पनौतीको सुब्बागाउँमा मुक्तिनाथ मन्दिर



मोतीराम तिमल्सिना,काभ्रे ।

२०७४ सालमा मन्दिर स्थापना गर्ने सपना बोकेर शुरु भएको पनौती नगरपालिका वडा नम्वर ५ सुब्बागाउँको मुक्तिनाथ मन्दिर निर्माणको अन्तिम चरणमा पुगेको छ । ‘मन्दिरको पूर्वाधार निर्माण सम्पन्न भए लगत्तै प्राणप्रतिष्ठा गरेर बैदिक विद्यी अनुसार नियमित पुजा शुरु हुनेछ’–मन्दिर निर्माण ब्यवस्थापन समितिका अध्यक्ष गोपालबहादुर थापाले भन्नुभयो ।

‘मुस्ताङ जिल्लामा रहेको मुक्तिनाथ मन्दिर पछिको विधि अनुसार धामको रुपमा स्थापना गर्न लागिएको यो दोश्रो मन्दिर रहेछ’–अध्यक्ष थापाले भन्नुभयो–‘तीन तल्ले यो मन्दिरमा प्राण प्रतिष्ठासँगै दुई वटा पाटी, १०८ धारा, महिला पुरुषका लागि अलग अलग चेन्जिङ्ग रुम, बाथरुम, बहुउदेश्यि भवन, मन्दिर प्रवेशद्धार, प्रवेशद्धारबाट मन्दिरसम्म जाने सिँढी, वरिपरी वाल सहितको कम्पाउण्ड निर्माण हुनेछ ।’

मन्दिर भित्र प्रवेश गरे लगत्तै भक्तजनहरुको मनमा उत्पन्न हुने आनन्दका लागि धमाधम निर्माण कार्य भईरहेको छ । २०७७ भित्र सम्पन्न गरी प्राण प्रतिष्ठासँगै संचालनमा ल्याउने तयारी गरिएको अध्यक्ष थापाले बताउनु भयो । आउँदो वर्ष हुने पनौतीको १२ वर्षे मकर मेलामा देशभरका झत्तजनहरुको सहभागिता रहँदा मुक्तिनाथ मन्दिरको दर्शनका लागि सहज बनाउने गरी तयारी गरिएको छ ।

दाताहरुको सहयोग, स्थानीय सरकार पनौती नगरपालिका, प्रदेश सरकारको समेत सहयोगमा धमाधम निर्माण भईरहेको मन्दिरका लागि रकम अभाव टार्न दाताहरुको सक्रियता छ । मन्दिर निर्माणका लागि दाताहरुले विभिन्न क्षेत्रबाट सहयोग पु¥याउन सक्ने अध्यक्ष थापाले बताउनु भयो ।

बृहत्त योजना

पनौती नगरपालिकाले चालु आर्थिक वर्षका लागि २५ लाख रकम विनियोजन गरेको छ । उक्त रकमबाट मन्दिरसँगै बहुउदेश्यिय भवन निर्माण गर्ने अध्यक्ष गोपालबहादुर थापाले बताउनु भयो । ‘मन्दिरसँगै निर्माण हुने बहुउदेश्यिय भवनमा साँझको समयमा भजन किर्तन गर्न सकिने छ भने दैनिक एक घण्टा प्रवचन गरिने छ’–अध्यक्ष थापाले भन्नुभयो–‘मन्दिरमा आयोजना हुने विवाह, व्रतवन्ध तथा अन्य धार्मिक कार्यमा सहभागि हुने ब्यक्तिहरुको सहजताका लागि भवन बहुउपयोगि हुनेछ ।’

भवनमा मुक्तिनाथ धामको पुजाको विधी गर्न सक्ने आचार्य पण्डीतका लागि स्थायी बसोबासको ब्यवस्था गरी मन्दिरको नित्य पूजा गरिने योजना बनाईएको छ । स्वामी कमलनयानाचार्यद्वारा शुभारम्भ गरिएको मुक्तिनाथ मन्दिरमा बृहत्त योजना सहितको निर्माण कार्य शुरु गरिएको हो ।

१०८ धारा निर्माण गरी मुक्तिनाथ धामको सपना पुरा गर्ने योजनामा सुब्बागाउँका स्थानीयहरु, सिङ्गो पनौतीबासी र जिल्लाका विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भईरहेको उहाँले बताउनु भयो । झण्डै ९० लाख खर्च भईसकेको उक्त मन्दिर निर्माणका लागि अझै २५ लाख खर्च हुने अनुमान गरिएको छ ।

मन्दिर निर्माणको बाँकी कार्य सम्पन्न गर्न दाताहरुले रकम उपलब्ध गराएका छन् । पछिल्लो समय केहि रकम जम्मा भएको छ भने खातामा १० लाख भन्दा धेरै रकम बचत छ । नगरपालिकाबाट प्राप्त हुने २५ लाख रुपैयाबाट बहुउदेश्यिय भवन निर्माण गरिनेछ । मन्दिर निर्माणका लागि प्रदेश तहबाट २५ लाख रुपैया उपलब्ध भएको छ । अन्य थुप्रै ब्यक्तिहरुले मन्दिर निर्माणका लागि सहयोग उपलब्ध गराएका छन् ।

निरन्तर समाज सेवामा

साविक सुब्बागाउँ गाविस निवासी गोपालबहादुर थापाको पेशा नै समाज सेवा हो । सामुदायिक बन, रेडक्रस लगायतका क्षेत्रमा कृयाशिल थापा साविक सुब्बागाउँ गाविसका अध्यक्ष, पनौती नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो ।

विभिन्न क्षेत्र मार्फत थापाले सामाजिक अभियानमा आफुलाई निरन्तर कृयाशिल बनाई रहनु भएको छ । गम्भिर प्रकृतिको रोगसँग लडिरहनु भएका थापाको ईच्छाा नै मन्दिरको निर्माण कार्य सम्पन्न गरी प्राण प्रतिष्ठा गर्नु हो । त्यसका लागि थापाले सहयोगि दाताहरुसँग मन्दिरका लागि आवश्यक पर्ने रकम तथा अन्य सामाग्री जुटाउन कृयाशिल रहनु भएको छ । मुस्ताङ्ग जिल्लामा रहेको मुक्तिनाथ मन्दिर पुग्न नसक्ने भक्तजनहरुका लागि सुब्बागाउँमा रहेको मन्दिरमा आउने गरी मन्दिर निर्माण गर्न लागिएको थापाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्