा यहाँ प्रहरीसहित उनको परिवारका पाँच जनामा कोभिड–१९ देखिएको थियो । त्यसपछि परीक्षण गर्दा घरभेटीलाई कोरोना पोजेटिभ देखियो । समुदायका २५ जनाको परीक्षणमा अन्य थप छ जनालाई समेत कोभिड–१९ पुष्टि भएपछि टोललाई सिल गर्नु परेको उहाँले बताउनुभयो ।

डङ्गोलले आफ्नो नेतृत्वमा रहको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकबाट थप आवश्यक निर्णय गरिने जानकारी दिनुभयो । सोही टोलमा बस्ने केही व्यक्ति काठमाडौँको कपनमा पुगेको र उनीहरुको परीक्षणमा समेत कोभिड–१९ देखिएको उहाँले बताउनुभयो ।

पछिल्लो समयमा काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण बढ्दो क्रममा छ । शुक्रबार मात्रै उपत्यकामा १०० भन्दाबढीमा कोभिड–१९ सङक्रमण भएको थियो । सङ्क्रमण बढेपछि अहिले उपत्यका प्रवेशमा कडाइ गरिएको छ भने सङ्क्रमित क्षेत्रमा विशेष निगरानी गरिएको छ ।

उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सेवा बन्द गरेका छन् । काठमाडौँ उपत्यकामा अहिलेसम्म झण्डै एक हजार व्यक्तिमा कोरोना देखिइसकेको छ । सय भन्दाबढी स्थानमा कोभिड–१९ देखिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्