किसानलाई थुनेलो नियन्त्रणको औषधी



अमृत अर्याल, स्याङजा ।

स्याङ्जाको गल्याङ नगरपालिकाका विभिन्न स्थानमा किसानहरुलाई थुनेलो नियन्त्रणका लागि औषधी वितरण गरिएको छ । गल्याङ नगरपालिका पशु शाखाको आयोजनामा गाई तथा भैसी पालक किसानहरुलाई थुनेलो नियन्त्रणका लागि औषधी वितरण गरिएको हो ।

गल्याङ नगरपालिका वडा नम्बर १ र २ मा गाई पालन गरिरहेका किसानहरुलाई थुनेलो नियन्त्रणको औषधी वितरण साथै पछिल्लो समय गाईमा देखिएको रोगको बारेमा सचेतना पनि जगाइएको छ । नेपालका विभिन्न स्थानहरुमा देखिएको लम्की स्किन डिजीज रोगबारे किसानहरुलाई पशु चिकित्सक तथा प्राविधिकहरुबाट जानकारी गराइएको हो ।

गल्याङ नगरपालिका वडा नम्बर २ बटुवामा रहेको जनकल्याण दुग्ध संकलन केन्द्रमा भएको कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले दुध उत्पादनलाई अझै बढाउन यो औषधी प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले जनकल्याण दुग्ध संकलन केन्द्र गल्याङ नगरपालिकाकै सबैभन्दा धेरै दुध उत्पादन गर्ने केन्द्रको रुपमा विकास भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा नगरपालिकाबाट अझै सहयोग हुने प्रतिबद्वता जनाउनुभयो । किसानहरुलाई दुध उत्पादनमा अझै जोड दिन आग्रह गर्दै उहाँले नगरपालिका सधैं किसानको साथमा रहेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत पाण्डेले पशुमा लाग्ने रोगहरु देखिएमा नगरपालिकामा तुरुन्तै खबर गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा गल्याङ नगरपालिका पशु शाखा प्रमुख सुशिल अर्यालले नेपालभर दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानको व्यवस्था गल्याङमा मात्रै भएको भन्दै यसको सदुपयोग गर्न किसानहरुलाई आग्रह गर्नुभयो । उहाँले किसानलाई जुनसुकै समस्या परेमा पनि तत्काल खबर गर्न आग्रह गर्दै आफुहरु सधैं किसानको साथमा रहेको बताउनुभयो । जनकल्याण दुग्ध संकलन केन्द्रमा गएको आर्थिक वर्षमा झण्डै १६ लाख रुपैयाँ अनुदान आएको जानकारी दिदै उहाँले आगामी दिनमा अनुदान रकम अझै बढाउने गरी काम गर्न आग्रह गर्नुभयो । भैंसीमा भन्दा गाईमा थुनेलोको समस्या बढि हुने गरेको भन्दै उहाँले औषधीको सही प्रयोग गरेमा थुनेलो पूर्ण रुपमा नियन्त्रण हुने बताउनुभयो ।

गल्याङ नगरपालिकाका पशु चिकित्सक अनिस सापकोटाले औषधी प्रयोगको तरिकाबारे जानकारी गराउनुभएको थियो । साथै उहाँले पछिल्लो समय गाईमा लम्की स्किन डिजिज रोगबारे जानकारी दिदै रोगबाट गाईलाई जोगाउने भूमिका खेल्न आग्रह गर्नुभयो । संस्थाका अध्यक्ष भिम भण्डारीले नगरपालिकाको सहयोगका कारण बटुवाका किसानहरु उत्साहित हुँदै गएको बताउनुभयो ।

कार्यक्रममा थुनेलो नियन्त्रणका लागि तीन महिनाका लागि पुग्ने औषधी वितरण गरिएको थियो । यस्तै, वडा नम्बर १ मालुङ्गामा रहेको विन्धबासिनी पशुपालन केन्द्र तथा न्यौपाने पशुपालन फर्मलाई पनि औषधी वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्