काश्मिर मुद्दामा पाकिस्तानलाई टर्कीको समर्थन



अंकारा (एजेन्सी)

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले काश्मिर मुद्दामा पुन: एक पटक पाकिस्तानको समर्थनको घोषणा गरेको छ । इद उल अजहाको अवसरमा पाकिस्तानी राष्ट्रपति आरिफ अल्वी र प्रधानमन्त्री इमरान खानसँगको वार्तामा राष्ट्रपति एर्दोगानले काश्मिरमा टर्कीको समर्थन रहने आश्वासन दिएको छ ।

एर्दोगानले काश्मिरको तुलना फेरी एक पटक प्यालेस्टाइनसँग गरेको छ । कोरोना कालमा पनि भारतले काश्मिरमा अत्याचार गरिरहेको उनले आरोप लगाए । पाकिस्तानी राष्ट्रपतिले ऐतिहासिक संग्रहालय हागिया सोफियालाई मस्जिद बनाएकोमा एर्दोगानको प्रशंसा गरेको छ । उक्त ऐतिहासिक भवनमा भएको पहिलो नमाजलाई पाकिस्तानमा पनि लाखौंले टेलिभिजनमा प्रत्यक्ष हेरेको पाकिस्तानी राष्ट्रपतिले बताए ।

एर्दोगानले केही दिन अघि मात्र ऐतिहासिक हागिया सोफिया संग्रहालयलाई मस्जिदमा परिणत गरेका थिए । सन् १४५३ मा उक्त संरचना चर्च थियो । एर्दोगान मुस्लिम जगतमा साउदी अरेबियाको राजतन्त्र विरुद्ध चुनौती दिने लगातार प्रयासमा लागिरहेको छ । गत बर्ष उनले मलेसियाका तात्कालिन प्रधानमन्त्री महाथिर मोहम्मद र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग मिलेर नन अरब इस्लामिक देशहरुको एक गठबन्धन बनाउने प्रयास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्