काभ्रेमा बँदेल र बाँदरको बथानले मकैबाली नष्ट



मोतीराम तिमल्सिना,काभ्रे ।

मकै पाक्न लागेको समयमा बँदेलले क्षति पुर्‍याउन थाले पछि कृषकहरु चिन्तत देखिन थालेका छन् । जिल्लाका अधिकांश स्थानमा बँदेलको आतकंले कृषकहरुले हैरानी ब्यहोर्न थालेका छन् । रातभर कुर्दा समेत बँदेलले एकै पटक एक रोपनी भन्दा धेरै क्षेत्रफलमा लगाएको बाली नष्ट गराउन थालेको छ ।

‘औपचारिक रुपमा धुलिखेल र नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधिहरुले बँदेलको आतंकले हैरानी ब्यहोर्नु परेकाले नियन्त्रणका लागि सहजिकरण गरिदिन पत्र प्राप्त भएको छ’–डिभिजन बन कार्यालय काभ्रेका सहायक बन अधिकृत न्हुच्छेकृष्ण श्रेष्ठले भन्नुभयो–‘२०७७ असार मसान्तसम्म बँदेल मार्न पाउने ऐन थियो, साउन महिनाबाट उक्त ऐनको अवधि सकिएकाले बँदेल मार्ने पाईदैन तर पनि नियन्त्रणमा लिन कठिन छ ।’

बँदेल नियन्त्रणमा लिएर पाल्ने, बन्ध्याकरण गर्ने, व्यवसायिक पालन शुरु गरी थप आम्दानीको श्रोत बनाउने र खाद्यबाली तथा मानविय क्षति हुन नदिने तर्फ बनेको नियमावलीलाई ब्यवहारमा ल्याउन जरुरी रहेको सरोकारवाला निकायहरुले बताएका छन् । नमोबुद्ध नगरपालिका वडा नम्वर २ का कृषक दिपक अधिकारीले रातभर बँदेल धपाउँदा समेत मकैमाली नष्ट गरेको बताउनु भयो । एकै दिन भएभरको सबै मकैबाली नष्ट गराई दिएको उहाँले बताउनु भयो ।

नमोबुद्ध नगरपालिकाका अधिकांश वडाहरुमा बँदेलले मकै नष्ट गरेको छ भने धुलिखेल नगरपालिकाको वडा नम्वर १, २, ३, ४,५ र वडा नम्वर ८,९,१०,११ र १२ नम्वर वडाका कृषकहरुको मकै नष्ट पारेको छ । ‘नगर भित्रका कृषकहरुको बँदेलका कारण मकै नष्ट भएसँगै बँदेल नियन्त्रणमा लिन र कृषकहरुलाई क्षतिपुर्ति उपलब्ध गराउने गरी डिभिजन बन कार्यालयको ध्यानाकर्षण गराएका छौं’–धुलिखेल नगरपालिका प्रुमख अशोक ब्याञ्जुले भन्नुभयो–‘अधिकांश वडाबाट कृषकहरुले गर्नु भएको गुनासो सम्बोधन गर्दै बँदेल नियन्त्रणका लागि प्रयास गरेका छौं ।’

नगरपालिकाले आईतबार नै डिभिजन बन कार्यालयलाई बँदेलको बथान नियन्त्रण गर्न पत्र पठाएको सहायक बन अधिकृत न्हुच्छेकृष्ण श्रेष्ठले बताउनु भयो । बँदेलले मानविय र खाद्यबाली क्षति पुर्‍याएको अवस्थामा सरकारले क्षतिपुर्ति दिने कानुनी ब्यवस्था छ । बाँदरले क्षति पु¥याएको क्षतिपुर्ति दिने ब्यवस्था छैन । बाँदर धपाउन गाउँगाउँमा विभिन्न माध्यम अपनाईएको छ भने रातभर रुखमै ओछ्यान बनाएर कृषकहरु बाँदर र बँदेल धपाईरहेका छन् ।

शुरुमा फौजी किराको आक्रमणले ध्वस्त बनाउँदै गरेको मकैलाई स्थानीय सरकारले किटनाशक विषादी मार्फत जोगाएको भए पनि बँदेलबाट भने मकै जोगाउन नसकिएको कृषकहरुले बताएका छन् । ‘हुलका हुल आएका बँदेलका कारण सबै बाली नष्ट भएको छ’–वडा अध्यक्ष रमेश घोरसाईनेले भन्नुभयो–‘स्थानीय सरकारले भएभरको प्रयास गरे पनि सम्भव भएको छैन ।’ बँदेल नियन्त्रणका लागि संघ र प्रदेश सरकारको ध्यानाकर्षण हुनु पर्ने स्थानीय सरकारले बताएका छन् । जिल्लाका अन्य स्थानीय तहमा पनि बँदेल र बाँदरको बथानले कृषकहरु हैरानी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्