कोरोना परीक्षण मेसिनसहित बीर अस्पताल र प्रसुति गृहलाई काठमाडौं महानगरबाट स्वास्थ्य सामाग्री तथा उपकरण सहयोग



न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौं महानगरपालिकाले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र परोपकार प्रसुति तथा स्त्री रोग अस्पताललाई कोभिड – १९ परीक्षणका गर्ने मेसिनसहित अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । भगिनी सम्वन्ध स्थापित जनवादी गणतन्त्र चीनको तिब्बत स्वशाशित क्षेत्रमा रहेको ल्हासा नगरले महानगरपालिकालाई अनुदान स्वरुप दिएका सामाग्रीमध्ये केही सामाग्री ती दुई अस्पताललाई आज हस्तान्तरण गरिएको हो ।

असार ११ गते तातो पानी नाकाको मितेरी पुलमा ल्हासा सहरका विदेश विभाग प्रमुख झास जियकनसहितको टोलीले काठमाडौँ महानगरपालिकाको अन्तरराष्ट्रिय सचिवालय र बिपद् व्यवस्थापन बिभागका अधिकारीलाई सामान हस्तान्तरण गरेका थिए । ती तिब्बतको खासाहुँदै तातोपानी ल्याइएका थिए । त्यसपछि सिन्धुपाल्चोक हुँदै काठमाडौं ल्याइएको थियो ।

१४ लाख ९९ हजार ३ सय ७५ चिनियाँ युआन अर्थात करीब २ करोड ५७ लाख २९ हजार २७५ रुपैयाँ बराबरका ती स्वास्थ्य सामाग्रीमध्ये आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा वीर अस्पताललाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन १ थान, न्युक्लेइक एसिड एट्राक्सन रिएजेन्ट ३००० थान, भिटिएम १५ सय थान, आरडिटी १५ सय थान र पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पिपिइ) ५ सय थान हस्तान्तरण गरिएको हो ।

त्यसैगरी प्रसुति तथा स्त्री रोग अस्पताललाई पिसिआर मेसिन एक थान, भिटिएम १५ सय थान, आरडिटी १५ सय थान र पिपिइ ५ सय थान हस्तान्तरण गरिएको काठमाडौँ महानगरपालिका शहरी स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र विलास बज्राचार्यले जानकारी दिनुभयो ।

प्रसुति गृहलाई हस्तान्तरण गरिएको पिसिआर मेसिनको मूल्य चार लाख ४० हजार युआन र वीर अस्पताललाई हस्तान्तरण गरिएको स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिनको मूल्य १ लाख युआन रहेको महानगरपालिकाले जानकारी दिएको छ ।
स्वास्थ्य सामाग्री हस्तान्तरणपछि महानगरपालिकाका प्रमुख शाक्यले — भगिनी सम्बन्ध भएको ल्हासा नगरबाट काठमाडौँ महानगरपालिकालाई अनुदानस्वरुप प्राप्त स्वास्थ्य सामाग्री स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर दुई अस्पताललाई हस्तान्तर गरिएको बताउनुभयो । शाक्यले भन्नुभयो, ‘यो अहिलेको अवस्थामा पर्याप्त सहयोग होइन । तैपनि उपलब्ध श्रोतको उच्च उपयोग गरेर सक्दो बढीलाई सेवा दिनुहोला । हामी आउँदा दिनमा सहयोग बढाउनेछौं ।’

विगतमा काठमाडौँ महानगरपालिकाले स्वास्थ्यका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको बताउँदै उहाँले भन्नुभयो ‘भोलिका दिनमा पनि तपाईँहरुसँग समन्वय गरेर सहरी स्वास्थ्यको अवस्था सुधारमा काम गर्न चाहन्छौँ । आर्थिक बर्ष २०७७÷०७८ को बजेटमा कोभिड–१९ को असर, त्यसको रोकथाम र यसवाट पर्न सक्ने प्रभाबको न्युनीकरण लगायतका विशेष कार्यक्रमका लागि बजेट विनियोजन गरेका छौँ ।’

कार्यक्रममा बोल्दै वीर अस्पतालका निर्देशक डाक्टर केदारप्रसाद सेन्च्युरीले, महानरपालिकासँग थप सहयोगका अपेक्षा गरेको बताउनुभयो । प्रसुति गृहका निमित्त निर्देशक डाक्टर सन्दिप पौडेलले भन्नुभयो — बिरामीको अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने अवस्थामा महानगरबाट प्राप्त सहयोगबाट अस्पताललाई ठूलो राहत भएको छ ।

काठमाडौँ महानगरपालिकाको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका अधिकृत यम वसेलकाअनुसार ल्हासाबाट स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन १ थान, यसमा प्रयोग हुने रिजेन्ट ३ हजार थान, पिसिआर मेसिन १ थान, भिटिएम ३ हजार थान प्राप्त भएको हो । यस्तै आरडिटि किट ३ हजार थान, डिस्पोजेबल सर्जिकल पञ्जा २ हजार ५ सय थान, मेडिकल मास्क ३ हजार थान, इन्फ्रारेड थर्मोमिटर ३ सय ७५ थान र पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पिपिइ) २ हजार छ सय थान प्राप्त भएका छन् । अन्य सामाग्री महानगर आफैंले प्रयोग गर्ने जनस्वास्थ्य महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्