एरोपोनिक प्रणालीबाट ट्राफिक आइल्याण्डमा फूल फुलाउने त्रिपक्षीय सम्झौता खारेज

सम्झौताले अपेक्षा गरेको परिणाम प्राप्त नभएकोले सहमतिमा खारेज गरेका हौं — बिभागीय प्रमुख श्रेष्ठ



न्युज अफ नेपाल, काठमाडौं । काठमाडौं महानगरको वातावरण व्यवस्थापन बिभागले एरोपोनिक प्रणालीबाट ट्राफिक आइल्याण्डको सुन्दरता बढाउने सम्झौता खारेज गरेको छ । गएको बर्ष (२०७६) जेठ ३१ गते एरोपोनिक प्रणालीबाट बाह्रै महिना फुल फुलाउन महानगर, नबिल बैङ्क र एरोरुटकावीच त्रिपक्षीय सम्झौता भएको थियो ।

प्रणाली जडान गर्न २० लाख ७९ हजार रुपैयाँ, पहिलो बर्षको बार्षिक सम्भार खर्च ८ लाख ८४ हजार रुपैयाँ र दोश्रो वर्षको वार्षिक सम्भार खर्च १० लाख २८ हजार रुपैयाँ नबिल बैङ्कले एरोरुटलाई उपलब्ध गराउने गरी भएको त्रिपक्षीय सम्झौता साउन २१ गतेबाट आपसी सहमतिमा खारेज गरेका हौं ।

वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठ भन्नुहुन्छ — प्रबिधिमा आधारित भएकोले यसबाट हामी थप आशाबादी थियौं । तर, प्रणालीबाट अपेक्षा गरिएको परिणाम प्राप्त भएन । त्यसैले सम्झौता भङ्ग गरेका हौं । श्रेष्ठकाअनुसार अब यी आइल्याण्डको मर्मत सम्भार र व्यवस्थापन महानगर आफैंले गर्नेछ ।

सम्झौताबमोजिम नयाँ सडक गेट अगाडि पूर्व तर्फ र राष्ट्रिय सभागृह गेट अगाडि पश्चिम तर्फ गरी पहिलो चरणमा दुईवटा आइल्याण्डमा यो प्रणाली जडान गरेर सधैंँ पूmल फुलिरहने आइल्याण्ड बनाउनु पर्ने थियो । प्रणाली जडान भएर फूल फुलेको प्रतिवेदन प्राप्त भएको मितिले २ बर्षसम्म सञ्चालन, व्यवस्थापन, नियमित मलजल, संरक्षण तथा सम्भार गर्ने काम एरो रुटको थियो । सम्भार खर्चको गणना प्रतिवेदन प्राप्त भएको मितिदेखि हुने थियो ।

सम्झौताबमोजिम २०७६ भदौ अन्तिमसम्ममा ९० दिनभित्र प्रणाली जडान गरी फूल फुलाउनु पर्नेथियो । आइल्याण्डहरुमा फूल फुलाउन एरोपोनिक प्रणाली विकास तथा जडान गर्ने, नियमित रुपमा फूल फुलाउने, मलजल गर्ने, आवश्यक मर्मत संभार गर्ने आदि मुख्य काम एरोरुटले गर्नुपर्ने थियो । यसकालागि आवश्यक पर्ने लगानी तथा सञ्चालन खर्च नबिल बैङ्कले व्यहार्ने र प्रणाली जडान गर्ने ठाउँ उपलब्ध गराउने, जडान भएको प्रणालीको संरक्षण गर्ने तथा अन्तरनिकाय समन्वय गराउने काम महानगरको जिम्मामा थियो ।

प्रबिधिमा आधारित आइल्याण्डबाट परिणाम नआएपछि किन उपलब्धी हासील गर्न सकिएन? यदि यसो हो भने अब कस्तो प्रबिधि जडान गर्ने र प्रबिधिको सञ्चालन व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा पनि सोच्नु पर्ने भएको छ ।

के थियो प्रणाली
बिजुलीबाट चल्ने एरोपोनिक प्रणाली नेसनल एरोनटिक एण्ड स्पेस (नासा) ले आबिष्कार गरेको हो । यस प्रणालीमा बिरुवाका लागि आवश्यक पर्ने पानी, पौष्टिक तत्व र अक्सिजन हुस्सुको फर्ममा जरासम्म पु¥याइन्छ । माटोमा हुर्कने बिरुवाले माटोमा भएको ठोस मल प्राप्त गर्छं । यस प्रणालीमा प्रबिधिमार्फत बिरुवाका लागि आवश्यक खाद्यबस्तु जरासम्म पु¥याइन्छ । यस प्रबिधिबाट फलफुल र तरकारी फलेको उदाहरण पाइन्छन् ।
काठमाडौंका आइल्याण्डमा जडान गरिएका प्रणालीमा फूल देखिन्थे तर यसले भित्री संरचना नढाकेका कारण सुन्दर भने थिएन । अर्कोतिर प्रणाली जडान गरिएको जमिनको स्याहार नगर्दा आइल्याण्डहरु अलपत्र जस्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्