विधानको भिडियोपछि भिडियो



समयले फड्को मारेसँगै प्रविधिले हरेक क्षेत्रमा वर्चश्व जमाइरहेको समयमा नेपाली संगीत क्षेत्रमा पनि यसको उत्तिकै प्रभाव छ। अहिलेको समयमा गीतको अडियो मात्रले पूर्ण नभएर भिडियो पनि सँगसँगै आउनुपर्ने जरुरी मानिन थालेको छ। हरेक संगीतकर्मीले आफ्नो गीतको भिडियो राम्रो बनोस् भन्ने चाहनाअनुरूप उत्कृष्ट क्षमता भएका निर्देशकलाई खोज्ने गर्छन्।

यति बेला निर्देशक विधान कार्कीले लगातार चर्चित संगीतकारको संगीत तथा चर्चित गायक–गायिकाका गीतको म्युजिक भिडियो निर्देशन गरिरहेका छन्। अहिले नोबल कोरोना भाइरसको महामारीका कारण थला परेको संगीत क्षेत्रलाई ब्युँताउन धेरै संगीतकर्मी लागिपरेका छन्। यही समयमा कार्कीले लगातार चर्चित गीतहरू निर्देशन गरेर सार्वजनिक गरिरहेका छन्।

उनले निर्देशन गरेका पछिल्ला तीन म्युजिक भिडियो मैले बोलेको छैन ढाँटेर, मेरो देश नेपाल, आँखामा बसाउ मलाई चर्चित बनिसकेका छन्। उनले निर्देशन गरेका यी तीनवटै गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ भने विभिन्न चर्चित कलाकारले स्वर भरेका छन्।

कार्कीले १६ जना राष्ट्रिय कलाकारको गाएको देशभक्ति गीतसमेत यही बीचमा निर्देशन गरेका थिए। एक दशकदेखि म्युजिक भिडियो निर्देशन गर्दै आएका कार्की अन्य तीन म्युजिक भिडियो रिलिज गर्ने तरखरमा छन्।

 

प्रतिक्रिया दिनुहोस्