तीजलाई रातो सारी लरक्कै



नेपाली हिन्दू नारीको विशेष पर्व हरितालिका तीजलाई लक्षित गरी हरेक वर्ष ह्वारह्वार्ती तीज गीत तयार पारिन्छन् र बजारमा ल्याइन्छ। यसपटक कोरोना जोखिमलाई हेरेर लगाइएको लकडाउन र त्यसबाट सिर्जित असहज परिस्थितिका कारण तीज केन्द्रित गीतहरू कम हुने आँकलन गरिएको थियो। तर, यस वर्ष कोरोना जोखिमले पनि तीज गीत सिर्जना र सार्वजनिकीकरण रोकिएन। विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि यो पर्वका असवरमा सयौं गीत सार्वजनिक भएका छन्।

यसै सिलसिलामा गायिका मोडल एवं सञ्चारकर्मी सरिता भारतीले आफ्नो स्वरमा नयाँ तीज भाका रातो सारी लरक्कै म्युजिक भिडियोसहित बजारमा ल्याएकी छिन्। उनले आफ्नो यो गीत आफ्नै अफिसियल च्यानल ब्युटी न्युज नेपालबाट मंगलरबार रिलिज गरेकी हुन्। रेकर्डिङको हिसाबले सरिताको यो छैटौं गीत हो।

यसअघि चार गीत उनले बजारमा ल्याइसकेकी छिन् भने अरू दुई गीतको भिडियो अर्को महिना रिलिज हुने सरिताले जानकारी गराइन्। गीत तीज पर्वमा विभिन्न पहिरन र आभूषणले सजिएकी एक नारीले आफ्नो पहिरन, आभूषण र सौन्दर्यको प्रशंषा गर्ने प्रसंगमा आधारित रहेको गायिका भारतीले बताइन्। यो तीज गीत पत्रकार शान्तिप्रियले रचना गरेका छन् भने संगीत सन्तोष श्रेष्ठको रहेको छ।

गीतमाथि विलक्षण क्रियसनले म्युजिक भिडियो निर्माण गरेको छ। गीतको भिडियोमा अभिनेत्रीद्वय अनामिका चौलागाईं र दीपाशा बिसीसँगै गायिका सरिता भारतीको प्रतिस्पर्धामूलक मुख्य भूमिका रहेको छ। भिडियो छायँँकार तथा निर्देशक राजु केसीले छायांकन गरेका छन्। भिडियोमा राहुल श्रेष्ठ र छवि थापामगरको कोरियोग्राफी, वीरेन्द्र भाट ‘विपीन’ को छायांकन रहेको छ भने निर्देशन डब्बु क्षत्रीले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्