को थिए मर्यादा पुरुष श्रीराम ?



राम वा रामचन्द्र, (रामायणअनुसार) प्राचीन अयोध्या राज्यमा जन्मिएका महापुरुष थिए । हिन्दू धर्ममा, विष्णुको १० अवतारहरूमध्ये राम एक अवतार मानिन्छ । रामको जीवनकाल र पराक्रमबारे महर्षि वाल्मीकिद्वारा रचित संस्कृत महाकाव्य रामायणमा लेखिएको छ । उनको विषयमा तुलसीदासले भक्ति काव्य श्री रामचरितमानसको रचना गरेका थिए । विशेषरूपले उत्तर भारत र नेपालमा राम धेरै पूज्यनीय मानिन्छन् । रामचन्द्र हिन्दुत्ववादीहरूको पनि आदर्श पुरुष हुन् ।

राम, अयोध्याको राजा दशरथ र रानी कौशल्याको सबैभन्दा जेठो पुत्र थिए । रामकी पत्नीको नाम सीता थियो, जसलाई लक्ष्मीको अवतार मानिन्छ । रामका तीन भाइ थिए– लक्ष्मण, भरत र शत्रुघ्न । हनुमान, रामको सबैभन्दा ठूलो भक्त मानिन्छन् । रामले राक्षस जातिको राजा रावणको वध गरेका थिए । हिन्दू धर्मको कैयौँ चाडपर्व जस्तै– दशैं–तिहार, रामको जीवनकथासँग जोडिएका छन् ।

भगवान श्रीरामको जन्म आधुनिक अयोध्या शहरका राजा दशरथको घरमा ज्येष्ठ पुत्रको रूपमा भएको थियो । रामायणका अनुसार भगवान् विष्णुले आफ्ना सोह्रै कलाहरू राजा दरशथको घरमा अलग–अलगरूपले श्रीराम (१२ कला), लक्ष्मण (२ कला), भरत र शत्रुघ्न क्रमशः एक–एक कलामा विभाजित गरेर चारवटा पुत्रको रूपमा जन्म लिएका थिए । तीमध्ये सबैभन्दा जेठा श्रीराम जसलाई राम, रघुनाथ, राघव, रघुपति, रामचन्द्र आदि अलग–अलग नामले चिनिन्छ । मर्यादा पुरुष श्रीराम पितृवचन मान्नेहरूमा एक हुन् । उनकी माताको नाम कौशल्या थियो । राजा दशरथलाई धेरै दिनसम्म कुनै सन्तान नभएका कारण गुरु वशिष्ठको आज्ञानुसार पुत्रेष्टि यज्ञा गराएका थिए । त्यसपछि राजा दशरथकी तिनवटी रानीहरूबाट चारवटा छोरा जन्मेका थिए ।

भगवान श्रीराम र उनका भाइ लक्ष्मणलाई गुरु विश्वामित्रले प्राचीनकालको धनुर्विद्या सिकाएका थिए । पढ्नको लागि राम र लक्ष्मण दुवै भाइ गुरुको आश्रममा नै गएका थिए । यो बीचमा विश्वामित्र ऋषिले राम–लक्ष्मणलाई धनुर्वेदका साथै राजपाठसम्बन्धीको ज्ञान पनि सिकाए । यसका साथै गुरुले दुवै भाइलाई विभिन्न तीर्थस्थान, धेरै नगर–गाउँ तथा जंगलमा रहेका आश्रमहरूको सयर गराए ।

यसै गरी घुम्ने क्रममा एक दिन विश्वामित्रलाई मिथिल्ला (जनकपुर)का राजा जनककी पुत्री सीताको स्वयंवर हुन लागेको थाहा भयो । तत्पश्चात् विश्वामित्रले दुवै राजकुमारहरूलाई जनकपुर धाम लिएर गए । जानकीको स्वयंवरको तयारी पूरा शहरभरि भइरहेको थियो । जनकपुर शहरमा खुशीयाली छाएको थियो । शहरको चारैतिर मंगल वाद्यको धुन गुन्जिएको थियो ।

पूरा शहरभरि नर्तकनर्तकीहरू आ–आफ्ना कला प्रदर्शन गर्दै थिए । राजा जनकको दरबारको प्रांगणमा विवाहमण्डप तथा स्वयंवरस्थल सजाइएको थिए । पृथ्वीभरिका राजकुमारहरू त्यहाँ जम्मा भएका थिए । विश्वामित्रले राम–लक्ष्मण राजकुमार भएको र उनीहरू पनि स्वयंवरमा भाग लिन आएको खबर राजा जनकलाई दिए । अरु राजकुमारजस्तै राम–लक्ष्मणको पनि सम्मानका साथ स्वागत गरियो ।

केही छिन्मा स्वयंवरको मुहुर्त शुरु भयो र राजा जनकको पूजाकोठामा रहेको शिव धनुषलाई स्वयंवर स्थलमा ल्याएर राखियो । त्यसपछि राजा जनकले शिव धनुषको बारेमा सबैलाई जानकारी दिँदै धनुष उठाउन जानकीले मात्र सकेकी छन्, त्यसकारण जो पुरुषले यो धनुषमा ताँदो चढाएर वाण चलाउँछ त्यसै पुरुषलाई सीताले वरमाला पहिराउने कुरा घोषणा गरे ।

घोषणा सुनेर सबै वीरहरूले आ–आफ्नो बल अजमाए तर धनुषलाई डगाउन पनि कसैले सकेनन् । त्यसपछि विश्वामित्रले रामलाई धनुष चलाउने आज्ञा दिए । गुरुको आज्ञा पाएर श्रीरामले धनुष उचालेर ताँदो चढाउन लाग्दा धनुष भाँचिएर तीन टुक्रा भयो । यो देखेर परशुरामलाई आफ्नो गुरुको धनुष भाँचेकोमा राममाथि धेरै रिस उठ्यो । उनी रामलाई मार्न अगाडि सरे । लक्ष्मणले परशुरामलाई रोक्ने प्रयास गरे ।

यसबीचमा लक्ष्मण र परशुरामको ठूलो विवाद पनि भयो तर रामले दुवैलाई शान्त गरेर परशुरामको शक्ति खिचेर आफूले लिए । तब परशुराम शान्त भएर भगवान् श्रीरामको गुण गाउँदै आश्रमतिर गए । त्यसपछि जानकीले श्रीरामलाई वरमाला पहिराइन् । राम–सीताको विवाह सम्पन्न भयो । केही दिन मिथिलामा बिताएपछि राजा जनकले राम–लक्ष्मण र सीतालाई सम्मानका साथ बिदाई गरे । त्यसपछि राम, सीता र लक्ष्मण अयोध्या नगरीमा फर्किए ।

एक दिन राजा दशरथले श्रीरामलाई अयोध्याको राजपाठ सुम्पने विचारले आफ्ना मन्त्रीगण, गुरु वशिष्ठ र अन्य भलादमीहरूसँग आफ्नो जिज्ञासा राखे । सबैले राजा दशरथको योजनामा समर्थन दर्शाए । अयोध्यामा श्रीरामलाई राज्याभिषेकको तयारी गरियो । पूरा शहर नै खुसमय थियो । राज्यका जनतालाई तीनै लोकका मालिक भगवान् श्रीराम आफ्नो राजा हुने भएकाले खुशी थिए ।

यसै बेला श्रीरामकी सौतेनी आमा कैकयीकी दासी मन्थराले कैकयीलाई उल्टो मति सिकाएर रामलाई वनवास पठाई आफ्नो छोरा भरतलाई अयोध्याको राजपाठ सुम्पने आग्रह राजासँग गर्नुपर्ने सल्लाह दिई । कैकयीले पहिले त यसो गर्न मानिनन् तर मन्थराले मीठा–मसिना कुराको मोहजाल फिँजाई । तब कैकयीले पनि राजा दशरथलाई आफ्नो पहिलेको दुईवटा वरदान यतिखेर भरतलाई राजा बनाउनुपर्ने र रामलाई १४ वर्षको लागि वनवासमा पठाई पूरा गर्ने आग्रह गरिन् ।

राजा दशरथलाई स्वर्गको युद्धमा कैकयीले ठूलो सहयोग पु¥याएकी थिइन् । त्यसै बेला राजा दशरथले कैकयीलाई मागेबमोजिम दुईवटा वर दिने बाचा गरेका थिए । कैकयीले पनि आवश्यक परेका बेला म आफैं मागौंला भनेकी थिइन् । कैकयीले राजा दशरथलाई त्यो वर अब पूरा गर्ने आग्रह गरेकाले राजा दशरथको भित्री मनले नमाने पनि बाहिर मुखले रामलाई १४ वर्षको वनवासमा जानुपर्ने र १४ वर्षसम्म भरत अयोध्याका राजा बनाइने घोषणा गरे ।

भगवान् श्रीरामले पनि पिताको आज्ञा मानेर १४ वर्ष वनवास जाने निर्णय गरे । रामको साथमा लक्ष्मणले र सीताले पनि वनवास जाने निर्णय गरे । भोलिपल्ट राम, सीता र लक्ष्मण वनवासको लागि गए । राजा दशरथको यसै चिन्तामा मृत्यु भयो । त्यस बेला भरत आफ्नो मामाघर गएका थिए । उनी अयोध्या आएर सबै कुरा थाहा पाए । भरत रामलाई फर्काउने प्रयासमा वनमा गए तर रामले पित्री वचन पूरा नगर्दासम्म अयोध्या नफर्कने निर्णय गरे । पछि बानर बाली, श्रीलंकाका राजा रावण आदि मारेर मात्रै उनी अयोध्या फर्किएका थिए ।
– शिव भट्टराई, काठमाडौं ।

 

 

प्रतिक्रिया दिनुहोस्