उपाधिसँगै सर्वाधिक गोलकर्ता बने रोनाल्डो



लन्डन, (एजेन्सी) । 

क्रिस्टियानो रोनाल्डोले आफ्नो करिअरमा कुल ७ पटक घरेलु लिगको उपाधि जितेका छन्। त्यो पनि युरोपका फरक–फरक लिगबाट। अनि, उपाधि जितेको सातैपटक उनी सर्वाधिक गोलकर्तासमेत बनेका छन्। सातपटक घरेलु लिग उपाधि जित्दा रोनाल्डोले विश्वकै प्रतिष्ठित मानिने लिगहरूबाट खेलेका छन्। युरोपेली फुटबलकै पावरहाउसको रूपमा परिचित छन्– इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरी ए र जर्मन बुन्देस लिगा।

बुन्देसलिगा हालसम्म नखेलेका रोनाल्डोले सबैभन्दा बढी तीनपटक इंग्लिस प्रिमियर लिगको उपाधि जितेका छन्। त्यस्तै, रोनाल्डोले दुईपटक स्पेनिस ला लिगा र दुईपटक सिरी ए उपाधि पनि उचालेका छन्। हालसालै इटालियन सिरी ए को जारी सिजन समाप्त भएको छ। जसमा रोनाल्डोको क्लब युभेन्ट्स लगातार नवौंपटक लिग च्याम्पियन बनेको छ।

सिजन २०१९/२० मा युभेन्ट्सले उपाधि जितेसँगै पोर्चुगिज स्टार रोनाल्डोले पनि लगातार दुईपटक सो उपाधि उचाल्ने सफल खेलाडी बनेका छन्। योसँगै उनको नाममा एउटा कीर्तिमान पनि कोरिएको छ। त्यो हो सातपटक घरेलु उपाधि जित्दा सातैपटक सर्वाधिक बन्ने खेलाडी।

यो रेकर्ड स्पेनिस बार्सिलोनाका लियोनल मेसीका नाममा समेत छैन। मेसीले बार्सिलोनाबाट कुल १० पटक ला लिगा जित्दा जम्मा ६ पटक मात्रै टिमका लागि सर्वाधिक गोल गरेका छन्।

रोनाल्डोले सन् २००६ देखि २००९ सम्म इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडमा बिताएका थिए। उक्त समय युनाइटेडले प्रिमियर लिग उपाधिमाथि ह्याट्रिक नै गरेका थिए। त्यस क्रममा रोनाल्डो २००६/०७ सिजनमा ३४ म्याचमा १७ गोल गरेर सर्वाधिक गोलकर्ता बनेका थिए। त्यस्तै, उनले २००७/०८ सिजनमा ३४ खेलमा ३१ गोल तथा २००८/०९ मा ३३ खेलमा १८ गोल गरेका थिए।

सन् २०१० मा स्पेनिस महारथी क्लब रियल मेड्रिड पुगेका उनले त्यसको एक वर्षपछि नै आफ्नो टोलीलाई ला लिगा च्याम्पियन बनाउ“दा सर्वाधिक गोलकर्ताको सूचीमा आफ्नो नाम लेखाउन सफल भएका थिए। उनले सिजन २०११/१२ मा ३८ खेलमा ४६ गोल गरेका छन्। त्यस्तै, रियल मेड्रिडले सिजन २०१६–१७ को ला लिगा जित्दा पनि २९ खेलमा २५ गोल गरेर रोनाल्डो सर्वाधिक गोलकर्ता बनेका थिए।

रियलबाट सन् २०१८ मा इटालियन सिरी ए क्लब युभेन्ट्समा अनुबन्धित भएपश्चात् रोनाल्डोले पहिलो सिजनमा नै ३१ खेलमा २१ गोल गरेका थिए। त्यस्तै, जारी सिजनमा पनि युभेन्ट्सले लगातार नवौंपटक सिरी ए को उपाधि जित्दा ३३ खेलमा ३१ गोल रोनाल्डोकै नाममा छ। त्यति मात्र होइन, यसपटक उनले युरोपियन गोल्डेन बुट होडमा पनि बलियो चुनौती पेस गरेका थिए। तर, अन्तिम दुई खेलमा उनलाई परिस्थितिले साथ नदिएपछि गोल्डेन बुट जित्नबाट चुकेका थिए।

प्रतिक्रिया दिनुहोस्