कोरोना कारण थलियो वीरगन्ज



कृष्णउदास खनाल,वीरगन्ज ।

पर्सा जिल्ला पछिल्लो समय कोरोनाको हटस्पट बनेका छ वीरगन्जमा कोरोना संक्रमणका कारण पछिल्ला दुई दिनमा पाँच जनाको मृत्यु भएको छ । बिहीबार वीरगन्ज महानगरपालिका १६ का ३५ वर्षीय युवक, वीरगन्जको जगदम्बा इन्टरप्राइजेजका सीईओ ५६ वर्षीय पुरुष र वीरगन्ज २ का ७० वर्षीय वृद्धको मृत्यु भएको हो ।

बुधबार पनि वीरगन्जमा दुई संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । साउनमा मात्रै वीरगन्जमा ९ जना संक्रमितको मृत्यु भइसकेको छ । बिहीबार पर्साका ४१ जनामा संक्रमण भेटिएकोमा ३७ जना वीरगन्जकै हुन्। बुधबार पनि ८४ जनामा संक्रमण भेटिएको थियो ।कोभिड अस्पतालमा अहिले भर्ना रहेका ६२ मध्ये चार संक्रमितको अवस्था गम्भीर रहेकाले आईसीयूमा उपचारमा भइरहेको छ ।

यही असार अन्तिममा संक्रमित निको हँुदै घर फर्किन थालेपछि कोभिड अस्पतालमा दुई जना मात्रै संक्रमित बाँकी थिए । तर साउन सुरु भए लगत्तै पर्सामा संक्रमित थपिँदै गएका हुन् । दिनहुँ संक्रमित थपिँदै गएपछि समुदायमै संक्रमण फैलिएको भन्दै वीरगन्जमा साउन १० देखि अनिश्चितकालीन निषेधाज्ञा लगाइएको छ र सोमबारबाट जिल्लाभर निषेधाज्ञा जारी गर्ने स्थानीय प्रशासनले जानकारी गराइ सकेको छ ।

मास टेस्टिङमा संकलन गरिएका स्वाबमा २० प्रतिशतभन्दा बढीको पोजेटिभ रिपोर्ट आइरहेको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेण्ड (मेसु ) डा. मदन उपाध्यायले बताउनुभयो । कोभिड अस्पतालमा संक्रमित राख्ने ठाउँ नहुँदा एक सय २६ जना संक्रमितलाई घरमै राखिएको छ।

५० बेड मात्रको कोभिड अस्पतालमा बेड खाली नहुँदा पछिल्लो पटक संक्रमण फेला परिरहेकालाई घरमै होम आइसोलेसनमा राख्नुपर्ने बाध्यता रहेको अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंह बताउनुभयो । कोरोना नियन्त्रण तथा रोकथामको काममा जान नमान्ने वीरगन्ज महानगरपालिकाका २५ स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालयको निर्देशनमा वीरगन्ज महानगरपालिकाका २५ स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।वीरगन्ज महानगरपालिका नगर प्रमुख (मेयर) विजयकुमार सरावगीमा पनि कोभिड( १९ संक्रमण पुष्टि भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा पीसीआर परीक्षणका लागि गत बुधबार स्वाब दिएका सरावगीमा बिहीबार संक्रमण पुष्टि भएको हो । संक्रमण पुुष्टि भएका मेयर सरावगी हाल काठमाडौं टंगालस्थित आफ्नै घरको आइसोलेसनमा रहनु भएको छ ।

सरावगीका प्रेस सल्लाहकार गोविन्द देवकोटाका अनुसार मेयर सरावगीको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।यसरी नै पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव पनि कोरोना संक्रमित हुनु भएको छ । सो कुरा उहाँ आफैले सामाजिक संजाल मार्फत जानकारी गराउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्