धुलिखेलका पार्कमा रोटरीको ‘हरियाली अभियान’



मोतीराम तिमल्सिना,काभ्रे ।

धुलिखेल नगरपालिकाको शिर काभ्रेकोट देविस्थानमा निर्माण भईरहेको पार्कमा रोटरी क्लव धुलिखेलको सहयोगमा बृक्षारोपण गरिएको छ । धार्मिक क्षेत्र भएकाले धर्मसँग सम्वन्धित विरुवाहरुको बृक्षारोपण गरिएको हो । रोटरी क्लव धुलिखेलले नगरपालिकाले निर्माण गर्ने अधिकांश पार्कहरुमा हरियालीका लागि समन्वय गरी बृक्षारोपण गर्ने अध्यक्ष शुशिलकुमार ब्याञ्जुले बताउनु भयो ।

धुलिखेल नगरपालिका वडा नम्वर ८ र ९ मा पर्ने देविस्थान तथा बलभद्र कुँवरको शालिक सहितको पार्कमा बुधबार २ सय भन्दा धेरै बृक्षारोपण गरिएको छ भने ३ सय भन्दा धेरै फुलका विरुवाहरु लगाईएको छ । नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकाले ४० हजार घर परिवारका लागि प्रति २ वोट विरुवा अनिवार्य बृक्षारोपण गर्ने गरी ८० हजार विरुवाका लागि बजेट विनियोजन गरिएको बताउनु भयो ।

उक्त विरुवाहरु प्रति एक घर २ बोट अनिवार्य लगाउने गरी ब्यवस्थापन गरिनेछ । रोटरी क्लव धुलिखेलले वातावरणका लागि हरियाली पार्क निर्माणमा थप बृक्षारोपणका लागि समन्वय गर्नेछ । धुलिखेलको उक्त काभ्रेकोट देविस्थान र बलभद्र कुँवरको पार्कमा गुँरास, जामुन, चाँप, आँप, वर पिपल, बेल, काभ्रो, समि, टिकुन, कर्मि लगायतका विरुवाहरु लगाईएको छ । जसले धार्मिक क्षेत्रको महत्व कायम राख्न सहयोग पु¥याउने छ भने हरियाली पार्कको सुन्दरता थपिदिनेछ ।

बृक्षारोपण कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जु, उपप्रमुख विमला शर्मा, वडा अध्यक्षहरु निराजन जंगम, बसन्त रानाभाट, रोटरी क्लव अफ धुलिखेलका अध्यक्ष शुशिलकुमार ब्याञ्जु, पुर्व अध्यक्ष अशोक श्रेष्ठ, काठमाडौ विश्वविद्यालयका डिन डा. राजेन्द्र कोँजु, रोटरी क्लव धुलिखेलका पुर्व सचिव मनिष ययोल श्रेष्ठ लगायत रोटरी क्लव धुलिखेलका पुर्व पदाधिकारीहरु, वर्तमान पदाधिकारीहरु र सदस्यहरु, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

रोटरी क्लव धुलिखेलले यस अघि धुलिखेल नगरपालिका वडा नम्वर ४ को २८ किलो सडक खण्ड नजिकै निर्माण भएको पार्कका लागि नगद २ लाख रुपैयाका साथै विरुवाहरु हस्तान्तरण गरेको थियो । लकडाउनको अवधीमा नमोबुद्ध नगरपालिकाको फुलबारीमा रहेको बज्रबाराही कृषि सहकारी, रविओपी र कुशादेवीमा रहेको कृषक समुहहरु मार्फत १ हजार भन्दा धेरै फलफुल सहितका विरुवाहरु उपलब्ध गराई बृक्षारोपण गरिएको छ ।

कृषक समुहलाई प्रति कृषक २ बोट निशुल्क र १ वोट खरिद गर्ने गरी कागती र एभोकाडोको विरुवा उपलब्ध गराईएको रोटरी क्लव धुलिखेलका पुर्व अध्यक्ष अशोक श्रेष्ठले बताउनु भयो । रोटरी क्लव, स्थानीय सरकार र स्थानीय संघ संस्था तथा स्थानीयहरु बीच समन्वय गरी अघि बढ्दै आएको पुर्व सचिव मनिष यगोल श्रेष्ठले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्