पनौतीको उद्धारका सामाग्री सेनालाई



काभ्रे, (नेस)
नेपाली सेनाको विष्णु दल गणलाई पनौती नगरपालिकाले विपद् उद्धारका सामग्री उपलब्ध गराएको छ । विपद्बाट हुने क्षति न्यूनीकरण गर्न, तत्काल उद्धार गर्ने कार्यमा सहयोग पु¥याउने उद्देश्यले स्थानीय सरकारले विष्णु दल गण धुलिखेललाई उक्त सामाग्री उपलब्ध गराएको हो ।

बिहीबार धुलिखेलस्थित जिल्ला विपद् व्यवस्थापन समितिमार्फत विष्णु दल गण धुलिखेललाई विपद्का ११ थरी सामाग्री नगर प्रमुख भीम न्यौपानेले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनामार्फत विष्णु दल गण धुलिखेलका गणपति कर्णेल सुवास खड्कालाई हस्तान्तरण गर्नुभएको थियो ।

नगरपालिकाले रेस्क्यु रोप २ सय ५० मिटर, क्याराविनर स्क्रु १० वटा, हेल्मेट २३ वटा, चस्मा १० वटा, पन्जा ३० वटा, लाइफ ज्याकेट ६ वटा, उड कटर १ वटा, ट्युब ३ वटा, फस्ट एड ब्याग ४ वटा, हेड ल्याम्प २० वटा र टर्च लाइट २० वटा विष्णु दल गणको पनौती सुरक्षा बेसका लागि विपद् पूर्वतयारीका लागि सामग्री उपलब्ध गराएको हो । उपलब्ध गराएका सामाग्रीको मूल्य झन्डै ५ लाख रुपियाँ रहेको छ ।

सामग्री बुझेसँगै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले विपद् पूर्वतयारीका लागि उपलब्ध गराएका सामग्रीहरूले नागरिकको सुरक्षामा सहयोग पुग्ने बताउनुभयो । नगर प्रमुख भीम न्यौपानेले विपद् पूर्वतयारीका सामाग्री नेपाली सेनालाई उपलब्ध गराउँदा विपद्को समयमा नागरिकको सुरक्षामा प्रभावकारी सेवा उपलब्ध हुने बताउनुभयो । विष्णु दल गण धुलिखेलका गणपति कर्णेल सुवास खड्काले विपद् पूर्वतयारीका सामग्रीले नागरिकको सुरक्षा तथा विपद्मा नेपाली सेना खटिँदा थप सहजता उपलब्ध भएको बताउनुभयो ।

समाग्री हस्तान्तरण कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि चापागाईं, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईं खतिवडा, विष्णु दल गण धुलिखेलका गणपति सुवास खड्का, जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौडेल, सशस्त्र प्रहरी प्रमुख एसपी महेश केसी, राष्ट्रिय अनुसन्धानका प्रमुख डीएसपी सरोज निरौलालगायतको सहभागिता रहेको थियो ।

यसअघि धुलिखेल नगरपालिकाले पनि गणलाई विपद् उद्धारका सामग्री उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्