थाहानगरको कोरोना खर्च दैनिक पारदर्शी



न्युज अफ नेपाल,हेटौंडा ।

कोरोना महामारीका बेला संघीय सरकारले गरेको खर्चको विवरणबारे विवाद उत्पन्न भइरहेको बेला उत्तरी मकवानपुरको थाहानगरले भने कोरोना (कोभिड–१९) व्यबस्थापनका क्रममा भएको आम्दानी/खर्चको हिसाब प्रत्येक दिन सार्वजनिक गर्ने गरेको छ ।

दैनिक हिसाबसहित कोभिड–१९ व्यबस्थापनसम्बन्धी सम्पूर्ण विवरण दैनिकरुपमा सार्वजनिक गर्दैआएको थाहानगर देशको एकमात्र स्थानीय तह हो । थाहाले नगद आम्दानी र खर्चको मात्र हिसाब सार्वजनिक नगरी जिन्सीरुपमा प्राप्त आम्दानीसमेत सार्वजनिक गर्ने गरेको नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिनुभयो ।
नगरपालिकाको वेबसाइट र स्थानीय सञ्चारमाध्यमबाट दिनहुँ हिसाब सार्वजनिक गर्ने गरेको नगर प्रमुख लवशेर बिष्टले बताउनुभयो ।

‘आर्थिक सुशासन र पारदर्शिताका लागि यसो गरेका हौं,’ नगर प्रमुख बिष्टले भन्नुभयो ।नगरपालिकाले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नगरको विपद् व्यबस्थापन कोषमा हालसम्म ५८ लाख ९३ हजार ९ सय १४ जम्मा भएकोमा खर्च गरेर १३ लाख २२ हजार बचत छ ।

विपद् व्यबस्थापन कोषबाट कोभिड–१९ व्यबस्थापनमा ४५ लाख ८१ हजार ८ सय ९२ रुपियाँ खर्च भएको थाहानगर कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समिति सचिवालय प्रमुख विवेक बिंडारीले जानकारी दिनुभयो ।
चैत दोस्रो साता बसेको नगरपालिका बैठकले कोभिड–१९ व्यबस्थापनका लागि विपद् व्यबस्थापन कोषमा नगरका तर्फबाट ४० लाख जम्मा गरेको थियो । बागमती प्रदेश सरकारले पठाएको १२ लाख पनि सोही कोषमा राखिएको छ ।

नगरपालिकाले हालसम्म कोभिड–१९ व्यबस्थापनअन्तर्गत् स्वास्थ्य संस्था तथा क्वारेन्टाइनका लागि आबश्यक औषधि, उपकरण, क्वारेन्टाइनका लागि खाद्यान्न, भाँडाकुँडा, सरसफाइ सामग्री, स्वास्थ्य परीक्षण, यातायात र पैदलयात्रीको रसदपानी आदिमा खर्च गरेको छ ।

सरकारलाई बेरुजु फछ्र्यौट गर्ने विषय निकै कठिन हुँदै आएको बेला थाहानगर आर्थिक अनुशासनमा देशमा उत्कृष्ट भएर पुरस्कृत भएको थियो । आर्थिक वर्ष २०७४/०७५ सम्मको बेरुजु अंकको ९६.०६ प्रतिशत फछ्र्यौट गरेकोमा थाहानगरलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुरस्कृत गरेको छ ।

आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षणबाट २.५४ प्रतिशत बेरुजु कायम गरी सर्वोत्कृष्ट कार्य गरेको ठहरसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थाहा नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको हो । बेरुजु फछ्र्यौट कार्ययोजना र मार्गदर्शनअनुसार उक्त कार्यमा सहभागी कर्मचारीलाई प्रशंसापत्रसहित १० हजारले पुरस्कृत गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्