घाँस खान तयार छु, सेनाको बजेट बढाउनुपर्छ : शोएब अख्तर



एजेन्सी ।

पाकिस्तानी क्रिकेट टिमका पूर्व तेज बलर शोएब अख्तर आफ्नो समयमा विस्फोटक बलिंगका कारण चर्चित थिए । तर, अहिले उनी आफ्नो बोलीका कारण पनि चर्चित बन्न थालेका छन् । शोएब अख्तरले हालसालै देशको सेनाको बजेट बढाउन आफू घाँस खान समेत तयार रहेको अभिब्यक्ति दिएका छन् ।

पाकिस्तानी न्यूज च्यानललाई दिएको एक अन्तवार्तामा शोएब अख्तरले भने,–“यदि अल्लाहले मलाई सशक्त बनायो भने म आफैं घाँस खान सक्छु, तर सेनाको बजेट बढाउनेछु ।“ क्रिकेट इतिहासमा सबैभन्दा तेज बलर मानिने अख्तरले नागरिक क्षेत्रले सशस्त्र सेनासँग मिलेर काम गर्न नसक्नुको कारण नबुझेको बताए ।

रावलपिन्डी एक्सप्रेस नामले परिचित बलर अख्तरले भने,–“ यदि सेनाको बजेट २० प्रतिशत छ भने म यसलाई ६० प्रतिशत बनाउन सेना प्रमुखलाई सल्लाह दिनेछु । यदि हामी एक अर्कालाई अपमान गर्छौ भने नोक्सानी हाम्रै हो ।“ अख्तरले आफ्नो देशको रक्षाका लागि गोली हान्न समेत तयार रहेको भनेका छन् । उनले सन् १९९९ को कारगिल युद्धमा भारतबिरूद्ध युद्धमा समेत जान चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस्