नेपालगन्ज उपमहानगरपालिका कार्यालय ‘सिल’



बाँके, (नेस) नेपालगञ्ज उपमहानगरपालिका कार्यालय ‘सिल’ गरिएको छ । चार जना अधिकृत, वडा कार्यालयका दुई अधिकृत, कम्प्यूटर अपरेटर र एकजना वडाध्यक्षमा कोरोना देखिएपछि नेपालगन्ज उपमहानगरपालिका सील गरिएको हो । भेरी अस्पताल, नेपालगञ्जले सोमबार दुईलट गरेर २० जना कोरोना संक्रमितको विवरण सार्वजनिक गर्दा यी आठजना परेका थिए । अरु १२ जनामा तीन जना बाँकेका जग्गा व्यवसायी, मार्बल पसले र सहकारी बैंकका कर्मचारी थिए भने सात जना रुकुमपूर्व र दुई जना सल्यानका थिए ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले सूचना जारी गर्दै अर्को सूचना नहुँदासम्म उपमहानगरपालिका कार्यालयलाई सील गरिएको छ । नेपालगञ्जमा कोरोना समुदायमा फैलिएको चिन्ता गरेर तीन दिन निषेधाज्ञा गरेको दोस्रो दिन सोमबार यतिका मान्छेमा कोरोना देखिएको छ ।
नेपालगञ्जमा यसअघि आन्तरिक राजश्व कार्यालयका अधिकृतहरुसहित त्यहाँ बस्ने १२ जनामा कोरोना

देखिएपछि आन्तरिक राजश्व कार्यालयलाई नै आइसोलेसन सेन्टरमा परिणत गरिएको छ । जिल्ला अदालतका सात जनालाई कोरोना देखिएको छ । यातायात कार्यालयका एकजना कम्प्यूटर अपरेटरलाई कोरोना पुष्टि भएको छ । सधैं भीडभाड रहने त्रिभुवनचोक आसपासका दर्जनबढीमा कोरोना देखिएपछि अधिकारी अझ झस्किएका छन् । समुदायमा कोरोना फैलिएकाले तीन दिने निषेधाज्ञा सकिएपछि कोर एरियालाई सील गरेर जाने बारेमा छलफल भइरहेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले यसका लागि जनप्रतिनिधिहरुसँग छलफल गरिरहनु भएको छ ।

यसैबीच, कोरोना देखिएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले आफ्नो स्वास्थ्यप्रति चिन्ता गर्ने शुभेच्छुकलाई खजुरास्थित आइसोलेसन अस्पतालबाटै आफू ठिक रहेको सन्देश पठाएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाको प्रवक्तासमेत रहेका अध्यक्ष रिजालले भन्नुभएको छ, ‘वडा कार्यालयको काममा निरन्तर खटिरहेको अवस्थामा आज साउन १९ गते मलाई कोरोनाको संक्रमण देखियो । हाल खजुरास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा स्वास्थ्य लाभ गरिरहेको छु । हाल मेरो स्वास्थ्य अवस्था सामान्य छ । यस परिस्थितिमा शुभेच्छा र सद्भावका लागि धन्यवाद ।’

प्रतिक्रिया दिनुहोस्