कोरोनासापेक्ष जीवनशैली



कोरोनाभाइरस रोकथाम एवं नियन्त्रणको लागि सरकारले चार महिना लकडाउन गरेर खुलाएसँगै संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ । लकडाउन खुला भएसँगै नागरिकहरुको चहलपहल पुरानै अवस्थामा देखिएको छ । सरकारले तोकेको मापदण्ड शहर–बजारमा पालना भएको छैन । सार्वजनिक यातायातसमेत सञ्चालन भएको अवस्थामा छ । सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्न सम्भव पनि छैन । सरकारले बारम्बार आग्रह गरेपनि नागरिकहरुले कोरोनाबाट जोगिनको लागि आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउन सकेका छैनन् ।सरकारले पिसिआरको दायरा बढाउन सकेको छैन ।
नेपालमा एक जना कोरोना संक्रमित देखिदा सरकारले लकडाउन घोषणा गरेको थियो । तर पछिल्लो समयमा दैनिक तीनदेखि पाँच सय संक्रमित थपिदा पनि सरकारले पर्याप्त ध्यान दिएको देखिदैन । तराई क्षेत्रमा कोरोना संक्रमण ठूलो मात्रामा देखिएको छ । भारतसँगको सीमा–नाका पूर्ण रुपमा बन्द गर्न नसक्दाको असर तराई क्षेत्रमा देखिएको छ । सरकारले यो पाँच महिनाको अवधिमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक कदम चाल्न सकेको देखिदैन । पिसिआर परीक्षण बढाउनु पर्ने बेला अहिले दायरा घटाउने काम भएको छ । बारम्बार परीक्षणको दायरा बढाउन माग भएपनि सरकारले आफ्नो गतिमा परिवर्तन ल्याउन सकेको छैन । कोरोना नियन्त्रण र रोकथामको लागि सरकारसँग आवश्यक बजेट भएर पनि पिसिआर परीक्षण गर्नको लागि सरकारलाई केले रोकिरहेको छ निकै गम्भीर प्रश्न उठेको छ । सरकारसँग पैसा छ । तर खर्च गर्न किन आनाकानी गरिरहेको छ ? नागरिकहरुको जीवन भन्दा ठूलो पैसा हुन सक्दैन । पिसिआर परीक्षणको दायरा नबढाउनुले जनस्वास्थ्यमा सरकारले खेलवाड गरेको पुष्टि हुन्छ । पछिल्लो समय विभिन्न ठाउँबाट काठमाडौं उपत्यका भित्रिनेको संख्या बढेको र उनीहरुले आवश्यक सतर्कता र नियम नअपनाएको पाइएको छ । सरकारले साँझ सात बजेदेखि उपत्यका बाहिरबाट अत्यावश्यक बाहेकका सवारी साधनलाई काठमाडौं प्रवेशमा कडाइ गर्ने निर्णय गरेपनि व्यवहारमा लागू हुन सकेको छैन । कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएकोले आम नागरिकले पनि आफू सावधान हुनुपर्ने देखिन्छ । सरकारले गर्नुपर्ने काम त छदैछ । त्यसको साथसाथै नागरिकहरुले पनि आफ्नो दायित्व र कर्तव्य पालना गर्नुपर्छ । नियमित मास्क लगाउने क्रम अहिले हटेको छ । नागरिकहरुले नियमित रुपमा मास्क लगाउने, हात धुने अथवा स्यानिटाइजेशन गर्ने, भौतिक दूरी कायम गर्ने ज्वरो अथवा रुघाखोकी लागेमा तुरुन्त चिकित्सकको सम्पर्कमा जानुपर्ने कामलाई आफ्नो दायित्व सम्झिनुपर्छ ।
नेपालमा कोरोना संक्रमणको बाढी भारतबाट आएको देखिन्छ । नेपालमा कोरोना संक्रमणको जोखिम बढेको र अवस्था अत्यन्तै चिन्ताजनक अवस्थामा पुग्न लागेको छ । सरकारले दैनिक १२ हजारदेखि १५ हजारसम्म पिसिआर परीक्षण गराउने गरी काम अगाडि बढाउनुपर्छ । यसैबीच अनुभवी डाक्टरहरुले अल्प अवधिको तर कठोर लकडाउनको आवश्यकता औंल्याएका छन् । यदि दुई साता बन्दाबन्दी गरेर कोरोना भाइरसको संक्रमणबाट मुलुकलाई जोगाउन सकिन्छ भने, यस विकल्पप्रति पनि सरकारले सोच्नुपर्छ । खासगरी आम नागरिकले कोरोनालाई बेवास्ता गर्नेहोइन, यो सापेक्ष दिनचर्या अपनाउनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्