बेललाई ड्रप गरियो



मेड्रिड, (एजेन्सी)
म्यानचेस्टर सिटीविरुद्धको च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लिगका लागि रियल मेड्रिडको टोलीबाट गेरेथ बेललाई ड्रप गरिएको छ।

जिनेदिन जिदानको नेतृत्वमा रहेको रियल मेड्रिडले २४ सदस्यीय टोलीको नाम सार्वजनिक गर्दा बेललाई टोलीमा समेटिएको छैन। खेल आज राति हुँदै छ। पहिलो लिगमा सिटीले २–१ ले जितेको हुँदा सिटीका लागि बराबरी नतिजा नै अर्को चरणमा पुग्न पर्याप्त हुनेछ। पाहुना टोली मेड्रिडका लागि भने जित नै आवश्यक रहेको छ। तर, जितका २–० को आवश्यक छ।

कोरोना भाइरसको महामारीका दौरान आफ्नो लयमा फर्किएको फुटबलमा बेलले मेड्रिडले खेलेको ११ मध्ये २ खेलमा मात्रै खेल्न पाएका छन्। ३१ वर्षीय वेल्स स्टार सन् २०१३ मा टोटनह्यामबाट मेड्रिडमा ८५ मिलियन पाउन्डको विश्व कीर्तिमानी रकमसहित अनुबन्ध भएका थिए। उनले टोलीलाई चारपटक च्याम्पियन्स लिग उपाधि दिलाउन मद्दत गरेका थिए। उनले सन् २०१४ र २०१६ मा एटलेटिको मेड्रिडविरुद्ध र सन् २०१८ मा लिभरपुलविरुद्ध गोल गरेका थिए। लिभरपुलविरुद्धको बाइसाइकल किक आकर्षक गोल सावित भएको थियो।

बेल गत समरमा चाइनिज सुपर लिग क्लब जियांग्सु सनिङमा अवतरण गर्न लागेका थिए। स्रोतका अनुसार उनलाई साताको १ मिलियन पाउन्ड दिने तयारी भएको थियो। तर, रियल मेड्रिडले बेलका लागि शुल्क मागेपछि यो सम्झौताबीचमै तुहिएको थियो। उनले २०१९–२० को सिजनमा सबै प्रतिस्पर्धामा गरी केवल १४ खेलमा मात्र सहभागिता जनाएका छन्। यस सिजनको स्पेनी ला लिगा उपाधि जित्दा उनी बेन्चमा निदाइरहेका थिए।

प्रतिक्रिया दिनुहोस्