साइक्लिस्ट जाकोबसेन कोमामा



लन्डन, (एजेन्सी)
नेदरल्यान्डसका विजेता साइक्लिस्ट फाबियो जाकोबसेन टू डी पोल्यान्ड रेसको पहिलो स्टेजमा अन्तिम रेखा पार गर्नुअघि नै दुर्घटनाको शिकार भएका छन्। टाउकोमा चोट लागेकोले उनी कोमामा पुगेका छन्। उनलाई अन्तिम रेखा पार गर्नुअघि अर्को साइक्लिस्ट डायलन ग्रोनऐगनको साइकलले ठोक्काइदिएका थिए।

त्यसपछि जाकोबसेन छेउमा राखिएको बारियरमा ठोक्किएपछि भुइँमा बजारिन पुगेका थिए। उक्त दुर्घटनामा अन्य साइक्लिस्टहरू पनि घाइते भएका छन्। तर, सबैभन्दा बढी चोट जाकोबसेनलाई लागेको छ। उनलाई तुरुन्तै नजिकको अस्पताल लगिएको थियो।

टू डी पोल्यान्डकी डाक्टर बार्बरा जर्सकिनाले टाउकोमा गहिरो चोटका कारण स्थिति गम्भीर रहेको छ र उनलाई बचाउन हर सम्भव प्रयास भइरहेको बताएकी छन्।

रेस डाइरेक्टर जिस्ला लांगले यो दुर्घटना हुनुमा ग्रोनएगेनलाई जिम्मेवारी ठहराएका छन्। उनका अनुसार तरिका गलत थियो। ग्रोनएगेनले अन्तिम रेखाको नजिक बुझ पचाएर दिशा परिवर्तन गरेका थिए। त्यसैले जाकोबसेनसँग उनी ठोक्किए। एक खेलाडीको नाताले यस्तो गर्न नहुने उनको प्रतिक्रिया रहेको छ।

प्रतिक्रिया दिनुहोस्