हाउडे मायाका साथ छड्के तिलहरी



तीज आउ अझै आधा महिना बाँकी छ। तर, गायक–गायिकालगायत विभिन्न संगीतकर्मीले महिनौंदेखि नेपाली हिन्दू महिलाहरूको यो महान् पर्वलाई लक्षित गीत यससम्बन्धी गीत–संगीत तयार पार्दै आएका छन्। तीज गीत प्रकाशन र प्रसारणका कारण हाल अन्य विधाका गीत–संगीत छायाँमा परेजस्तो भइरहेको छ।

यसै सिलसिलामा नजिकिँदै गाएको तीज पर्वलाई लक्षित गर्दै गायक–गायिका टेक अधिकारी र सिर्जना खत्री ‘हाउडे माया’ को स्वरमा तीज गीत छड्के तिलिहरी सार्वजनिक गरिएको छ। उक्त सन्देशमूलक तीज गीतमा रेशम प्रधानको लय तथा शब्द रहेको छ। अन्य वर्षभन्दा फरक र मौलिकपनलाई ध्यानमा राखेर मनोरञ्जनका साथै सन्देशमूलक गीत ल्याएको र दर्शकले गीतलाई माया गर्नेमा आफू विश्वस्त रहेको गायिका सिर्जनाले बताइन्। केही वर्षयता तीजलाई खर्चिलो र तडकभडकका साथ मनाइँदै आइएको छ। तर, यस गीतले तीजलाई आफ्नो अवस्था र क्षमताअनुसार तडकभडक नगरी पनि मनाउन सकिन्छ भन्ने सन्देश दिएको छ।

यो गीतमाथि आकर्षक म्युजिक भिडियो पनि निर्माण गरिएको छ। यादव देवकोटा, आयुष्मा कार्की, अनु खड्का, बिमु राउत, विपना चौलागाईं, कञ्चन बस्नेतलगायतको अभिनय रहेको गीतको भिडियो रमाइलो बनेको छ। युवराज खत्रीको निर्देशन तथा सम्पादन रहेको भिडियोलाई सृजन श्रेष्ठले छायांकन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्