डलास काउब्वाएज मोस्ट भ्याल्युएबल स्पोर्ट्स टिम



वासिङ्टन, (एजेन्सी)  ।

विश्वप्रसिद्ध फोब्र्स म्यागजिनको मोस्ट भ्याल्युएबल (सर्वाधिक मूल्यवान्) स्पोर्ट्स टिमको सूचीमा अमेरिकाको रग्बी क्लब डलास काउब्वाएजले लगातार पाँचौंपटक शीर्ष स्थान कब्जा गरेको छ।

काउब्वाएजको २०२० मा ब्रान्ड भ्यालु ५ दशमलव ५ बिलियन डलर पुगेको उल्लेख गरिएको छ। कोरोना महामारीले पनि डलास टिमको आम्दानीमा केही नोक्सानी भएको छैन। विश्वभर कोरोना भाइरसका कारण खेल जगत्ले भारी नोक्सानी व्यहोर्नुपर्दा पनि अमेरिकी टोलीले भने नोक्सानी व्यहोर्नु परेको छैन। गत वर्ष यो टिमले ४ सय २० मिलियन डलर मुनाफा गरेको थियो।

खेल जगत्मा यो कुनै पनि स्पोर्ट्स टिमले एक वर्षमा आम्दानी गरेको कीर्तिमानी आम्दानीसमेत हो। यस सूचीमा अमेरिकाको नेसनल फुटबल (रग्बी) लिग (एनएफएल) का २७ वटा क्लब रहेका छन्। त्यसपछि अमेरिकाकै नेसनल बास्केटबल एसोसिएसन (एनबीए) को ९ टिम छन्। टप–५ मा पनि एनबीएकै तीनवटा टिम परेका छन्।

यस सूचीको दोस्रो स्थानमा रहेको न्युयोर्क यान्किजको यस वर्ष ५ बिलियन डलर ब्रान्ड भ्याल्यु पुगेको छ। त्यस्तै, न्युयोर्क निक्स, लस एन्जेल्स लेकर्स र गोल्डेन स्टेट वारियर्सले क्रमशः तेस्रोदेखि पा“चौं स्थान ओगटेका छन्। तेस्रो स्थानको न्युयोर्क निक्सको ४ दशमलव ६ बिलियन, लस एन्जेल्स लेकर्सको ४ दशमलव ४ बिलियन र गोल्डेन स्टेट वारियर्सको ४ दशमलव ३ बिलियन अमेरिकी डलर ब्रान्ड भ्यालु रहेको छ।

त्यसैगरी, स्पेनिस फुटबल क्लब रियल मेड्रिड ४ दशमलव २४ बिलियन डलर भ्यालुसहित छैठौं स्थानमा छ। सातौं स्थान भने ४ दशमलव १ बिलियन डलरसहित न्यू इंग्ल्यान्ड पाट्रियोट्सले ओगटेको छ। त्यस्तै, आठौं स्थानको लियोनल मेसीको टिम बार्सिलोनाको ब्रान्ड भ्यालु ४ दशमलव शून्य २ बिलियन डलर छ।

त्यसैगरी, ३ दशमलव ९ बिलियन डलरसहित न्युयोर्क जाइन्ट्सले नवौं स्थान ओगट्दा १०औं स्थानमा रहेको इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको ब्रान्ड भ्यालु ३ दशमलव ८१ बिलियन अमेरिकी डलर छ । यस सूचीको शीर्ष १० भित्र तीनवटा युरोपेली खेल टिम पनि पर्न सफल भएका छन्।

क्रिकेटअन्तर्गत इन्डियन प्रिमियर लिग आइपीएलको ब्रान्ड भ्यालुको कुरा गर्ने हो भने मुम्बई इन्डियन्स अग्रपंक्तिमा रहेका छन्। यो वर्ष मुम्बईको ब्रान्ड भ्यालु ८ सय ९ करोड भारतीय रुपियाँ रहेको छ। गत वर्षको तुलनामा यो ८ दशमलव ५ प्रतिशतले वृद्धि भएको हो।
दोस्रो स्थानमा महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नई सुपर किंग्स रहेको छ। त्यस्तै, तेस्रो स्थानमा कोलकाता नाइट राइडर्स, चौथोमा रोयल च्यालेन्जर्स बेंग्लोर तथा पाँचौंमा सनराइजर्स हैदरावाद रहेका छन्।

त्यसैगरी, छैठौंदेखि आठौंसम्म क्रमशः दिल्ली क्यापिटल्स, किंग्स इलेभेन पञ्जाब र राजस्थान रोयल्स रहेका छन्। आइपीएल सूचीको सातौं स्थानसम्मका टोलीको गत वर्षको तुलनामा ब्रान्ड भ्यालु बढे पनि आठौं स्थानको राजस्थान रोयल्सलाई भने यो वर्ष ४ दशमलव ५ प्रतिशत घाटा लागेको छ। गत वर्ष राजस्थानको ब्रान्ड भ्यालु २ सय ८४ करोड भारतीय रुपियाँ रहेकोमा हाल २ सय ७१ भारुमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्