लकडाउनमा ६१ प्रतिशत उद्योग व्यवसाय पूर्णरुपमा बन्द



नेपाल समाचारपत्र, काठमाडौं

लकडाउनको अवधिमा ४ प्रतिशत उद्योग व्यवसायमामात्रै पूर्णरुपमा सञ्चालनमा रहेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकको सर्वेक्षणअनुसार ३५ प्रतिशत आंशिक र ६१ प्रतिशत पूर्णरुपमा बन्द रहेको पाइएको छ । उक्त सर्वेक्षणमा ५२ जिल्लाका ६७४ उद्योगी व्यवसायी सहभागिता रहेको छ । जसमध्ये थोक तथा खुद्रा व्यापारबाट २८ दशमलव २ प्रतिशत, उत्पादनमूलक उद्योगबाट १८ दशमलव २ प्रतिशत र होटल तथा रेष्टुरेन्टबाट १६ दशमलव ५ प्रतिशत सहभागी थिए ।

त्यस्तै तीन वर्ष वा सोभन्दा कम अवधि सञ्चालनमा रहेका नवप्रवर्तन उद्योग व्यवसायको सहभागिता २३ दशमलव ७ प्रतिशत रहेको थियो । ४२ दशमलव ७ प्रतिशत उत्तरदाता लघु उद्यम/साना खुद्रा व्यापार समूहका रहेका छन् भने सबैभन्दा थोरै ४ दशकलव ३ प्रतिशत उत्तरदाता ठूला उद्योग समूहका रहेका छन्।

सर्वेक्षणमा सहभागी उद्योग व्यवसायले लकडाउनमा २२ दशमलव ५ प्रतिशत कर्मचारी कटौती गरेको पाइएको छ । कटौती भएकामध्ये अस्थायी/करारका कामदार दुई तिहाइभन्दा धेरै रहेका छन् । होटल तथा रेष्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी कटौती गरेको देखिएको छ । सो अवधिमा घरेलु उद्योग र लघु उद्यम÷साना खुद्रा व्यापारले अन्यको तुलनामा धेरै कर्मचारी कटौती गरेको पाइएको छ ।

यसैगरी सर्वेक्षणमा सहभागी उद्योग व्यवसायले औसतमा १८ दशमलव २ प्रतिशत तलब कटौती गरेको पाइएको छ । तलब कटौती गर्नेमा होटल तथा रेष्टुरेन्ट, यातायात तथा भण्डारण र शिक्षा क्षेत्र अगाडि रहेका छन् । साथै ठूला उद्योग/व्यवसायले अन्यको तुलनामा धेरै तलब कटौती गरेको देखिएको छ ।

लकडाउनपछि सामान्य अवस्थामा फर्किन औसतमा करिब ९ महिना लाग्ने अनुमान गरिएको तर होटल तथा रेष्टुरेन्ट क्षेत्रलाई १३ महिना लाग्ने देखिएको छ । ८२ दशमलव ३ प्रतिशत उद्योग व्यवसाय बन्दाबन्दीपश्चात् अहिलेकै व्यवसायलाई निरन्तरता दिने देखिएको भएतापनि केहीले व्यवसाय बिक्री वा बन्द गर्न चाहेको समेत देखिएको छ ।

छुट प्राप्त गर्न योग्य सहभागी उद्योग व्यवसायमध्ये करिब २० प्रतिशतले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसारको ब्याज छुट प्राप्त गरेको बताएका छन् । ६९ दशमलव ९ प्रतिशत उद्योग व्यवसायले सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा व्यवस्था गरेअनुसार ५ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त भएमा कर्मचारी÷कामदारको रोजगारीलाई पूर्ण रुपमा निरन्तरता दिन सक्ने बताएका छन्।

बन्दाबन्दी अवधिमा सर्वेक्षणमा सहभागी उद्योग/व्यवसायहरुलाई सञ्चालन खर्च व्यहोर्न चालू पुँजीको अभाव, उत्पादनको बिक्री वितरणमा कठिनाइ र बजारमा मागको कमीजस्ता समस्या रहेको देखिएको छ । वित्तीय साधन परिचालनका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने, कर्मचारी तलब कटौती गरी खर्च घटाउने, सहकारी संस्थाबाट ऋण लिने र नयाँ लगानी साझेदार खोज्ने जस्ता सोचमा सर्वेक्षणमा सहभागी उद्योग÷व्यवसायहरु रहेको पाइएको छ ।

बन्दाबन्दी अवधिमा ९७ दशमलव ३ प्रतिशत घरेलु उद्योगको औसतमा ७३ प्रतिशतले, ९७दशमलव २ प्रतिशत लघु उद्यम/साना खुद्रा व्यापारको औसतमा ७५ दशमलव ३ प्रतिशतले, ९५दशमलव ५ प्रतिशत साना उद्योग/व्यवसायहरुको औसतमा ७६ दशमलव ६ प्रतिशतले, ९२दशमलव ६ प्रतिशत मझौला उद्योग/व्यवसायहरुको औसतमा ६९ दशमलव१ प्रतिशतले र ८६ दशमलव २ प्रतिशत ठूला उद्योग/व्यवसायहरुको औसतमा ६८ दशमलव ५ प्रतिशतले उत्पादन/कारोबार घटेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्