नेपाल रेडक्रसको तदर्थ समितिको पदवहाली – श्वेत पत्र जारी गरिने



न्युज अफ नेपाल,काठमाडौं ।

नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिका पदाधिकारीहरूले आज नेरेसो केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ । मुलुक बाढी पहिरोले आक्रान्त भइरहेको समयमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको विपद् प्रतिकार्य आपत्कालीन कोषबाट सहयोग लिने तयारीका सन्दर्भमा नवनियुक्त कोषाध्यक्ष, महामन्त्री र अध्यक्षले क्रमशः टिप्पणीमा दस्तखत गरी पदभार सुरू गर्नु भएको हो ।

पदभार ग्रहणपश्चात् अध्यक्ष डाक्टर नेत्र तिम्सिनाले जनता, सरकार र साझेदारहरूलाई रेडक्रसको अहिलेको स्थितिको बारेमा स्पष्ट जानकारी गराउन आगामी हप्ता श्वेतपत्र जारी गर्ने बताउनुभयो । साउन १२ गते बसेको मन्त्रीपरिषद् बैठकले नेपाल रेडक्रस सोसाइटीको तत्कालीन कार्यसमिति विघटन गरी संस्थाको साधारण सदस्य मध्येबाट डाक्टर नेत्र तिम्सिनाको अध्यक्षतामा ३३ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो ।

आगामी सातासम्ममा नयाँ समितिले आफ्नो विस्तृत कार्ययोजना बनाउने बताउँदै अध्यक्ष डा. तिम्सिनाले भन्नुभयो ः “नेपाल रेडक्रसको लागि नयाँ ऐन ल्याउन हाम्रो प्रयास हुनेछ र देशको संरचनाअनुसार रेडक्रसको संरचना मिलाउनेतर्फ पनि क्रियाशिल हुनेछौं । आचारसंहिता उल्लंघनमा सुन्य शहनशीलता हुनेछ र संस्थालाई सुद्धिकरण गरिने छ । ”

सोही अवसरमा तदर्थ समितिका महामन्त्री पिताम्बर अर्यालले नेपाल रेडक्रसलाई थप उचाईमा लैजाने, निर्वाचन जतिसक्दो छिटो गर्ने र कानुनी अवस्था सुधार गर्ने नै समितिको प्राथमिकता रहेको बताउनुभयो । पदभार ग्रहण कार्यक्रममा उपाध्यक्षद्धय डा. विश्वकेशर मास्के, शर्मिला कार्की र उपकोषाध्यक्ष होमप्रसाद पाठकको पनि उपस्थिति रहेको थियो ।

समितिका कोषाध्यक्ष सिताराम कोइरालाले रेडक्रस सोसाइटीको तदर्थ समिति गठन गरिदिएकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्नुहुँदै भन्नुभयो, “रेडक्रसको आदर्श, सिद्धान्त, मुल्यमान्यतालाई आत्मसाथ गर्दै नेपाल रेडक्रसलाई जनसमक्ष लोकप्रिय बनाएर अगाडि बढाउने हाम्रो प्रतिवद्धता छ ।”

यस अघि नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल र उच्च पदस्थ कर्मचारीहरूले तदर्थ समितिलाई केन्द्रीय कार्यालयमा स्वागत गर्नुभएको थियो । स्वागत तथा परिचय कार्यक्रममा नयाँ पदाधिकारी,सदस्यहरु, रेडक्रसको अन्तर्राष्ट्रिय समितिका नियोग प्रमुख जेरम इम्स्टेफ, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ नेपाल कार्यालयका कार्यवाहक प्रमुख हार्भे गजेउ र कर्मचारी तथा रेडक्रसकर्मीहरुको उपस्थिति रहेको रहेको सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

आजै नयाँ कार्यसमितिका महानुभावहरुले रेडक्रसको आचारसंहितामा हस्ताक्षर गर्नु भएको छ । त्यस्तै नेपाल रेडक्रस सोसाइटीको परिचय, सञ्चालित कोभिड–१९ र बाढी पहिरो प्रतिकार्यसम्बन्धी नयाँ समितिका पदाधिकारी तथा सदस्यहरुलाई कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले जानकारी गराउनुभयो । कार्यसमितिको कार्यसञ्चालन सम्बन्धी मूल विषयहरुमा कार्यसमितिले आजै केहि प्रतिवद्धताहरुको लागि छलफल गरिरहेको पौडलेलले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्