बैतडीमा भित्रियो पीसीआर मेसिन



नेपाल समाचारपत्र, बैतडी
जिल्ला अस्पताल बैतडीमा पीसीआर मेसिन आइपुगेको छ । पिसीआर मेसिन जिल्ला आइपुगे पनि जडान हुन भने केही समय लाग्ने बताइएको छ ।
प्रदेश सरकारले जिल्ला अस्पताल बैतडीमा पीसीआर ल्याब स्थापना गर्ने निर्णय गरेअनुसार पीसीआर मेसिन आइपुगेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिनुभयो । प्रयोगशाला स्थापनाका लागि भौतिक पूर्वाधार निर्माणको काम जारी रहेकाले भदौ पहिलो सातासम्म मेसिन जडान कार्य सम्पन्न गरेर भदौ दोस्रो साताबाट प्रयोगशालाबाट कोरोना परीक्षण शुरू गर्ने लक्ष्य रहेको डा. जोशीले बताउनुभयो ।
प्रयोगशालाबाट छिट्टै सेवा प्रदान गर्नका लागि आवश्यक जनशक्तिका लागि विज्ञापन आह्वान गरिएको र पीसीआर ल्याब स्थापना भएपछि कोरोना मात्रै नभएर अन्य परीक्षणका लागि समेत सहज हुने डा. जोशीले बताउनुभयो । प्रदेश सरकारले बैतडीसहित सुदूरपश्चिमका तीन ठाउँमा पीसीआर ल्याब स्थापना गर्ने गत चैत १५ गते निर्णय गरेको थियो ।
पालिकाअनुसार सेवा शुरू
कोरोना भाइरसको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले पालिकाअनुसार सेवा दिँदै भएको छ ।
जिल्लास्तरीय कोभिड कमान्ड पोस्टको बैठकले जिल्लामा आइतबार, सोमबार र मंगलबार मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, डिलाशैनी गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकाका नागरिकलाई सेवा दिने निर्णय गरेको हो । यस्तै बुधबार, बिहीबार र शुक्रबार दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाका नागरिकलाई सेवा दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गर्ने सेवालाई व्यवस्थित बनाउन र कोभिड– १९ को जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो ।
यो निर्णय बुधबारदेखि कार्यान्वयनमा आएकोे जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिने नागरिकता, राहदानीलगायतका सेवाहरू पालिका अनुसार बार छुट्याएर प्रदान गरिने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताउनुभयो ।
जिल्लाको पुर्चौडी नगरपालिकामा भने इलाका प्रशासन कार्यालयबाट नियमितरूपमा सेवा प्रवाह हुने जनाइएको छ ।
सेवा दिन आउने सेवाग्राहीलाई अनिवार्यरूपमा स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्