टमाटरबाट राम्रो आम्दानी भएसँगै अन्य खेती विस्थापित



टंकराज अधिकारी, पोखरा ।

टमाटर खेतीबाट राम्रो आम्दानी हुन थालेपछि कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ पाउँदुरस्थित रानीथोकका स्थानीयवासी धान र कोदोलगायतका अन्नबाली छोडेर टमाटर खेतीमा लोभिन थालेका छन् ।
अन्य अन्नबालीको तुलनामा टमाटर खेतीबाट आठ गुणा बढीसम्म आम्दानी गर्न सफल भएपछि टमाटर खेतीमा किसानहरूको आकर्षण बढेको हो ।

पाउँदुर रानीथोककी कमला पौडेलले गतवर्ष लगाएको टमाटरबाट दुई लाख ४० हजार रुपैयाँसम्म आम्दानी भएको सुनाउनु भयो ।

‘धान, मकै र कोदोको खेतीबाट त खासै आम्दानी हुन्न, खान पनि हम्मेहम्मे पर्छ तर टमाटर खेतीबाट मनग्गे आम्दानी पाएकी छु’ पौडेलले भन्नुभयो । परिवारकै सहयोगमा गर्न सकिने टमाटर खेती अन्य खेतीभन्दा सहज रहेको अनुभव पौडेलको छ । उहाले मौसम अनुसारका तरकारीसँगै पछिल्ला समयमा बजारमा राम्रो माग बढीरहेका किवी, भुइँस्याउ जस्ता फलफूलको खेती समेत थाल्नुभएको छ ।

पौडेल १ जना उदाहरणीय पात्र मात्र हुनुहुंछ। उहाँसँगै सो वडाका २ दर्जनबढी परिवारले धानखेत तथा कोदोबारी मासेर टमाटर खेती गरेका छन् । आफ्नै सीप र अनुभवबाट टमाटर खेती थालेका त्यहाँका किसानहरूलाई तालिमको आवश्यकता रहेको कमला पौडेलले बताउनु भयो ।

कृषिको आधुनिकीकरणमा ध्यान दिदै करिब दुई रोपनी क्षेत्रफलमा टनेल निर्माण गरी त्यहाँ लगाइएका गोलभेंडाले राम्रो उत्पादन दिन थालेको र त्यही अनुरुप बजारको माग पछि बढेपछि आँफूहरूमा झनै उत्साह बढेको उहाँका श्रीमान नारायणप्रसाद पौडेल बताउनु हुंछ।

आफ्नो १७ वर्षसम्मको विदेश बसाइका क्रममा कृषि क्षेत्रका देखाई भोगाई समेतलाई व्यवसायिक कृषिमा उपयोग गर्ने गरेको उहाँले बताउनुभयो ।

“विदेशको बसाईका क्रममा पनि त्यहाँबाट विभिन्न जातका विउ ल्याएर लगाउने गरेका थियौं, उहाँले भन्नुभयो, “कतारबाट ल्याएको बिउबाट तयार गरिएका बिरुवामा एउटै गोलभेंडा झण्डै आधा किलोसम्म फल्न थालेको छ ।”

पौडेल दम्पतिले एक रोपनी क्षेत्रफलमा चार बर्ष अघि देख़ि किबी खेती पनि सुरु गर्नुभएको र यसै वर्षदेखि फल्न थालेको छ । परीक्षणकै लागि रोपिएको किवीले प्रशस्त फल दिएसँगै फल कुहिएर झरेकोमा चिन्ता प्रकट गर्नु भयो।

किवी खेतीका बारेमा सुन्दै आए पनि खेती सफल हुन्छ भन्ने लागेकै थिएन, अहिले राम्रो फलेको देख्दा खुशी लागेको बताउनुभयो । प्राविधिक ज्ञानको कमी भएकोले गाउँपालिकाले किवी खेतीसम्बन्धी तालीम सञ्चालन गरी किसानलाई थप प्रोत्साहन गर्न अनुरोध गर्नु भयो ।

कमलाका अनुसार आठ वर्ष अघिसम्म यो ठाउँमा गोलभेंडा लगाउने भन्दा सबै हाँस्ने गर्दथे । सुरुमा आँफू सहित चार जना महिलाले आँट गरेर गोलभेंडा लगाएको र त्यसबाट राम्रो उत्पादन भएपछि यहाँका धेरै सर्वसाधारणले यतिखेर यसको खेती थालेका छन् ।

जीवन उपयोगी कृषक समूह गठन गरी पहिलो वर्ष चार जनाबाट सुरु गरिएको गोलभेडा खेती राम्रो उत्पादन भएसँगै दोस्रो वर्ष यहाँका २० घरपरिवारले घरघरमा गोलेभंडा लगाएको उहाँले जानकारी दिनुभयो ।
गोलभेंडाबाटै वार्षिक डेढदेखि दुई लाख रुपैयाँसम्म आम्दानी हुने गरेको जानकारी दिदै उहाँले व्यवसायिक कृषिबाट घरपरिवारको दैनिकी सञ्चालनका साथै छोराछोरीको पठनपाठन राम्रैसँग चलेको जानकारी दिनुभयो ।

उत्पादित गोलभेंडा एवम् तरकारीको बजारलाई समस्या नभएको बताउँदै उहाँले टनेलबाट दुई दिनमा करिब ५० किलोसम्म बिक्री गर्ने गरेको उल्लेख गर्नुभयो । उत्पादित तरकारी खोज्दै ग्राहकहरू डोको लिएर घरघरमा नै आउने गरेको उहाँको भनाइ छ ।

पौडेलको बारीमा गोलभेंडाका साथै मौसम अनुसार काउली, बन्दा, आलु, सागका साथै घिरौंला, लौका, काँक्रा आदिको पनि राम्रो उत्पादन हुने गरेको छ । व्यवसायिक कृषिमा लागेको आठ वर्ष पुगे पनि पौडेल दम्पतिले हालसम्म राज्यबाट कुनै सेवा सुविधा भने पाउनुभएको छैन ।

 

परम्परागत कृषिमा पनि पाउँदुर वषैंदेखि आफ्नो पहिचान बनाएको ठाउँ हो । विगतमा कोदोको राम्रो उत्पादन हुने स्थानका रुपमा यसले छुट्टै पहिचान बनाएको थियो ।

अनिकालका समयमा पनि पाउँदुरे कोदो कास्कीका विभिन्न स्थानमा पुग्ने गरेको र त्यही कुरामा आधारित भै ‘दुःखको पाउँदुर’ भन्ने उखान प्रचलनमा रहेको पाइन्छ । पहिला पहिला एउटै घरमा वार्षिक सात आठ मुरीसम्म कोदो उत्पादन हुने गरेको भएपनि पछिल्ला समयमा जनशक्तिको अभाव, कोदो खेतीप्रतिको अनिच्छा लगायतका कारण कोदो खेती प्रतिको आकर्षण घट्दै गएको छ ।

“पहिला कोदोको उत्पादन राम्रै हुन्थ्यो त्यस समयमा ढिडो, रोटी खाँदा पनि लुकाएर खानुपर्ने अवस्था थियो,” पौडेलले भन्नुभयो, “अहिले उत्पादन एकदमै कम छ, कोदोको माग दिनानुदिन बढ्दो छ ।”

कृषि प्रतिको व्यवसायिकता बढेसँगै पछिल्ला समयमा महिला क्षमता अभिबृद्धि कार्यक्रम मार्फत यहाँका १४ जना महिला मिलेर सामूहिक कुरिलो खेती थालेका छन् । यसै वर्षदेखि कुरिलोले राम्रो उत्पादन दिन थालेको कमलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्