सिरियल अभिनेता समीरद्वारा आत्महत्या



बलिउड फिल्म नगरीमा अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्याको शोक सेलाउन नपाउँदै अर्का चर्चित भारतीय टेलिभिजन अभिनेता समीर शर्माले आत्महत्या गरेका छन्।

उनले आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेको र प्रहरीले यसबारे छानबिनमा लागिरहेको आजतकको अनलाइनले जनाएको छ। समाचारमा जनँइएअनुसार ४४ वर्षीय अभिनेताले आत्महत्या गर्नुका कारण भने खुलेको छैन। प्रहरीले मडाल पश्चिमस्थित नेहा सीएचएस बिल्डिङमा रहेको उनको फ्ल्याटबाट सुसाइड नोट पनि फेला पारेको छ। उनले उक्त फ्ल्याट गत फेब्रुअरीमा भाडामा लिएका थिए।

समाचारमा प्रहरीलाई उद्धृत गर्दै समीरको शव भान्छाको पंखामा झुन्डिरहेको अवस्थामा भेटिएको जनाइएको छ। समीरले २÷३ दिनअघि नै आत्महत्या गरेको हुन सक्ने शंका प्रहरीले गरेको छ। किनभने प्रहरी समीरको फ्ल्याटमा पुग्दा उनको शव सड्न लागिसकेको अवस्थामा भेटिएको थियो। उनको शव चौकिदारले आफ्नो ड्युटीका क्रममा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

समीरको घर दिल्ली भए पनि पढाइ पूरा गरेपछि अभिनय गर्ने सपना बोकेर मुम्बई पुगेकाका थिए। मुम्बईमा रहेर ए रिस्ते हे प्यारकेमा काम गरिरहेका उनले कहानी घर घरकी, लेफ्ट राइट लेफ्ट, ज्योति, गीत हुई सबसे पराई, दिल क्या चाहता हे, इस प्यारको क्या नाम दुँ, आयुष्मान् भव जस्ता चर्चित टेलिसिरियल, फिल्म तथा विज्ञापनमा समेत काम गरेर आफ्नो सपना पूरा गरेका थिए भने दर्शकको मनमा बस्न सफल भएका थिए। समीरका फ्यानहरूले सामाजिक सञ्जालमा उनको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिइरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्