भूमि व्यवस्था, सहकारी मन्त्रालयको वार्षिक प्रगतिमा सुधार



नेपाल समाचारपत्र, काठमाडौं ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ३ करोड जनताको सम्पत्ति सुरक्षा गर्ने जिम्मेवारी भूमि व्यवस्था मन्त्रालयलाई भएकाले जिम्मेवारीपूर्वक काममा लाग्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालयलले सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधानको बैठकलाई सम्बोधन गर्दै मन्त्री अर्यालले कर्मचारीलाई त्यस्तो निर्देशन दिनुभएको हो ।

‘जनताको सम्पत्तिको रक्षा गर्ने, जनताको सम्पत्तिको दस्तावेजको स्क्यानिङ गरेर प्रविधिमैत्री बनाउने जिम्मेवारी हाम्रो का“धमा रहेको छ’, मन्त्री अर्यालले त्यस अवसरमा भन्नुभयो–‘ ३ करोड जनताको सम्पत्ति रक्षा गर्ने हाम्रो जिम्मेवारी रहेको छ । तपाईहरु जिम्मवारीपूर्वक काममा लाग्नुस् ।’

मन्त्रालयले विगतमा छुटाइएको भू–भाग समेटेर नेपालको अद्यावधिक/राजनीतिक नक्सा सार्वजनिक, आफ्नै स्रोत साधनमा सगरमाथाको उचार्इं मापन, अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा सरकारका नाममा फिर्तालगायतका महत्वपूर्ण कार्य आफ्नो कार्यकालमा गरिएको भन्दै मन्त्री अर्यालले स्थानीय तहमा सेवा हस्तान्तरण, भूमि बैंकको स्थापना, भूमिहीन सुकुम्बासीलाई जमीनको मालिक बनाउने महत्वपूर्ण जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो ।

प्रत्येक महिनाको कार्यतालिका बनाएर नतिजामूखी कार्यमा लाग्न आग्रह गर्दै मन्त्री अर्यालले बनाएको तालिकाअनुसार समयमै काम पूरा गर्ने कार्यमा अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिनुभयो । पहिलो चौमासिकदेखि नै कस्सिएर काममा लाग्नुपर्ने भन्दै उहाँले ऐन, नियम, कार्यविधि, नीतिसम्बन्धीका लक्ष्य समयमै सम्पन्न गर्नका निम्ति तदारुकताका साथ लाग्न आग्रह गर्नुभयो ।

सुशासन र सेवाग्राहीका सन्तुष्टिको लागि लाग्न आग्रह गर्दै उहाँले मालपोत र नापीको हालको छवीलाई जनपक्षीय, जनमैत्री छ भन्ने विश्वास दिलाउन सक्दो प्रयास गर्नुपर्ने बताउनुभयो । सहकारीको नियमित अनुगमन, निरीक्षणलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने मन्त्री अर्यालले बताउनुभयो ।

कोरोना महामारीको विषम परिस्थितिमा पनि गत आर्थिक वर्ष र यस आर्थिक वर्षको प्रगतिमा तात्विक फरक नहुनु भनेको महत्वपूर्ण उपलब्धि रहेको मन्त्री अर्यालको भनाइ थियो ।

गत आर्थिक वर्षमा मन्त्रालयले ७३ दशमलव २० प्रतिशतको वित्तीय तथा ८० दशमलव ११ प्रतिशतको भौतिक प्रगति गरेको छ । अघिल्लो आर्थिक वर्षमा ६८ दशमलव ८० प्रतिशत वित्तीय र ९६ दशमलव ९४ प्रतिशत भौतिक प्रगति मन्त्रालयको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्