पर्वतको पाङमा एक हप्तादेखि सलहको बास,कृषकलाई बाली जोगाउने चिन्ता

बागलुङका होटलमा प्रति प्लेट २०० रुपैयाँमा बिक्री हुँदै



दुर्गाप्रसाद शर्मा,पाङ, पर्वत ।

पर्वतको कुस्मा नगरपालिका वडा नं १ पाङमा एक हप्तादेखि सलह किराले धान र कोदोबाली सखाप बनाएको छ । पाङका कृषकलाई बिहान देखि साँझ सम्म धान र कोदो जोगाउन हम्मे परेको बेला त्यही सलह किरालाई छिमेकी बागलुङ सदरमुकाममा रहेका होटलहरुले परिकार बनाएर बेचिरहेका छन ।

पाङमा एक साता देखि सलहले धान र मकै तथा तरकारी र फलफुल खेतीमा ठुलो क्षति पु¥याएको वडा अध्यक्ष देबेन्द सबुेदीले बताउनुभयो । नुवार लगायतका क्षेत्रमा बढी क्षति भएको छ । बारीमा लगाएको कोदो सकिन थालेको छ भने धानखेतमा पनि हरियो बन्न लागेको धान जोगाउन गाह्रो छ ।

‘यो ठाउँमा सलह धपाएरै सकिएको छै, कृषकहरुले दिनदिनै गुनासो गरिरहनुभएको छ।’
स्थानियबासीहरु पनि धानबाली र कोदोलाई कसरी जोगाउने भेनर चिन्तामा छन । स्थानिय बिज्ञान मल्ल वडा अध्यक्ष सुबेदीलाई सलह मार्नका लागि बिषादी छर्कन आग्रह गर्दै हुनुहुन्थ्यो । थाल ठटाउने, परिवारै लागेर लखेट्ने काम गर्दा पनि सलह भागेको छैन ।

उल्टै धान र कोदो सकिन लागेको उहाँको चिन्ता छ । अहिले मकै रहेको तथा कोदो र धान हुर्कने समय भएकाले त्यही खान सलहको ठुलो झुन्ड केही दिनदेखि पाङमा बसिरहेको छ ।
२००४ र २००७ सालमा यहाँ सलहले क्षति पु¥याएको थियो ।

२००४ सालमा सलह आउँदा आकाशमा सुर्यको प्रकाश समेत छेक्ने गरिएको आएको र तीन जना लाग्दा समेत एउटा गह्रामा लगाएको धान जोगाउन गाह्रो परेको बृद्धहरुको अनुभव छ । वडा अध्यक्ष सुबेदीले सलह मार्नका लागि गण्डकी प्रदेशको भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयमा पनि खबर गरेको जानकारी गरानुभयो ।

पाङका कृषकलाई सलहबाट बाली जोगाउने पिरलो परेका बेला छिमेकी बागलुङका होटलका लागि आवश्यक सलह टिप्न बागलुङका बालबालिकाहरु पर्वतको कुरुमा नगरपालिका –१ स्थित पाङसम्म आउने गरेका छन्।

कोरोनाको जोखिमका कारण विद्यालय बन्द रहेकाले केही बालबालिकाहरु सलह टिप्न छिमेकी जिल्लासम्म आउने गरेका छन । होटलहरुले पिउनेपानीको बोतलभरि सलह लिएर जाने बालबालिकालाई १०० रुपैयाँ दिने गरेका छन्। पाङमा सलह छोप्दै गरेका एक बालकले सलह बेचेर ९ सय जम्मा गरिसकेका सुनाए । ‘सलह बेचेर आएको पैसा ममी –आमा)लाई राख्न दिएको छु, विद्यालय खुलेपछि कापीकलम किन्न काम लाग्छ’

‘बागलुङका होटेलमा सलहको बिक्री राम्रै भएको जस्तो लाग्यो’ कुस्मा–१ का वडा सदस्य वीरेन्द्र रिजाल (खगेन्द्र)ले भन्नुभयो ‘बागलुङ र पाङ जोड्ने गरी हालै मात्र सञ्चालनमा आएको लामो पुल तरेर बागलुङबाट बच्चाहरु बोतल र बोरा बोकेर आएका देखिन्छन’ बागलुङ बजारमा बस्ती बाक्लो भएको र खाद्य बाली नलगाइएका कारण बालबालिकाहरु सलह समात्न पर्वतको पाङसम्म आउने गरेको उहाँले बताउनुभयो ।

सलह छोप्न गाउँ र सहर दुवै ठाउँका बालबालिकाहरु पाङमा जम्मा हुने गरेका छन् । बालबालिकाले जम्मा गरेको सलह बजार क्षेत्रमा रहेकाहरुले होटलहरुमा बिक्री हुने गरेको र गाउँ क्षेत्रमा रहेका कतिपयले भुटेर खाने गरेका छन्। पर्वतस्थित कुस्माका होटलहरुमा फ्राई गरिएको एक प्लेट सलह खान २०० रुपैयाँसम्म तिर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्