खोकना र बुङ्मतीमा पुगे युनेस्को र आइएलओका प्रतिनिधि



न्युज अफ नेपाल, काठमाडौं ।
राज्यले गौरबका आयोजना सहित विभिन्न योजना ल्याएर आफ्नो बस्ती, सम्पदा उठाई विस्थापित गर्न लागिएको भन्दै खोकना र बुङ्मतीबासीले ती आयोजनाहरुको बिरोध गर्दै आईरहेको छ । प्राचिन नगरीको रुपमा चिनिने खोकना र बुङ्मतीमा काठमाडौं तराई मधेश द्रुतमार्ग फाष्टट्रयाक, बाहिरी चक्रपथ, १३३ केभी प्रशारण लाईन, स्मार्ट सिटी, बागमती कोरिडोर जस्ता योजना ल्याईएको छ ।

फाष्टट्रयाकको विषयमा जारी स्थानीयको विरोधमा पटक–पटक प्रहरीसँग झडप समेत भईसकेको छ। पुरानो बस्ती त्यस्मा पनि पुरातात्विक र ऐतिहासिक सम्पदा बोकेको बस्ती भएकोले खोकना र बुङ्मतीमा ती योजनाहरु ल्याउन नहुने स्थानीयहरुको भनाई रहेको छ ।
शिकाली मन्दीर र यसको चौर, रुद्रायणी मन्दीर, मछिन्द्र नाथ, उपत्यकाकै पहिलो बस्ती बसेको प्राचिन बस्ती भेटिएको कुदेश जस्ता थुप्रै पुरातात्विक सम्पदा मासिने डरले स्थानीयले विरोध गरिरहेका छन् ।

विभिन्न योजनाहरु ल्याएर खोकना र बुङ्मतीको बस्ती उठाई सुकुम्बासी बनाउन खोजिएकोले विरोध गर्नु परेको जनसरोकार समिति खोकनाका उपाध्यक्ष कृष्णभक्त डंगोलले बताउनुभयो। ‘खोकना र बुंगमति यस्तो ऐतिहासिक ठाउँ हो, जहाँ टेके पनि ऐतिहासिक र पुरातात्विक बाहेक अरु भेटिदैन । यसतो स्थानलाई योजनाहरु ल्याएर सखाप पार्न मिल्छ ?’, उहाँले बताउनुभयो ।

केही वर्षअघि कुदेशमा स्थानीय युवाहरु र पुरातत्वविद्ले उत्खनन् गर्दा प्राचिनक कालका इनार, ढुंगेधारा, सिक्का लगायतका पुरातात्विक वस्तुहरु फेला पारेका थिए । उपाध्यक्ष डंगोलले स्थानीयको व्यापक विरोध भईरहेको अबस्थामा संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का प्रतिनिधिले खोकनादेखि बुङ्गमतीसम्मको पुरातात्विक क्षेत्रको बुधबार स्थलगत अवलोकन गरेको बताउनुभयो ।

ती प्रतिनिधिहरुले बुंगमतिदेखि कुदेश, जुगुनीचा, चखुतीर्थ, देवः, जन्मद्वार, प्रञा गुठी, मछिन्द्र गुठी, कुमारी ख्य, सिकाली, खोडोलसम्म अवलोकन गरेको उहाँले बताउनुभयो । ‘हामीले अवलोकन टोलीलाई बुंगमती देखि खोकनाको खुडोलसम्म देखायौँ । जसमा ऐतिहासिक र पुरातात्विक सम्पदाहरु बोकेका स्थानहरु पर्दछन् ।’, उहाँले बताउनुभयो ।

अवलोकनपछि ती अधिकारीहरुले स्थानीहरुसँग प्रतिक्रिया लिएका थिए । अवलोकनका क्रममा ऐतिहासिक वस्ती, पुरातात्विक क्षेत्रमा रहेको भग्नावशेष, पुरातात्विक वस्तुहरु देखेका ती प्रतिनिधिले स्थानीयको मागहरु सम्बोधनका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्