मकवानपुरका थप ६ जनामा कोरोना, जिल्ला आउन र जान रोक



न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरमा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा परीक्षण गर्दा भीमफेदीका ४० वर्षका पुरुष, हेटौंडा–५ का ५५ वर्षका पुरुष, हेटौंडा–६ की ३२ वर्षीया महिला, हेटौंडा–८ का ४० वर्षका पुरुष, हेटौंडा–९ का ५८ वर्षका पुरुष र ४० वर्षका नेपाल प्रहरीमा कार्यरत् एक पुरुष रहेको कोरोना आइसोलेसन वार्ड हेटौंडा प्रमुख भोलाप्रसाद चौलागाईंले बताउनुभयो । उनीहरुलाई कोरोना आइसोलेसन वार्ड ल्याइएको उहाँले बताउनुभयो ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले छिमेकी जिल्लाबाट मकवानपुरभित्र आउन र जान रोक लगाएको छ । जिल्लाभित्र रहेका उद्योग, कलकारखाना, व्यबसाय आदिमा अन्य जिल्लाबाट श्रमिक, कामदार तथा सरकारी तथा निजी कार्यालयका कर्मचारीलाई आउनजान रोक लगाइएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनुभयो ।

प्रशासन कार्यालयमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यबस्थापन केन्द्रको बैठकले साउनसम्म मकवानपुरबाट अन्य जिल्ला र अन्य जिल्लाबाट कर्मचारीदेखि श्रमिक÷कामदार आउनजान रोक लगाउने निर्णय गरेको हो ।

कोरोना संक्रमणको दर बढिरहेको अबस्थामा बागमती प्रदेशको सदरमुकाममा भने स्वास्थ्य सुरक्षाको न्यूनतम् मापदण्ड पालना नगरिएको सर्वसाधारणको गुनासो छ । लकडाउन हटेसँगै कोरोना संक्रमण दैनिक सय बढी थपिइरहेका जिल्लाबाट धेरै सर्वसाधारण जिल्ला प्रवेश गरिसकेको अबस्थामा पनि मापदण्डपालना नभएको हो ।

हेटौंडा बजारमा अधिकांश सर्वसाधारण मास्कबिना नै हिँडडुल गर्ने गरेका छन् । व्याबसायिक क्षेत्रमा पनि भौतिक दुरी, स्यानेटाइजरका कुरामा त्यति ख्याल नगरिएको सर्वसाधारणको अनुभव छ । सर्वसाधारणले कोरोना जोखिम रोक्न अपनाउनुपर्ने स्वास्थ्य सावधानी अपनाउन र सोहीअनुसार मापदण्डपालना गर्न व्याबसायिक एवम् अन्य क्षेत्रले पनि उदासिनता देखाउन थालेपछि कडाइ गर्ने प्रशासनले निर्णय गरेको छ ।

शुक्रबार विहान भएको जिल्ला कोभिड–१९ संकट व्यबस्थापन केन्द्रको बैठकले मापदण्डपालना नगर्नेलाई कारबाही गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

बैठकले हेटौंडा बजार क्षेत्रमा मानिसको भिड बढेको हुँदा बजार क्षेत्रमा स्वास्थ्य तथा सुरक्षाका न्यूनतम् मापदण्ड पूरा भए/नभएको प्रभावकारी अनुगमन गर्ने र मापदण्डपालना नगर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ ।

बजार क्षेत्रमा मापदण्डपालना गराउन मकवानपुर उद्योग वाणिज्य संघले नियमितरुपमा सूचनामूलक सन्देश माइकिङ गराउने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्