प्रतिकूल परिस्थितिको सामना कसरी गर्ने ?



प्रेम रावत

यतिखेरको समय निकै अप्ठ्यारो समय हो । तपाईंलाई शान्ति र आनन्द चाहिन्छ अनि ती तपाईंभित्रै छन् । समस्याहरूसँग लड्नका लागि आवश्यक पर्ने सबै थोक तपाईंसँग छन् । कुरा के मात्र हो भने, तपाईंले त्यसलाई उपयोग गर्नुपर्ने हुन्छ ।

समस्या त समस्या नै हो । समस्या त कस्तो हुन्छ भने यसले पहिला अरू कसैलाई सताइरहेको थियो, अहिले तपाईंको पछि लागेको छ । तपाईंपछि यसले अरूलाई नै दुःख दिनेछ । त्यसको काम नै के हो भने जस्तो, झिँगो हुन्छ नि– कहिले एउटालाई दिक्क लगाउँछ फेरि अर्कोतिर गएर उसलाई दुःख दिन्छ । अनि, उसलाई दिक्क लगाएपछि फेरि तपाईंकहाँ फर्केर आइपुग्छ । समस्याहरू पनि झिँगाजस्तै हुन्छन् । तर, तपाईंसँग ती समस्यालाई समाधान गर्ने कस्तो यन्त्र छ ! समाधानको अर्थ के हो भने ती समस्यालाई तपाईं आपूmदेखि छुट्टै राख्नुहोस् । केही पर राख्नुहोस्, जसले गर्दा तिनले तपाईंलाई दुःखी नतुल्याऊन् ।

एउटा कथा छ । एकजना मानिस थिए । उनी तीर चलाउने काममा एकदमै सिपालु थिए । उनी तीर चलाउँथे अनि तीर चलाउने प्रदर्शन पनि गर्दथे । उनी ठाउँ–ठाउँमा गएर आफ्नो प्रदर्शन गर्ने गर्दथे । उनी तीर चलाउँदा निशानामै लगाउँथे । त्यसपछि दोस्रो तीरले पहिलो तीरलाई चिर्दथे । उनको यो प्रदर्शनलाई देखेर मानिसले जोडले ताली बजाउँथे ।

एकदिन निकै ठूलो प्रदर्शन भइरहेको थियो । मानिसहरू एकदमै टाढा–टाढाबाट आएका थिए । उनी आफ्नो तीर चलाइरहेका थिए । दर्शकहरूले ताली बजाइरहेका थिए । उनले तीर चलाएपछि तालीको गड्गडाहट सुनिन्थ्यो । त्यत्तिकैमा पछाडिबाट कुनै आवाज आइरहेको थियो– ‘यो त अभ्यासको खेल हो ।’ जसै उनको कानमा यो आवाज पथ्र्यो, उनलाई एकदमै नराम्रो लाग्थ्यो ।

किनभने, उनले के सोच्थे भने मानिसहरू उनैलाई हेर्न आएका हुन् । उनको तीर चलाउने तरिका अत्यन्तै उत्कृष्ट थियो । उनले सोचे, मानिसहरू मेरो प्रदर्शनी हेर्नका लागि आएका छन् तर कसले बोलिरहेको छ– ‘अभ्यासको खेल हो’ । उनलाई निकै असह्य भयो ।

प्रदर्शन सकिनेबित्तिकै त्यो को रहेछ भनेर उनी खोज्न थाले, जसले भनिरहेको हुन्थ्यो– यो अभ्यासको खेल हो । पछाडि गएपछि उनले देखे– एकजना तेल बेच्ने मानिस बसेका थिए । उनको काँधमा तेलले भरिएको एउटा माटाको भाँडो अगाडि र अर्को पछाडि थियो । केही खालि बोतलहरू पनि थिए । तब तीर चलाउनेवालाले उनलाई सोधे– ‘के तपाईं नै भनिरहनुभएको थियो, ‘यो अभ्यासको खेल हो भनेर’ ?’

तेल बेच्नेले भने, ‘हजुर ।’ त्यसपछि तीर चलाउनेवालाले भने, ‘तपाईं मलाई यो कसरी अभ्यासको खेल हो भनेर भन्न सक्नुहुन्छ ? ममा क्षमता छ, त्यसैले त म तीर चलाउन सक्छु ।’ त्यसपछि तेल बेच्नेले भने, ‘पख्नुहोस्, तपाईंलाई देखाउँछु ।’ अनि, तेल बेच्नेले आफ्नो बोतललाई जमिनमा राखे । एउटा ठूलो माटाको भाँडोलाई उचालेर काँधमा राखे अनि त्यो माटोको भाँडोबाट तेल खन्याउन शुरु गरे । जुन सीधा गएर तल जमिनमा राखिएको बोतलभित्र प¥यो । उनले एक थोपो पनि त्यसबाट बाहिर पोखेनन् । त्यसपछि उनी तीर चलाउनेतिर फर्केर भन्छन्, ‘अब तपाईं गरेर देखाउनुहोस् ।’ तब तीर चलाउनेलाई महसुस भयो– वास्तवमा यो त अभ्यासको खेल हो ।

तेल बेच्ने तेलीले भने, ‘तपाईं तीर चलाउने अभ्यास गर्नुहुन्छ, त्यसकारण तपाईं त्यसैमा निपुण हुनुभयो । म बोतलमा तेल खन्याउने अभ्यास गर्छु, त्यसकारण म यसमा अभ्यस्त भएको छु । यो नै अभ्यासको महत्त्व हो ।’
यो कथाको सार के हो भने, जे काम हामी गरिरहन्छौँ त्यसमा नै हामी पोख्त बन्छौँ । यदि भयभीत हुने हाम्रो प्रकृति बन्यो भने हाम्रा अघि जे चीज आए पनि हामी डराउन थाल्छौँ । फलतः डराउने कुरामा थप अभ्यस्त हुँदै गइन्छ ।

तपाईंमा सुन्ने क्षमता छ तर डर लाग्न थालेपछि कान बन्द हुन्छ । तपाईंमा हेर्न सक्ने क्षमता छ तर जब डर लाग्छ त्यस अवस्थामा आँखा बन्द हुन्छ । तपाईंमा सोच्न सक्ने क्षमता छ तर डर लागेपछि बुद्धिले पनि काम गर्दैन । जब यी चीजहरूले काम गर्न छोड्न थाल्छन् भने कुनै बेला मानिसहरूलाई यति धेरै डर लाग्छ, उनीहरू चिच्याउन पनि सक्दैनन् । मानिसहरूलाई यति धेरै डर लाग्छ, उनीहरू बेहोस पनि हुन्छन् । जब यी सारा चीजहरूले काम गर्न छोडे भने तपाईंसँग के बाँकी रहन्छ र ! केही पनि रहँदैन । त्यसकारण डराउनु आवश्यक छैन ।

जुनसुकै समस्या भए पनि सोेचेर, विचार गरेर तपाईं अघि बढ्न सक्नुहुन्छ । मानिसका अघि जब समस्या आउँछ तब पहाड ठडिएजस्तो लाग्न थाल्छ । तर, समस्याको पहाड उसका सामु ठडिएका बेलामा मानिसले त्यो पहाडमाथिबाटै किन हिँड्नुप¥यो र ? जब तपाईंको लक्ष्य पहाडको पल्लोपट्टि जाने हो भने तपाईंले पहाडकै टुप्पोमा चढेर जानु आवश्यक छैन । तपाईं छेउतिरबाटै एकदम सजिलोसँग पनि जान सक्नुहुन्छ ।

तर, त्यसका लागि चाहे जस्तोसुकै समस्या होओस् डराउने होइन– सोच्नु, विचार गर्नु अत्यन्तै आवश्यक छ । चाहे जस्तोसुकै समस्या होओस् । एउटा समयमा समस्या थिएन । समस्या आएको छ भने जान्छ पनि । यदि तपाईंले त्यसमा परिश्रम गर्नु आवश्यक छ भने परिश्रम सोही तरिकाले गर्नुहोस् । परिणामतः त्यो समस्याको समाधान सहज तरिकाले होओस् । तपाईंसँग भएका धैर्यता, संयमताजस्ता क्षमताहरूलाई प्रयोग गरेर तपाईं आफ्ना समस्या समाधान गर्न सक्नुहुन्छ ।

जहाँसम्म परिवारको कुरा छ, परिवारसँग कमसेकम चाहे एक घण्टा नै किन नहोस्, बसेर आपसमा एक–अर्कोको हालखबर सोध्नुहोस् । जुन बोझ थाप्लामा राखेका छौँ, त्यसलाई तल राखिदिनुहोस् । किनभने, यदि तपाईं घरमा जानुभयो भने त्यसपछि त्यसको कुनै आवश्यकता छैन । त्यसपछि यदि कुनै समस्या छ भने पनि त्यसलाई समय निकालेर राम्रो तरिकाले त्यसका बारेमा कुराकानी गर्न सकिन्छ ।

मानिसहरू खाना खानका लागि सँगै बस्छन् । कहिल्यै पनि ‘प’– पोल्टिक्स (राजनीति), राजनीतिका बारेमा टेबलमा बसेर वादविवाद गर्नु राम्रो होइन । अर्को ‘प’– प्रोब्लम (समस्या), समस्याका बारेमा कुरा गर्नु राम्रो होइन । कि त चुप रहनुहोस्, कि त कसैलाई केही राम्रो भइरहेको छ भने त्यसका बारेमा कुरा गर्नुहोस् । अनि, घरको माहोललाई राम्रो बनाइराख्ने कोशिश गर्नुहोस् ।

जबसम्म मानिसहरू आपूmभित्र मीठो बोल्ने बानीको विकास गर्दैनन्, तबसम्म हामीले जुन परिस्थितिको परिकल्पना गर्छौं त्यो सम्भव हुँदैन । हामीले त्यो माहोल सिर्जना गर्ने, त्यसलाई साक्षात्कार गर्ने कार्य गरेपछि मात्रै त्यो कल्पना गरिएको परिस्थिति आउन सम्भव हुन्छ ।
सबैभन्दा महत्त्वपूर्ण कुरा जान्नुपर्ने के छ भने, तपाईं आफ्नो जीवनमा कुन–कुन बीउ रोपिरहनुभएको छ, कस्तो बीउ रोपिरहनुभएको छ ? के तपाईं यस्तो बीउ रोप्दै हुनुहुन्छ जसको फल पाकेपछि शान्तिमय र आनन्ददायी हुनेछ ? या यस्तो बीउ रोप्दै हुनुुहुन्छ जसको फलका कारण तपाईंको जीवनमा अभैm अशान्ति बढ्नेछ ! तपाईं अहिले जे–जे गर्दै हुुनुुहुन्छ, तिनकै फल तपाईंलाई प्राप्त हुनेछ ।

कैयन मानिस परिवारमा यति धेरै दिनसम्म सँगै बसेका पनि नहोलान् । किनभने, हरेक मानिस आ–आफ्नै काममा व्यस्त रहन्छ । अहिले उनीहरू एकै स्थान (घर) मा रहिरहेका पनि होलान् । एक–आपसमा कुरा नमिलिरहेको पनि हुन सक्छ । बालबच्चाहरू त केही गर्नै चाहँदैनन् । उनीहरू भिडियो गेम खेल्न र हेर्न चाहन्छन् । अनि, भिडियो गेम कसले ल्यायो ? त्यसलाई तपाईंले नै त ल्याउनुभयो । तपाईंले नै त्यो बीउ रोप्नुभएको हो ।

कुरा त के छ भने– हामी आफ्नो परिवारमा रहेर जति पनि कार्य गर्न चाहन्छौँ । जुन चीजको बीउ हामीले रोपिरहेका छौँ, त्यसैको फल हामीले पाउँछौँ । यदि हामी आफ्नो साथीसँग छौँ भने ती साथीहरूका माझ हामी कस्तो किसिमको बीउ रोपिरहेका छौँ त ? राम्रो बीउ रोपेका छौँ भने त्यसको फल पनि हामीले राम्रै पाउँछौँ । खराब चीज रोप्यौँ भने त्यसको फल पनि खराब नै हात लाग्नेछ । यो त बीउको प्रकृति नै हो । भनाइ पनि छ नि– ‘टिमुरको बीउ रोपेर आँप कहाँबाट फल्छ र ?’ जब काँडैकाँडा हुने रुखको बीउ रोपिएको छ तर तपाईं आँपको अपेक्षा गर्नुहुन्छ भने त्यो कसरी सम्भव हुन्छ ?

कतिपय मानिस आफ्नो जीवनमा हार मान्छन् । तपाईं जोसुकैसँग पनि लड्न सक्नुहुन्छ तर तपाईं आफ्नो जिन्दगीसँग लडिरहनुभएको छ, यस्तो किन हुन्छ ? यही त छ तपाईंसँग, अरू के छ तपाईंको साथमा ! यदि तपाईंको जीवन नै रहेन भने त तपाईंसँग के रहन्छ र ! केही पनि रहँदैन । त्यसैले यसबाट हार नमान्नुहोस् । यो जीवनमा त जित नै जित हासिल गर्नुपर्छ, हार्नुहुँदैन ।

तपाईं आफ्नो लागि पनि त जिउन सिक्नुहोस् । अरूका लागि होइन । जब तपाईं आफ्ना लागि नै बाँच्न सिक्नुहुन्न भने अरूका लागि कसरी जिउन सक्नुहुन्छ ? जुन दियो स्वयम् आपूm नै बलेको छैन भने त्यसले अरू दियोलाई कसरी बाल्न सक्छ ? मानिसहरू भन्छन्– अरूका लागि बाँच्न सिक्नुहोस् । तर, एउटा निभेको दियो अरूका लागि कसरी बाँच्न सक्छ ! जब त्यो स्वयम् आपैmँ बलेको छैन ! सक्षमता तपाईंमा हुनुपर्छ ।

त्यो घरको के महत्त्व हुन्छ, जसको छानो यति कमजोर छ जसलाई तपाईंले बोकिरहनुपर्छ । त्यो कस्तो छानो हो र ! कमसेकम तपाईंको घर यतिसम्म त सक्षम हुनुपर्छ, जसले जस्तोसुकै परिस्थितिमा पनि तपाईंको रक्षा गरोस् ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्