श्रावणी मेला र बोलबम यात्रा



प्रेममान डंगोल
महादेवको महिना साउन महिना, त्यसमा पनि महादेवलाई धेरै मन पर्ने सोमबार अर्थात् महादेवको बार । त्यसैले श्रावण महिनाभरि र विशेष गरी सोमबार महादेवको व्रत बसी महिलाहरुले श्रीमान् र परिवारको सुख, शान्ति एवं ऐश्वर्यको कामना गर्दै महादेवको मन्दिरमा पूजा गर्न जान्छन् । महादेवलाई अति श्रद्धाभाव राखी पूजा गर्न जाँदा महिलाले रातो र हरियो सारी तथा चुरापोते लगाई हुल बाँधेर हिँडेको देख्दा एक किसिमले वातावरण नै रमणीय भइरहेको हुन्छ । अविवाहित महिलाले पनि आफूले चाहेजस्तो पति पाऊँ भनी व्रत बसेर महादेवको पूजा गर्न जान्छन् । पार्वतीले पनि साउन महिनामै महादेव पति पाऊँ भनी व्रत बसेकी थिइन् । अन्ततः पार्वती महादेवलाई प्राप्त गर्न सफल भएकी हुन् भनिन्छ । नेपालका विभिन्न स्थानमा रहेका महादेवका मन्दिरमा श्रावण महिनाभरि मेला नै लाग्ने भएकोले श्रावणी मेला भनिएको हो ।

साउन महिनाभर महादेवलाई मान्ने सन्दर्भमा महादेवलाई अभिषेक गर्न देशका विभिन्न स्थानमा बोलबम यात्रा गरिन्छ । यसरी गरिने यात्रालाई पनि श्रावणी मेलाको रुपमा लिइन्छ । यो बोलबम यात्रा सर्वप्रथम भारतको वैद्यनाथ धामबाट शुरु भएको हो । नेपालका तराईवासीहरुले बोलबममा भाग लिन पहिला–पहिला भारतमैं जान्थे । पछि नेपालमै तराईवासीहरुले आफ्नै ठाउँ–गाउँमा बोलबम यात्रा सञ्चालन गर्न थाले । आजभन्दा २७ वर्षअघि अर्थात् वि.सं. २०५० अघि तराईबाट काठमाडौं आई बसोवास गरिरहेकाहरुले बोलबम काँवरिया संघ गठन गरी सञ्चालन गरेको पहिलो बोलबम यात्रामा जम्मा १३ जना भक्तजन मात्र सहभागी भएका थिए । ती भक्तजनले सुन्दरीजल नदीको मुहानबाट घडामा जल ल्याई पशुपतिमा चढाएका थिए । पछि आएर हजारौं भक्तजनले भाग लिन थाले । यस बोलबम यात्रामा लराईवासीहरुसँगै काठमाडौंका नेवारलगायत अन्य जातिका मानिसले पनि भाग लिन थाले ।

बोलबममा सहभागी हुने भक्तजनले गेरुवस्त्र लगाई काँधमा बाँसको काँवर बोकेर हिँडेको देखिन्छ । साथै दुईवटा माटोका कलशमा जल भरी खालि खुट्टा हिँड्दै, व्रत बसी बोलबमको नारा धन्काउँदै सुन्दरीजलदेखि पशुपतिनाथमा जल चढाउन ल्याउँछन् । यसरी जल चढाएपछि बोलबम भक्तजनहरुको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । यसरी बोलबम जानेहरुमा दुई किसिमका बोलबम हुन्छन् । एउटा डाँक बम र अर्को साधारण बम ।

डाँक बम यात्रुहरुले सुन्दरीजलदेखि जल भरेर ल्याएपछि कतै पनि बिसाउनुहुँदैन । उनीहरुले अघिल्लो दिनमैं स्नान गरेर शुद्ध भई राख्नुपर्छ । बाटोमा कोहीसँग पनि कुरा गर्ने, खानेकुरा खाने, पानी खाने, शौचालय जाने गर्दैनन्, भोक लागेमा जलका घडालाई अग्लो शुद्ध स्थानमा बिसाएर खानपिन गर्छन् ।

बोलबमहरुलाई खुवाउन बीचबाटोमा व्यवस्था गरिराखेको हुन्छ । बोलबम जाने भक्तजनहरुमा जाति, भाषा र अरु कुनै पनि किसिमको भेद्भाव हुँदैन । बोलबम यात्रामा जो–कोहीले पनि भाग लिन सक्छन् । बोलबम यात्रामा विधिपूर्वक भाग लिएमा मधुमेह, रक्तचाप, जन्डिस, कब्जियतजस्ता रोग निको हुने विश्वास गरिएको छ ।
धरानमा पनि बोलबमको नारा चर्काउँदै तीर्थयात्रीहरुको भीड लागिरहेको हुन्छ श्रावण महिनाभरि । धरानको पिण्डेश्वर बाबा धाममा जल चढाउने बोलबम भक्तजनहरुको सहभागिता लाखौंको संख्यामा हुने गर्दछ । गेरु वस्त्र लगाई सप्तकोशी नदीबाट जल ल्याएर पिण्डेश्वर बाबाको शिवलिंगमा चढाउन नेपालका विभिन्न जिल्ला र छिमेकी देश भारतबाट पनि त्यत्तिकै संख्यामा तीर्थयात्रीको अपार भीड लागिरहेको हुन्छ ।

धरानमा वि.सं. २०३९ देखि सप्तकोशी नदीबाट जल ल्याई पिण्डेश्वर बाबा धामको शिवलिंगमा चढाउने परम्परा बसाइएको हो । चतरादेखि जल ल्याई नाङ्गो खुट्टाले हिँडेर पिण्डेश्वरमा जल चढाउने नै बोलबमको विशेषता र मौलिकता हो । तर हिँड्न नसक्ने भक्तजनले भने यातायात साधनमा आई बोलबममा सहभागिता जनाउँछन् । चतरा कौशिकीमा स्नान गर्दा शरीर शुद्ध हुने धार्मिक विश्वास छ । त्यस्तै पैदल हिँडेर आई बाटोभरि गाइने बोलबम भजनले मनको शुद्धि हुने विश्वास गरिएको छ । मन, शरीर र आत्मा शुद्धि गरेर जल चढाउँदा पिण्डेश्वर बाबा प्रसन्न भई वरदान दिनुहुन्छ भन्ने धार्मिक विश्वास छ ।

शिवलिंगमा जल चढाउने बारे हिन्दू धर्मग्रन्थमा उल्लेख भएअनुसार देवताहरुको पालामा देवता र दानव मिलेर समुद्र मन्थन गर्दा पिण्डेश्वर बाबा धाममा जल चढाएको किंवदन्ती छ । यसै अनुरुप आफ्नो मनोकांक्षा पूरा गर्ने धार्मिक विश्वासका साथ पिण्डेश्वर बाबा धाममा जल चढाउने गरिँदै आएको हो भनिन्छ । महादेवले कालकुट विष पिउँदा अत्यन्तै जलन भएकाले त्यस जलन कम पार्न देवताहरुले चतराको कौशिकी नदीबाट जल ल्याई चढाएका हुन् भनिन्छ । त्यसैको स्मरणस्वरुप बोलबम तीर्थालुहरुले जल चढाउने गरेको मानिन्छ ।

त्यस्तै रुपन्देही जिल्लाको पर्रोहा गाविस–२ मा रहेको पर्रोहा शिव ज्योतिर्लिंग बोलबम धाममा पनि व्यापकरुपमा बोलबम मेला लाग्छ । यहाँ गेरु वस्त्र लगाएर घडामा गंगाजल राखी बोलबम नारा चर्काउँदै पैदल बम, सवारी बम र डाँक बम यात्रा गर्ने धेरै हुन्छन् । त्यस्तै दण्डवत् बम भन्दै दण्डवत् शैलीमा छातीले भुइँमा छुवाउँदै हिँड्ने पनि गरिन्छ । यो पर्रोहा बोलबम यात्रामा ३७ किलोमिटर टाढा कपिलवस्तुको लक्ष्मणघाट, ८४ किलोमिटर टाढा नवलपरासीको त्रिवेणी धाम, १ सय ३७ किलोमिटर टाढा देवघाट र ८८ किलोमिटर टाढाको गुल्मीको रुरुक्षेत्रको कालीगण्डकीदेखि गंगाजल ल्याउने गरिन्छ । यसका लागि बाँसको व्यवस्था पनि गरिएको हुन्छ ।

देवघाट, त्रिवेणी र रुरुमा साउन र माघमा देवताहरुले स्नान गर्छन् भन्ने जनविश्वास छ । त्यही भएर यी स्थानमा साउन र माघमा मेला लाग्ने गरेको हो । पाल्पा, गुल्मी, अर्घाखाँची र देशका विभिन्न जिल्लाबाट पनि यो धाममा बोलबम मेला भर्न भक्तजनहरुको ओइरो लाग्ने गर्दछ । भारतको उत्तर प्रदेश र विहार क्षेत्रबाट पनि यो बोलबम धाममा भक्तजनहरु आउने गर्दछन् । थाइल्यान्ड र क्यानडामा बस्ने नेपाली साधुसन्त र शिवमार्गीहरु पनि यहाँ आउने गरेको तथ्यांक छ ।

पर्रोहा बोलबम धाम वि.सं. २०३६ अघिसम्म झाडी मात्र रहेको स्थानको रुपमा थियो । गाउँका बासिन्दाले गाई चराउन जाँदा एउटा गाईले झाडीको बीचमा रहेको शिवलिंगमा दूध चढाउँदै गरेको देखे । सोही सालमा भारतका पञ्चजना अखडाबाट आएका नागाबाबा रमेशनन्द गिरीले झाडी फाँडेर हेर्दा ज्योतिर्लिंगका साथै गणेश, पार्वती, कुमार कार्तिकेयको मूर्ति पनि फेला पारे । ती नागाबाबाले विशाल पञ्चमुखी उरु ज्योतिर्लिंगलाई खनेर हेर्दा जति खन्दै हे¥यो त्यति नै ठूलो आकारको देखिन थाल्यो, घोप्ट्याइराखेको गिलासजस्तै । मूर्तिको मुनिको भाग पत्ता लगाउन नसकेपछि शिवलिंगको टुप्पो मात्र देखिने गरी राखेर सानो मन्दिर बनाइराखेका रहेछन् । पछि गएर सबैको सहयोगबाट वि.सं. २०४९ मा हालको ठूलो मन्दिर बनाई व्यवस्थित ढंगले पूजा शुरु गरिएको हो । यहाँ २०४९ सालदेखि नै बोलबम धामको रुपमा विकास गरेर श्रावणी मेला शुरु गरिएको हो ।

बोलबम धामका व्यवस्थापकहरुका भनाइअनुसार श्रावणी मेलाको शुरुवात गर्दाको समयमा ९ करोड दीप प्रज्ज्वलन, एक करोड बेलपत्र पुष्पाञ्जलि, आरती, नेपाल र भारतका प्रख्यात विद्वान् धर्मशास्त्रीहरु, साधुसन्त र शंकराचार्यहरुको भ्रमण र मानसरोवर, गासाइँकुण्ड, यमुना, गंगा, झयु, अलकानन्दाजस्ता नेपाल, भारत र तिब्बतका देवनदी एवं तीर्थस्थलबाट जल ल्याई ज्यातिर्लिंगको वैदिक विधिअनुसार विशेष अनुष्ठान र उपासना गरिएको थियो । त्यसै बेलादेखि साउनमा बोलबम यात्रा शुरुवात गरिएको हो । श्रावणी मेला र बोलबम धामको व्यापक प्रचारप्रसार सञ्चारमाध्यमबाट पनि भयो । यसैको परिणामस्वरुप पश्चिम नेपाल, भारतको उत्तर प्रदेश र विहारमा महिमाशाली बाबाधामको व्यापकरुपमा प्रभाव प¥यो । हरेक वर्ष लाखौंको संख्यामा भक्तजन आउन थाले । वि.सं. २०५८ सालमा मात्र यहाँ १५ लाख भक्तजनले पूजा गर्न आएको तथ्यांक छ । सोही हाराहारीमा हालसम्म पनि लाखौं भक्तजन यहाँ हरेक वर्ष श्रावणी मेला भर्न आउने गर्दछन् ।

यसभन्दा अघि यो क्षेत्रबाट ठूलो संख्यामा शिवमार्गीहरु श्रावणी मेला भर्न भारतको वैद्यनाथ धाम जाने गर्दथे । यस धामका प्रमुख संरक्षक र हिन्दू शास्त्रका आचार्य किशोरकुमार गौतमको भनाइअनुसार यस ज्योतिर्लिंगको उत्खनन गर्दा सबैभन्दा मुनिको भाग पत्ता लगाउन नसकेको र निराकार भएकाले यो मानवनिर्मित नभई स्वयं उत्पत्ति भएको मानिएको छ । यस स्थानमा बुद्धसँग सम्बन्धित सामान पनि प्रशस्त भेटिएका छन् । यो ज्योतिर्लिंगमा दैनिक ३ पटक रङ्ग परिवर्तन हुने, गोलाइ र उचाइ पनि एकनाश नहुने, बेला–बेलामा नाग आई बेरिने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्