‘लम्पीस्किन’को चपेटामा गाईभैंसी



न्युज अफ नेपाल,हेटौंडा ।

कोरोनाको कहरले मानिसलाई त्राहित्राहि बनाइरहेको बेला गाईभैंसीलाई लाग्ने लम्पीस्किन रोग बागमती प्रदेशका केही जिल्लामा देखिएको छ । भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार लामखुट्टेबाट सर्ने यो रोग प्रदेशमा तीव्रगतिमा फैलँदैछ ।उक्त रोग लागेपछि गाईको घाँटी पुच्छरवरिपरिका भाग, पेट र थुनलगायत शरीरका विभिन्न भागमा साना/ठूला गिर्खाहरु देखिने, एकसय ५ डिग्री भन्दा बढी ज्वरो आउने, खुट्टा सुन्निने र दूध दिन छाड्ने लक्षण देखिने मन्त्रालयले जनाएको छ ।

भारत र बंगलादेशमा गत वर्ष नै देखिएको उक्त रोग नेपालमा गाईमा असार अन्तिममा देखापरेको हो । हालसम्म परीक्षण गरिएकामध्ये बागमती प्रदेशको चितवनमा तीन सय ५६ वटा गाईमा रोग देखापरेको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी गराउनुभयो ।

मकवानपुमा डेढ सय गाईलाई लम्पीस्किन रोग लागेको आशंका गरिएको छ । अधिकारीका अनुसार मकवानपुरबाट १२ वटा गाईको स्याम्पल ल्याब परीक्षणका लागि काठमाडौं पठाइएको छ । हालसम्म मकवानपुरमा लागेको/नलागेको भन्ने अबस्था रिपोर्ट आएपछि थाहा हुने सूचना अधिकारी अधिकारीले बताउनुभयो । ती स्याम्पलमध्ये हेटौंडा–६, चौघडाका पनि छन् ।

हाल पशुपक्षी तथा मत्स्यपालन केन्द्रले उक्त रोगको उपचारको लागि खटिएको अधिकारीले जानकारी गराउनुभयो । गोठको सरसफाइमा ध्यान दिन र जथाभावी पशु ओसारपसार नगर्न उहाँले सुझाउनुभएको छ । लम्पीस्किन रोग लागे ८० प्रतिशत दूध घट्ने, बाँझोपन हुने र १० प्रतिशतसम्म मृत्यु हुने अध्ययनले देखाएको छ ।

हालसम्म परीक्षण गरिएकामध्ये प्रदेश–१, प्रदेश–२ र बागमती प्रदेशका एक हजार पाँच सयमा गाईमा लक्षण देखिएको छ भने १२ वटा गाई मरेको छ ।केही दिनयता नेपालको पूर्वी क्षेत्र झापा, मोरङ, सुनसरी, सप्तरी जिल्लामा गाईलाई भाइरसको नयाँ सक्रमण देखिएको छ । गाईको शरीरमा घाउ, बिमिरा, ज्वरो आएर बेहोस हुने लक्षण गाईमा भेटिएको छ ।

लम्पीस्किन डिजिजबाट संक्रमित गाईबाट अर्को गाईमा तीव्ररुपमा फैलने गरेको पाइएको छ ।बागमती प्रदेशको चितवन र मकवानपुर जिल्लाका केही स्थानमा लम्पीस्किन डिजिजजस्तो लक्षण गाईमा फेला परेको र चितवनका स्याम्पल ल्याब परीक्षण गर्दा साउन १२ गते लम्पीस्किन डिजिज प्रमाणित भएको मन्त्रालयले जनाएको छ ।

उक्त रोगले बिरामी पार्ने प्रतिशत १०—२० प्रतिशत पाइएको छ र यसबाट पशुको मृत्यदर १—५ प्रतिशत छ । खासगरि गाई तथा कहिलेकाहीं भैंसीमा पाइन्छ । अनुसन्धानले उक्त रोग होलेस्टोन गाई र क्रस गाईमा बढी हुने बताएको छ ।उक्त रोग खासगरि आर्थोपोडा भेक्टरबाट सर्ने गर्दछ । यसमा लामखुट्टेले टोक्ने, झिंगा र भाले किर्नाले रोग पशुमा सार्ने गर्दछ ।

रोग वा संक्रमति पशुमा प्रयोग भएको सुई स्वस्थ्य पशुमा प्रयोग गर्दा र रोगी वा संक्रमित पशुको आवातजावतले गर्दा रोग सर्दछ ।रोगको निदानका लागि भाइरस आइसोलेसनपछि पीसीआर नै राम्रो उपाय मानिन्छ । यसका लागि रोगी पशुबाट छालाको गिर्खाको नमूना, ¥याल, सिंगान तथा रगतको नमूना संकलन गरेर भाइरस आइसोलेसन गरी पीसीआरमार्फत् निदान गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्