‘विश्वास टुट्न दिने छैन’ : सिलवाल



काठमाडौं, (नेस) ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले जुन विश्वासका साथ आफूलाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ त्यो विश्वासलाई कहिले टुट्न नदिने बताएका छन्।

नेपाल भलिबल संघले आयोजना उनकै सम्मानमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा सदस्य–सचिव सिलवालले भने– ‘खेलकुदको विकासका लागि जुन विश्वासका साथ मलाई नियुक्ति गरिएको छ त्यसमा इमानदार भएर अघि बढ्नेछु। मलाई पुनः जिम्मेवारी दिएकोमा नेपाल सरकार, खेलकुद मन्त्रालय र सदस्य–सचिव सिफारिस समितिलाई धन्वाद दिन चाहन्छु। उहाँहरूको विश्वासलाई कहिले टुट्न दिने छैन।’

सदस्य–सचिव सिलवालले राष्ट्रिय खेल भलिबलको एउटा छुट्टै कभर्डहल पनि नहुनु दुःखको कुरा भएको बताउँदै आफ्नोतर्फबाट त्यसका लागि पहल शुरू भइसकेको बताएका छन्। उनले भलिबल संघलाई पनि कभर्डहल निर्माणका लागि गम्भीर भएर अघि बढ्न सुझाउँदै अबको चार वर्षको अवधिमा खेलकुदलाई सम्मानयोग्य क्षेत्र बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।

सो अवसरमा सदस्य–सचिव सिलवालसहित राखेपका नवनियुक्त सदस्यद्वय रिमबहादुर रानाभाट र इन्दिरा निरौलालाई पनि नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जितेन्द्र चन्दलगायतका पदाधिकारीले बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना दिएका थिए।

प्रतिक्रिया दिनुहोस्