उपत्यकामा कोरोना संक्रमित ह्वात्तै बढे



काठमाडौं । कोरोना संक्रमणका कारण विश्व त्रसित भएर तग्रिँदै गरेको अवस्थामा पुग्दा नेपाल भने कोरोना संक्रमणको चपेटामा परेको छ । विना पूर्वतयारी लकडाउन गर्ने, लकडाउन खोल्ने र पुनः लकडाउन गर्ने गर्नाले कोरोना संक्रमित ह्वात्तै बढेका छन् ।

सरकारले पहिला आफूले सुरक्षा अपनाएर जनतालाई कार्यान्वयन गर भनेर सिकाउनुपर्ने बेलामा स्वास्थ्य तथा जनसंख्यामन्त्री लकडाउनका बेलामा कूटनैतिक नियोका व्यक्तिसँग त्रिभुवन विमानस्थलमै हात मिलाउनेदेखि आफ्ना विश्वास पात्र आए भने नीतिनियमको पर्वाह नै नगरी मास्क नै नलगाई मन्त्रालयमा भेटघाट गर्ने, सामाजिक दूरी समेत पालना नगरी फोटो खिचाउने जस्ता कार्य गर्दै आउनुभएको छ ।

सरकारी निकायबाट कोरोना संक्रमण पुष्टी भएका ५७ जनाको मृत्यु भैसकेको छ भने परिक्षण नै नभई विना रेकर्ड को कहाँ संक्रमित भयो र मृत्यु भयो भन्ने एकिन तथ्यांक नेपालमा छैन ।

यस्तो अवस्थामा स्वास्थ्य तथा जनसंखया मन्त्री भानुभक्त ढकाल भने सामाजिक संघसंस्था, व्यापार व्यवसायका प्रयोजनले आएका व्यक्तिहरुसँगको भेटघाटमा व्यस्त देखिनुहुन्छ । आइतबार विराटनगरबाट आएको एउटा प्रतिनिधिमण्डलसँग मन्त्रालयमा भेटघाट गरी फोटो खिचाउने क्रममा उहाँ आफैले कोभिडको नियम पालना नगरेको प्रस्ट देखिन्छ ।

त्यतिबेला मन्त्री ढकालले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विनोद ढकाल, मोरङकी नेकपा नेतृ नमिता न्यौपाने र नेचुरल प्याथिक्स अस्पतालका अध्यक्ष जगत बस्नेतसहितको टोली डेलिगेसन गएको र नियम पालन नगरेको कुरा मन्त्री ढकालकै कार्यकक्षमा खिचिएको फोटो भिजिटरको फेसबुकमा छाएको छ ।

मन्त्री ढकाल आफैले जारी गरेको जनस्वास्थ्य सुरक्षाको ‘प्रोटोकल’ थाहा नभएको त हैन ! नियम बनाउने मान्छे आफैले पालन गरेर सर्वसाधारण जनतालाई सिकाउनुको पर्नेमा आफैले पालना नगर्दा समाजमा कस्तो सन्देश जाला ?

उहाँकै मन्त्रालयले जारी गरेको प्रोटोकलमा, अति आवश्यक नपरी घरबाट ननिस्कौं, निस्के पनि भेटघाट गर्दा दुई मिटरको सामाजिक दूरी कायम गरौं । यो दूरी कायम गर्न सकिँदैन भने नजाऔं । मास्क अनिवार्य लगाऔं । कपडाकै भए पनि वा पाँच रुपैयाँमा पाइने सर्जिकल मास्क प्रयोग गरौं । साबुन पानीले हात धोऔं नभए सेनिटाइजर प्रयोग गरौं जस्ता नियम उल्लेख गरिएको छ ।

यो नियम संक्रामक रोगबाट बच्नका लागि सबैले पालना गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘जो कोहीले नियमको पालना नगरे आँखा, नाक र मुखको माध्यमबाट कोरोना भाईरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । त्यसैले नियमको पालना नगर्नेलाई संक्रामक रोग नियन्त्रण ऐन २०२२ अनुसार कारबाही गर्न सकिन्छ ।’

स्वास्थ्य मन्त्रालयका सूचना अधिकृत उमाकान्त अधिकारीका अनुसार प्रोटोकलको पालना गराउँन गृह मन्त्रालय मार्फत देशैभरि सुरक्षा निकायमा २ पटक पत्राचार नै भैसककेको छ । नियमको पालना नगर्नेलाई सचेत गराउने, जरिवाना तिराउने र पटक पटक उल्लघन गरे एक महिना कैद र जरिवाना समेत गर्ने व्यवस्था ऐनमा छ ।

हाल सम्म सोही ऐन अनुसार गृह मन्त्रालयले ८ हजार जनालाई कारवाही र १ लाख ८० हजारलाई सचेत गराईसकेको छ । यस मध्ये १६ हजारलाई माक्स दिएर र ९ हजारलाई जरिवाना तिराईसकेको छ ।

डा. गौतम भन्नुहुन्छ– ‘कोरोनाबाट जोगिने उपाय भनेको जनस्वास्थ्यका मापदण्ड अपनाउनु नै हो । नियमको पालना नगर्दा आफू त संक्रमणको शिकार हुइन्छ भइन्छ अरुलाई समेत सखाप बनाइन्छ । बेलैमा सावधानी अपनाएर आम नागरिकलाई जोगाई देशले धान्नै नसक्ने महामारी रोक्न सबैले साथ दिऊँ ।’

यतिबेला देशको ठूलो जनघनत्व रहेको काठमाडौ थप जोखिममा पर्दै छ । सोमबार मात्र उपत्यकामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा ८ जना, भक्तपुरमा १ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालमा काठमाडौंमा १७ जना, वीर अस्पताल प्रयोगशालमा २ जना, त्रिवि शिक्षण अस्पतालको प्रयोगशलामा १ जना, पाटन अस्पतालमा ५, भक्तपुरका ४ र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको मन्त्रालय प्रवक्ता डा. गौतमले बताउनुभयो ।

त्यसैगरी नेपाल प्रहरी अस्पतालको प्रयोगशालमा काठमाडौंका २ जनामा र स्टार अस्पतालमा काठमाडौंका ५ जना, ललितपुरका १ जना, विरेन्द्र अस्पतालको प्रयोगशालामा काठमाडौंका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको र अहिलेसम्म उपत्यकामा ६ सय ६५ जनामा कोरोना संक्रमण देखिएकोे छ । जसमा काठमाडौंमा ४ सय ९३, ललितपुरमा १ सय ८ र भक्तपुरमा ६४ जनामा संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ ।

डा.गौतमका अनुसार दैनिक तीनवटा नाकाबाट उपत्यकामा ८ सयका दरले मानिसहरु प्रवेश गरिरहेका छन् । हवाई मार्गबाट पनि आउने क्रम जारी छ । सबैको पिसिआर परिक्षण गरेर १४ दिन क्वारेन्टाईनमा राखेर मात्र प्रवेश दिनुपर्छ । सोमबार ४ सय १८ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर २० हजार ७ सय ५० जनामा संक्रमण पुष्टि भएको छ ।

वीरगंजको अवस्था अध्ययनका लागि स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा टोली खटाईएको पनि उहाँले जानकारी गराउनुभयो । उहाँले स्वास्थ्य सुरक्षो अपनाउन सकिएन र यसरी नै संक्रमितको संख्या बढ्दै गयो भने काठमाडौंमा पनि फेरि लकडाउन हुन सक्छ । कोरोना संक्रमित बढ्नुमा स्थानिय निकायले निगरानी गर्न नसक्नु नै हो ।

नमूना दिएको मान्छे रिपोर्ट समेत पर्खदैन र स्वास्थ्य संस्थाले फोन गर्दा खुलेआम शहर बजार घुमिरहेको बताउँछन् । यस्तो अवस्थामा स्वास्थ्य मन्त्रालयले स्वास्थ्य परिक्षण गर्ने कि सबैलाई नियमको पालना गराउँदै हिड्ने ? सबै निकायले आ आफ्नो ठाउँबाट भूमिका निर्वाह गरे मात्र कोरोना नियन्त्रण सम्भव छ, डा.गौतम भन्नुहुन्छ ।
लकडाउन खुलेको पछिल्लो एक साताको तथ्यांक

मिति ः संक्रमित

  • २०७७।४।१९- ४१८
  • २०७७।४।१८- २४६
  • २०७७।४।१७- ३१५
  • २०७७।४।१६-२२४
  • २०७७।४।१५-२४
  • २०७७।४।१४- २१०
  • २०७७।४।१३- ३११

प्रतिक्रिया दिनुहोस्