नेप्सेमा सामान्य सुधार



नेपाल समाचारपत्र, काठमाडौं ।

लगातार गिरावट आएको शेयर बजारमा सोमबार भने सामान्य सुधार भएको छ । यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७ दशमलव ५९ अंकले बढेर १४०३ दशमलव ८६ बिन्दुमा पुगेको छ ।

कुल १९० कम्पनीको ५३ लाख ४२ हजार ५८१ कित्ता शेयर एक अर्ब २९ करोड रुपियाँमा कारोबार भएको छ । सोमबार सेन्सेटिभ परिसूचक पनि १ दशमलव ४७ अंकले बढेर २९४ दशमलव २४ बिन्दुमा पुगेको छ । यस दिन कारोबार भएका १२ समूहमध्ये तीन समूहको परिसूचक घटे पनि बाँकी समूहको परिसूचक बढेको छ ।

परिसूचक घट्ने समूहमा जलविद्युत् समूह ३ दशमलव ५५ अंकले घट्दा वित्त समूह शून्य दशमलव ८४ र सामूहिक लगानी कोष समूह शून्य दशमलव शून्य ६ अंकले घटेका छन् । तर, बैंकिङ समूह ७ दशमलव शून्य ५, व्यापार समूह ९ दशमलव ४४, होटल समूह ३३ दशमलव ७७, विकास बैंक समूह ६ दशमलव २४ अंकले बढेका छन् ।

त्यस्तै निर्जीवन बीमा समूह ४६ दशमलव ७१, उत्पादन समूह ८ दशमलव १५, अन्य समूह ३ दशमलव ८२, लघुवित्त समूह १५ दशमलव ७३ र जीवन बीमा समूह ५८ दशमलव ७८ अंकले बढेका छन् । कारोबार रकमका आधारमा प्रभु बैंकको अगाडि छ । यस बैंकको संस्थापक शेयर ३४ करोड २९ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ । यस्तै नेपाल पुनर्बीमा कम्पनीको १० करोड चार लाख, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ३२ लाख रुपियाँको शेयर कारोबार भएको छ ।

सोमबार अजोड इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्सको शेयर मूल्य पनि नौ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । समग्र परिसूचकमा सुधार हुँदा भने हाइड्रोपावर कम्पनीहरूले गुमाएका छन् । जसमध्ये दिव्यश्वरी हाइड्रोपावर, युनियन हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट, छ्याङ्दी हाइड्रोपावर र युनाइटेड फाइनान्सका लगानीकर्ताले सबैभन्दा गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्