हाल महामारीको रूपमा विश्वभर फैलिइरहेको कोरोना भाइरस र सोसँग हाल हाम्रो देशमा पनि उब्जेका केही सवालहरूका सम्बन्धमा यहाँहरूमाझ केही कुराहरू राख्न चाहन्छु।
जीवनमा कतिपय घटनाहरू हामीले कल्पनासम्म गरेका हुँदैनौं तर सामना गर्नुपर्ने स्थिति उत्पन्न भएर आउने गर्दछ। त्यसैमध्ये हामीले यस्ता धेरै घटना, दुर्घटनाहरू आफैंले खुद् भोग्यौँ भने कति घटनाहरू पूर्वजको भोगाइलाई कथाजस्तै सुन्यौं र मनन् पनि गर्दै आएका छौँ। इतिहासलाई फर्केर हेर्ने हो भने हामीलाई छर्लंग हुन्छ कि समयसमयमा देशमा विभिन्न खालको साह्रो गाह्रो परिस्थिति हुँदै आएको छ। त्यस्ता परिस्थितिहरूसँग हामी डटेर अगाडि बढ्दै आएका छौँ।
कुरा अहिलेको कोरोना कहरसँग जोडौँ। जुन भाइरस हामीले फिल्मको पर्दामा हेर्न पनि मुश्किल परेको थियो। त्यो आज हाम्रो जीवनमा ज्वलन्त भएर घुमिरहेको छ। सिंगो पृथ्वीलाई कब्जा गरिरहेको छ, विज्ञानलाई चुनौती दिइरहेको छ। यसले को ठूलो, को सानो, धनी, गरिब, यो जात, उ जात, बालक, बृद्ध, केही नभनी समान रूपले सर्वत्र आक्रमण गरिरहेको छ। यसले यो धर्म, त्यो धर्म पनि नभनि सारा जगत्लाई सुनसान हुने गरी लकडाउन गरेर आफू मृत्युको नांगो नाँच नाचिरहेको छ।
हिन्दू, इसाई, मुस्लिम, बुद्धिष्ट आदि इत्यादि, जो जुन धर्मसँग सम्बन्धित राष्ट्र भए कोभिड १९ ले आफ्नो बसमा पार्न सफल भैरहेको छ। हाम्रो देश नेपाल अनि हामी नेपाली, परापूर्व कालदेखि नै सबै जनजाति, धर्म धर्मावलम्बीहरू एक आपसमा मिलेर बसेका छौँ, हाम्रो देशलाई चार जात छत्तिस वर्णको साझा फूलबारी भनेर दुनियाँलाई चिनाएका पनि छौँ। हामी जुन धर्ममा आस्था राखे पनि भगवान सिर्फ एक रूप अनेक भन्ने गर्दछौँ। जिन्दगीमा आइपरेको अप्ठ्यारो अनि अन्धकारबाट बाहिर आउनका लागि हामी सबै नै आ–आफ्नो आस्था र विश्वास राख्ने भगवानसँग प्रार्थना गर्दछौँ। यो कुनै नौलो कुरा हैन, आस्था राख्नुपर्छ, म स्वयं अल्लाहमा आस्था राख्ने मान्छे हुँ।
तर आस्था राख्नुपर्छ भन्दैमा अन्धविश्वास नै गर्नुपर्छ भन्ने हैन। अहिले आएर मुस्लिम समूदायलाई नै असर पर्ने गरी विदेशी मुस्लिमहरूलाई नेपालमा आवतजावतमा रोक नलगाई धर्मस्थलमा बास बस्न दिएकै कारणले उदयपुर गाईघाटमा धेरैजना मुस्लिममा कोभिड १९ पोजेटिभ देखिएको खबरले म अत्यन्तै दुखित भएको छु।
म एक मुसलमान मात्र नभएर सच्चा नेपाली भएको नाताले हाम्रो नेपाली मुसलमान समुदायको सम्पूर्णलाई के भन्न चाहन्छु भने अतिथि देवो भवलाई केही दिनका लागि मनबाट टाडै राखौँ। यो कोभिड १९ ले तपाईं र मलाई मात्र मार्ने हैन, यदि हामीले अब पनि सोच्न ढिला गर्यौं भने हामीले हाम्रो परिवार, छोराछोरी, दाजुभाइका साथै टोल छिमेकमा रहेका सबै साथी भाइलाई सार्न र मार्न पनि सक्छौँ। यसमा कुनै दुईमत नै छैन। त्यसैले म सबैमा यो अपिल गर्दछु कि हामी आफू पनि बचौं र अरूलाई पनि बचाऔं भन्दै मेरो छोटो कविता पनि
जोड्न चाहन्छु :
यो हो बिपद्को बेला धैर्यता गर मानव,
विश्वमा औषधि यसको तुरुन्तै छैन सम्भव,
एक आपसमा हामी टाढा सुरक्षित भर्ई बसौं,
मान्छेको दुःखमा मान्छे,
सबैले केही न केही गरौँ।
यो युद्व भनेको कुनै राजनीति दल, कुनै धर्म सँगको हैन। यो युद्व भनेको कोभिड १९ सँगको हो। त्यसैले हामीले सरकारको आज्ञा पालना गरी लकडाउनमा बसेर मात्र जीत हासिल गर्न सकिन्छ भन्ने कुरा सबैले बुझ्न जरूरी छ।
मेरो मतलब भगवानमा आस्था नराखौं भन्ने पटक्कै हैन आस्था राखौँ, राख्नुपर्छ। पूजा पाठ जेजे गर्नु छ आफ्नो घरभित्रै गरौँ। बाहिर चटक देखाउन जरूरी छैन अहिले। मनलाई जे गर्दा शान्ति मिल्छ गरौँ, तर लकडाउनभित्र बसेर गरौँ। अहिलेको समयमा रिस र बलले केही हुने वाला छैन त्यसैले संयमता अपनाऔँ। घरमा सुरक्षित बसेर कोभिड १९ सँगको यो हाम्रो लडाइँमा जीत हासिल गरौँ। भोलि फेरि पहिलेकै अवस्थामा फर्किन सकौं भन्दै फेरि एकपटक सबैलाई हात जोडेर यो भन्न चाहन्छु कि हाम्रो नियमित ध्यान हुने मस्जिदहरू बन्द गरी मानव कल्याणका लागि कोरोना भाइरसविरूद्व लड्न नेपाली मुस्लिम समाजलाई अनुरोध गर्दै म तपाईंहरूको कलाकार तैयव शाह, सदैब राष्ट्र, र समाजप्रति समर्पित रहनेछु भन्दै अन्तमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक पंक्ति स्मरण : गर्न चाहन्छु।
मानिस ठूलो दिलले हुन्छ
जातले हुँदैन।
(कामना मासिकबाट साभार)